गोरक्ष समाचारदाता
दाङ, ११ असार । आइटी क्षेत्रमा अवसरको खोजी गर्ने र योगदान दिने उद्देश्यले दाङका विद्यार्थीले २०८३ साउनमा प्रविधिमा आधारित ह्याकाथन प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।
प्रविधिको प्रयोग गरेर दिगो बिकास लक्षहरू गुणस्तरीय जीवन र स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, कृषि, उद्योग र व्यापार, व्यवसाय प्रवर्धन, दिगो सहरी तथा समुदाय विकास र जलवायु परिवर्तन संरक्षण कार्य तथा शान्ति न्याय र समानाता आदि विषयमा केन्द्रित रहेर प्रतियोगिताका सहभागीले प्रस्तुति तयार गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर दिइने आयोजकले जनाएको छ । सूचना र प्रविधिसम्बन्धी ‘कोडफेस्ट–२०२६’ नाम दिइएको प्रतियोगिता दाङमा दोस्रो पटक हुन थालेको हो ।
आयोजक कोड फर चेन्ज (सिएमसी)ले विद्यार्थीलार्ई नवप्रवर्तन, सिर्जनशीलता र समस्या समाधान सिप विकास गर्ने उद्देश्यले आयोजना गरिएको कोडफेस्टमा दाङ र बाँकेबाट सूचना र प्रविधिका क्षेत्रमा अध्ययनरतसँगै चासो राख्ने समूहको सहभागिता रहने कोड फर चेन्जका प्रोजेक्ट लिड जगदीश वलीले जानकारी दिए । वलीका अनुसार हरेक समूहबाट दुईदेखि चार जनासम्मको सहभागिता रहने छ ।
कोडफेस्टले विद्यार्थीलार्ई सिप, ज्ञान र अवसर आदानप्रदानमा सहयोगसँगै जिल्लामा सूचना प्रविधिको विकास र व्यवसाय प्रवर्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको कोड फर चेन्जका टेक्निकल लिड निशा मरासिनी क्षेत्रीले जानकारी दिइन् । आयोजकका अनुसार कार्यक्रममा प्लस टु तथा व्याचलर तहमा सूचना प्रविधिमा अध्ययनरत र चासो राख्ने विद्यार्थी सहभागी हुन सक्नेछन ।
कोडफेस्ट व्यवसायी, उपभोक्ता र प्रविधिलार्ई एकीकृत गर्न र आपसी सहकार्य बढाउन सहयोग गर्ने कोड फर चेन्जका सचिव कमल भट्टराईले जानकारी दिए । कोडफेस्टमा सहभागी टिमले फरक फरक विषयका समस्या पहिचान गरी समाधानका उपायबारे तयार गरेका अवधारण प्रस्तुत गर्ने छन् । सहयोगी दाताले आयोजकसँग साझेदारीमा काम गर्न सक्ने आयोजकले जनाएको छ ।