गोरक्ष समाचारदाता
दाङ, १० असार । विदेशमा वर्षौंको मेहनत र अनुभवबाट सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित घोराहीमा एक युवाले आधुनिक सुविधासम्पन्न सैलुन व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
घोराही उपमहानगरपालिका–२ रामपुर निवासी सुरेन्द्र घिमिरेले करिब १५ वर्ष भारतमा हेयर कटिङ तथा सौन्दर्यका क्षेत्रमा अनुभव बटुलेपछि ५० लाख बढीको लगानीमा घोराहीमा ‘हेयर मास्टर्स फेमिली सैलुन एण्ड मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका हुन् । घोराही उपमहानगरपालिका–१५ तुलसीपुर रोडमा सञ्चालनमा आएको सैलुनले महिला तथा पुरुष दुवैका लागि अत्याधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप, मसाजलगायतका सेवा एकै छाना मुनि प्रदानसँगै सिक्न चाहने युवायुवतीलाई प्रशिक्षण दिने गरि हेयर मास्टर्स फेमिली सैलुन एण्ड मेकअप स्टुडियो सञ्चालन गरिएको सञ्चालक सुरेन्द्र घिमिरेले जानकारी दिएका छन् । सञ्चालक घिमिरेका अनुसार बदलिँदो समय र ग्राहकको आवश्यकता अनुरूप आधुनिक तथा व्यवस्थित रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अन्य सैलुनभन्दा फरक रुपमा सञ्चालन गरिएको बताए ।
‘ग्राहकको इच्छा चाहना अनुसार सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढेका छौं’, सञ्चालक घिमिरेले भने,‘सेवा लिन आउने ग्राहकलाई सहज र आरामदायी वातावरणका लागि व्यवस्थीत सैलुनसँगै कफी सुविधाको समेत व्यवस्था गर्दैछौं ।’ सैलुनमा हाल दुई महिला र दुई पुरुष गरी चार जना दक्ष जनशक्ति कार्यरत छन् । सञ्चालक घिमिरेका अनुसार पुरुषतर्फका विशेषज्ञ कर्मचारी भारतको दिल्लीबाट तथा महिलातर्फका कर्मचारी काठमाडौंबाट ल्याइएको छ ।
सैलुनको उद्घाटन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै जन्मभूमिमा लगानी गरी व्यवसाय सञ्चालन गर्नु उदाहरणीय कार्य भएको बताए । कार्यक्रमका प्रमुख अतिथि जोशीले नयाँ व्यवसायमा चुनौतीसँगै प्रशस्त अवसर पनि रहने उल्लेख गर्दै उनले गुणस्तरीय सेवा र प्रभावकारी प्रचारप्रसारमार्फत आफ्नो व्यवसायको ब्राण्डिङ गर्ने गरि लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले घोराहीमा हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप र प्रशिक्षण सेवा एकीकृत रूपमा उपलब्ध हुनु सकारात्मक सुरुवात भएको बताए । ग्राहकले नयाँ नयाँ चाहना गरिरहेको समयमा विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गरी रोजगारी सिर्जना र सेवा विस्तारतर्फ अग्रसर हुनु घोराहीका लागि राम्रो सुरुवात भएको भन्दै कार्यक्रमका विशिष्ट अतिथि प्रियासनले सञ्चारका क्षेत्रलाई उपयोग गरि व्यवसायिक प्रवद्र्धनमा लाग्न आग्रह गरेका थिए । सञ्चालक सुरेन्द्र घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण दामु शर्माले गरेका थिए ।