Goraksha

National Daily

पर्यटनको रोजाई बन्दै राप्ती सामुदायिक होमस्टे

लिलाधर वली
दाङ,६ मंसिर । दक्षिणमा बगेको राप्ती नदी । नदीको उत्तरमा थारु गाउँ । करिब ८० प्रतिशत थारु समुदाय रहेको राप्ती गाउँपालिका–६ को बगरापुर गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेको छ । सम्पूर्ण थारु परिकार एकै ठाउँमा खान पाइने र थारु कला संस्कृतिसम्बन्धी जानकारी समेत लिन पाइने भएपछि देउखुरीको बगरापुरमा रहेको राप्ती समुदायिक होमस्टे पर्यटकको रोजाइँमा पर्न थालेको स्थानीयहरु बताउँछन् ।

गाउँलाई पर्यटकीय केन्द्रका रुपमा बिकाससँगै थारु जातिको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्ती गाउँपालिका वडा नं. ६ ले आर्थिक सहयोग गरेपछि गाउँमा होमस्टे सञ्चालन गरेको स्थानीयको भनाइ छ । होमस्टे सञ्चालनका लागि पाहुनलाई सुताउनको लागि आवश्यक खाट, कपडालगायतको सहयोग गरेपछि स्थानीयले होमस्टे सञ्चालन गरेका हुन् ।

गत बर्षको मंसिर महिनादेखि सञ्चालनमा आएको होमस्टेमा जिल्लाभित्रका आन्तरिक पर्यटनसँगै जिल्ला बाहिरबाट समेत आउने गरेका छन् । महिनामा १५ देखि २० जनासम्म थारु कला संस्कृतिसम्बन्धी जानकारीसँगै थारु परिकार खानका लागि एकै घरमा आउने गरेको स्थानीय राजकुमार चौधरीले बताए । उनका अनुसार होमस्टेमा थारु परिकार ढिक्री, जाँडको झोल, लोकल भाले, बधिया भाले, हाँसको मासु, घोंगीलगायत परिकारसँगै राप्तीका माछा, थारु जातिको कला, संस्कृति, नृत्य, इतिहासका बारेमा जानकारी लिन सकिने ब्यवस्था रहेको छ ।

त्यही भएकाले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बुटवल, पोखरा, काठमाडौसँगै बिदेशीसमेत आउने गरेको उनी बताउँछन् । ‘थारु संस्कृति बुझ्नसँगै थारु परिकार खाएर रमाइलो गर्न धेरै मान्छे आउन थालेका छन्’, उनले भने– ‘कोही मनोरञ्जनका लागि आउँछन् त कोही अध्ययन–अनुसन्धानका लागि समेत आउने गरेका छन् ।’ त्यसमध्ये कोही यतै बस्ने गरेर पनि आउने गरेका छन् ।

बास बस्न आउने पाहुनाहरुलाई थारु नृत्यले स्वागत समेत गर्ने गरिएको उनले बताए । राप्ती थारु होमस्टेमा आफ्नो रोजाइँ अनुसार खान पाइने र बजारमा व्यस्त जीवनबाट अलि टाढा एकान्तमा मनोरञ्जनका लागि समेत आउने गरेको सञ्चालक प्रेमकुमारी चौधरी बताउँछिन् । ‘होमस्टेमा थारु जातिसम्बन्धी जानकारीसँगै शुद्ध थारु परिकारहरुसमेत पाइन्छ’, उनले भनिन्– ‘त्यस्मा कोही जिल्लाकै हुनुहुन्छ भने कोही बहिरबाट समेत आउनुहुन्छ ।’ हामीले होमस्टे सञ्चालन गरेको करिब एक बर्ष पुग्यो यो अवधिमा थारु परिकारहरु खान, बस्नसँगै हामीले सञ्चालन गरेको होमस्टेका बारेमा बुझ्नसमेत आउने गरेको उनी बताउँछिन् ।

गाउँलाई सामुदायिक होमस्टेका रुपमा अघि बढाउनका लागि वडाले प्रतिपरिवार ३० हजार रुपैयाँ सहयोग गरेपछि स्थानीय ४ परिवारले आफ्नै घरमा होमस्टे सञ्चालन गर्दै आएको राप्ती सामुदायिक होमस्टे समितिका अध्यक्ष प्रेमबहादुर चौधरीले बताए । अहिले समुदायका ब्यक्ति घरमै शुरु गरिएको भन्दै उनले राज्यले सहयोग गर्न सके छुट्टै स्थानमा थारु समुदायका परम्परागत घरहरु निर्माण व्यवस्थितरुपमा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।