गोरक्ष समाचारदाता
तुलसीपुर, १० असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी तुलसीपुरले ४७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी तुलसीपुरका अध्यक्ष दीपककुमार बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव खगेन्द्रबहादुर वलीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पुराना यातायात व्यवसायी तेजमणि आचार्य, भीमसेन लहरेलगायत उत्कृष्ट चालक, सहचालकलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताललाई सम्मान गरेको थियो । आँखा उपचार सेवा, निःशुल्क आँखा जाँच, तथा दृष्टिविहीनता न्यूनीकरणमा अस्पतालले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अस्पताललाई सम्मान गरिएको थियो ।
यसैगरी दिवसको अवसरमा रक्तदान गर्ने दाता, नेपाल रेडक्रस सोसाइटीलाई पनि सम्मान गरिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी तुलसीपुरका कोषाध्यक्ष खिमबहादुर डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ताराबहादुर खत्रीले गरेका थिए ।
स्थापना दिवसमा सोमवार २८ जनाले रक्तदान गरेका थिए । मङ्गलवार नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्लाको आयोजनामा निःशुल्क आँखा जाँच कार्यक्रम तुलसीपुरमा भएको थियो ।
एक सय २७ जनाको आँखा जाँच गरिएकोमा एक जना मोतियाविन्दुका बिरामी फेला परेको बाह्य कार्यक्रम अधिकृत सुरुचि बुढाथोकीले जानकारी दिइन् । ५३ जनालाई आवश्यकता अनुसार नजिकको कामकाजका लागि निःशुल्क चश्मा वितरण गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तुलसीपुर बसपार्क परिसरमा विशेष सरसफाइ, रक्तदान, दिवसको अवसरमा निःशुल्क आँखा जाँच कार्यक्रम, उत्कृष्ट चालक, सहचालक, यातायात व्यवसायीलाई सम्मानका साथै दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरी दिवस मनाइएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी तुलसीपुरले जनाएको छ ।