देउखुरीको लमही नगरपालिका–६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर यस क्षेत्रकै अब्बल सामुदायिक विद्यालयका रुपमा रहेको छ । विद्यालय सङ्ख्या, शैक्षिक गुणस्तरसँगै भौतिक पूर्वाधारका दृष्टिले सम्पन्न विद्यालयले बालबालिकालाई समुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा दुई हजार बढी विद्यार्थी अध्ययनरत छन् । भर्खरै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेशमान चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । आम सर्वसाधरण नागरिकका बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउने उद्देश्यसहित अध्यक्षमा चयन हुनुभएका गणेशमान चौधरीसँग गोरक्षकर्मी प्रिया स्मृती गजमेरले विद्यालयको वर्तमान अवस्था, चुनौती र आगामी योजनाबारे गरेको कुराकानीको सारसंक्षेप ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
सर्वप्रथम मलाई विश्वास गरेर यो महत्वपूर्ण जिम्मेवारी दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्न चाहन्छु । यो पद सम्मान मात्र होइन, मेरा लागि ठूलो जिम्मेवारी पनि हो । करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेको नमूना विद्यालयको नेतृत्व सम्हाल्ने अवसर पाएको छु । यसलाई मैले चुनौती र अवसर दुवैका रूपमा लिएको छुँ ।
विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारका लागि सबै पक्षसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मेरो कार्यकाललाई विद्यालयले काम गरेको उचाईलाई थप बढाउने गरी गुणस्तरीय शिक्षासँगै नतिजा सुधारमा ध्यान दिनेछु ।
सामुदायिक विद्यालयको नतिजा खस्किँदै गएको गुनासो सुनिन्छ । यसलाई सुधार्न तपाईंको योजना के छ ?
हो, तपाई भने जस्तै सीमित केही विद्यालय बाहेक समग्रमा सामुदायिक विद्यालयको नतिजा कमजोर नै छ । त्यही कारण अभैm पनि सामुदायिक विद्यालयप्रति आम नागरिकको हेर्ने दृष्टिकोण कमजोर छ भन्ने छ । लमहीमा क्षेत्रमा आदर्श नमूना माध्यमिक विद्यालय अग्रनी विद्यालयका रूपमा आउने गरे पनि अपेक्षा गरे अनुसारको नतिजा आउन सकेको छैन ।
विद्यालयमा शैक्षिक गुणस्तरलाई सुधार गर्दै नतिजा सुधार विद्यालयको प्रमुख लक्ष्य बनाउने मेरो चाहना हो । विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापनबिच प्रभावकारी समन्वय हुन सके मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ । नियमित पठनपाठन, शिक्षकको कार्यसम्पादन मूल्याङ्कन, विद्यार्थीको सिकाइ उपलब्धिको निरन्तर समीक्षा र अभिभावकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विद्यालयलाई अब्बल बनाउन लाग्ने छाँै ।
त्यसका लागि मेरो प्रमुख प्रत्यत्न रहने छ । विद्यालयमा अनुशासन, अध्ययन संस्कार र शैक्षिक वातावरण सुदृढ बनाउन विशेष ध्यान दिनेछु । आगामी वर्षहरूमा विद्यालयको नतिजालाई उल्लेखनीय रूपमा सुधार गर्ने लक्ष्य छ । त्यही अनुसार कार्ययोजना बनाएर विद्यालयको शैक्षिकसँगै भौतिक पूर्वाधार विकासमा ध्यान दिनेछु ।
आदर्श नमूना माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि तपाईंका प्राथमिकता के–के हुन् ?
विद्यालयको भौतिक संरचना पनि गुणस्तरीय शिक्षाको महत्वपूर्ण आधार हो । सुरक्षित र प्रविधिमैत्री कक्षा कोठा, आधुनिक प्रयोगशाला, पुस्तकालय, खेल मैदान तथा सरसफाइ व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना छ । विद्यालयमा आवश्यक पूर्वाधार निर्माण तथा मर्मतका लागि स्थानीय सरकार, लुम्बिनी प्रदेश सरकार र अन्य निकायसँग समन्वय गरी स्रोत जुटाउने प्रयास गर्नेछु ।
विद्यार्थीले सहज र आकर्षक वातावरणमा अध्ययन गर्न पाउने अवस्था सिर्जना गर्नु आवश्यक छ । विद्यार्थीलाई आर्थिक रूपमा भार नपर्ने गरी प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संस्था तथा सहयोगी निकायसँग समन्वय गरी विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न बनाउने गरी लाग्ने छु । त्यसका लागि अहिले पनि पहल गरिरहेको छु ।
नमूना विद्यालयको पहिचानलाई थप मजबुत बनाउन के–कस्ता पहल गर्नुहुन्छ ?
शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी, अभिभावकको मन जित्नका लागि नमूना विद्यालयको नाम मात्रै पर्याप्त हुँदैन । शैक्षिक रूपमा उत्कृष्ठ, अतिरिक्त क्रियाकलापमा पनि अव्वल बनाउन सक्नुपर्छ । त्यो उत्कृष्ठता व्यवहारमा पनि झल्किनुपर्छ । त्यसका लागि शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप, प्रविधिको प्रयोग र शिक्षकको क्षमता विकासमा जोड दिनुपर्छ ।
विद्यालयलाई समुदायसँग अझ नजिक बनाउने, विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने र उत्कृष्ट नतिजा हासिल गर्ने दिशामा काम गर्नेछौँ । विद्यालयलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ । त्यसका लागि गर्नु पर्ने कामका बारेमा अध्ययनसँगै योजना बनाउँदै छु । अन्य निकायसँग समन्वय र सहकार्य गरेर विद्यालयलाई देउखुरी मात्र होइन, दाङ जिल्लाकै नमूना विद्यालयका रूपमा विकास गर्ने गरी लागिरहेका छाँै ।
अभिभावक, शिक्षक र विद्यार्थीलाई तपाईं के भन्न चाहानु हुन्छ ?
विद्यालयको विकास कुनै एक व्यक्तिले मात्र सम्भव बनाउने विषय होइन । यसका लागि सबैको साझा प्रयास आवश्यक हुन्छ । शिक्षकहरूले जिम्मेवारीका साथ शिक्षण गराउनु पर्छ, विद्यार्थीले अनुशासित भएर अध्ययनमा ध्यान दिनुपर्छ र अभिभावकले आफ्ना बालबालिकाको सिकाइ प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दछु ।
हामी सबै मिलेर आदर्श नमूना माध्यमिक विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्न सक्छौँ । म अध्यक्षका रूपमा सबैलाई साथ लिएर विद्यालयको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यसका सबैसँग सरसल्लाह गरेर अघि बढ्ने छु । बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु पहिलो प्राथमिकता बनाउँदै विद्यालयको शैक्षिक सुधारका लागि ध्यान दिने छु ।
शैक्षिक गुणस्तर सुधारका लागि चुनौती के देख्नुभएको छ ?
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि धेरै काम गर्नु पर्ने छ । त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको छ । विद्यालयको आफ्नै ठुलो स्रोत छैन । यस्तो अवस्थामा गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री शिक्षा, कक्षा कोठामा सुधार, पठनपाठन शैलीमा परिमार्जनलगायत गर्नु पर्ने छ । विद्यार्थीसँग शुल्क उठाउँदा प्रश्न आउँछ ? स्थानीय सरकार, प्रदेश सरकारले चाहेको जस्तो बजेट दिँदैनन् ।
शिक्षक व्यवस्थापन लगायतका धेरै कुराहरू गर्न बाँकी रहेको छ तर चुनौती पनि उत्तिकै रहेको छ । त्यसैले शिक्षक, विद्यार्थी र अभिभावकसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले शैक्षिक सुधारका लागि काम गर्नेछ । त्यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेको छ । सबैसँगको सहकार्य र समन्वयमा आदर्श नमूना माध्यमिक विद्यालयलाई नमूना विद्यायका रूपमा विकास गर्दै सबैका छोराछोरीले पढ्ने विद्यालय बढाउने छौँ । त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा विद्यालयको अवस्थासँगै शैक्षिक गुणस्तर सुधारका लागि गर्नु पर्ने कामका बारेमा आफ्ना कुरा राख्न दिनुभएकोमा तपाई र पत्रिकालाई धेरै–धेरै धन्यवाद ज्ञापन गर्नु चाहान्छु । फेरि पनि शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीका बिचमा सहकार्य गर्न आवश्यक रहेको बताउन चाहान्छु । त्यही अनुसार आगामी दिनमा पनि विभिन्न क्रियाकलाप गर्दा सञ्चारका क्षेत्रबाट साथ र सहयोग गर्नुहुने छ भन्ने अपेक्षा राखेको छु ।