प्रमोद आचार्य
दंगीशरण, १० असार । दंगीशरण गाउँपालिकाको २१औँ गाउँ सभाको पहिलो बैठकले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाको २१ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा पेस गरेकोे आर्थिक बर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
नीति तथा कार्यक्रममा विद्यालयमा डिजिटल पूर्वाधार विकास, शिक्षण–सिकाइ प्रक्रियामा सुधारका लागि बजेट विनियोजन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आबद्ध गराउन विशेष उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति लिएको जनाएको छ ।
यसैगरी कृषि क्षेत्रमा बढ्दो समस्याका रूपमा रहेको रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्न जैविक मल र जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीको शुभकामना मन्तव्यबाट सुरु भएको गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले न्यायिक समिति तथा राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
लेखा समितिका संयोजक रेशमबहादुर वलीले लेखा समितिको प्रगति प्रतिवेदन तथा आय–व्यय अनुमोदन प्रस्ताव पेस गरेका थिए । बैठकले गाउँपालिकाको लोगो तथा चिह्न, विभिन्न समितिका प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । नीति तथा कार्यक्रम पारित गर्ने अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
शिक्षकतर्फ जनता माध्यमिक विद्यालय बुटनियाका शिक्षक प्रदीप देवकोटा तथा लक्ष्मीनारायण आधारभूत विद्यालय सलौराका शिक्षक भगन्दास चौधरी सम्मानित भएका छन् । स्वास्थ्यतर्फ स्वास्थ्यचौकी हेकुलीमा कार्यरत गायत्री बस्नेत तथा कर्मचारीतर्फ गाउँपालिका कार्यालयका आइटी अधिकृत युवराज रिजाल र कार्यालय सहयोगी रुपन्या चौधरीलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । २१औँ गाउँ सभाको दोस्रो बैठक बुधवार बिहान ११ः०० बजेका लागि बोलाएकोे छ ।