असल संस्कारको विकास गरौँ

नारायणप्रसाद श्रेष्ठ

असल संस्कार र संस्कृतको विकास कसरी गर्ने यो मानवीय विवेकमा निर्भर रहेको हुन्छ । समय सापक्ष परिस्थितिलाई बुझेर सभ्यताको विकाससँगै मानिसमा नयाँ कुरा कसरी सिर्जना गर्न सकिन्छ भन्ने सोच वृद्धि भइरहेको देखिन्छ । यति मात्र होइन सचेतनाको अभिवृद्धिसँगै विचार र सोचमा पनि परिस्कृतता आएको छ ।

स्थापित भएको मूल्य र मान्यतालाई समय सापेक्ष परिवर्तन र परिमार्जित गर्दै लैजानुपर्छ भन्ने भावनाको वृद्धि समेत भइरहेको छ । सामाजिक संस्कारले निर्माण गरेको आचरण र व्यवहारमा परिवर्तन गर्दै समयको गतिसँगै भौतिक विलासिततिर पनि मानिस आकृष्ट भइरहेको देखिन्छ ।

आध्यात्मिक युगले निर्माण गरेको असल संस्कारलाई भौतिक युगको क्षणिक स्वार्थ र वनावटी आनन्दले भट्काइरहेको पनि देखिन्छ । पुरातनवादी चिन्तनका कारण उत्तम संस्कारले जीवनमा ल्याएको उत्तम विधिको लोप हुँदै नयाँ आदर्शको नाममा विविध आचरणहरु पनि देखा पर्दै गरेको पाइन्छ ।

सामाजिक परम्परा र संस्कृतिलाई सरलीकृत गर्ने नाममा विसंगति पनि भित्रिँदै गरेको पाइन्छ । आफ्नो र विरानो भनी छुट्यायाउने चिरित्रले आचरण र व्यवहारमा गलत संस्कार स्थापित पनि हुँदै गरेको देखिन्छ । यति मात्र होइन हाम्रो पौराणिक सत्यले हामीलाई कुन दिशातर्फ डो¥याइरहेको छ, हामी आफूले निर्वाह गर्नु पर्ने आचरण के हो ?

त्यतातिर ध्यानै नदिइ क्षणिक स्वार्थ, आनन्दका कारण हामी आफै विचलित मानसिकताको सिकार बनिरहेका छौँ । यो गर्न हुन्छ, यो हँुदैन भनी थाहा पाउँदा पाउँदै पनि भावनामा बगेर आपसी सम्बन्धमा पनि चिसोपन जागृत गर्दै छौँ । एकले अर्कालाई होच्याउने घृणा गर्ने काम पनि गर्दै छौँ ।

बच्चाबच्चीले बाबुआमालाई दिनु पर्ने सम्मानलाई आधुनिक सभ्यताको खोल ओढी माँ र बुबाको आदतार्थी शब्दलाई रुपान्तरण गर्दै मोम ड्याड जस्ता शब्द राखी सम्बोधन गर्ने गरेका पनि छौँ । तेरो र मेरो भन्ने गलत मानसिकताले श्रीमान्श्रीमती बिचमा, भाइभाइबिच तथा भाइबहिनी बिचको सम्बन्धमा, आधुनिक आचरण देखाउने नाममा पौराणिक सत्यमा आधारित हाम्रो आचरण व्यवहारमा पर्दा लगाउन खोजिँदैछ ।

सृष्टिको इतिहासलाई संरक्षण गर्न तथा मानवताको उत्कृष्ट सोचाइभित्र परिभाषित गर्न जोडिने दाम्पत्य जीवनलाई अर्को अर्थमा दुई आत्माबिचको मिलनलाई पनि यो संयोग मात्र हो भन्ने किसिमले हेरी जीवन र जगतबारे विविध विकृति जन्माइ सोच र विचारलाई विलासीपनतर्फ धकेलिँदै छ ।

मानसम्मान र भावनामा ठेस पुग्ने कार्यलाई बढावा दिई आधुनिक सभ्यताको नाममा छाडा संस्कृतिलाई प्रोत्साहन दिइँदैछ । सामाजिक संस्कारप्रति औला ठड्याउँदै रकम केद्रित मानसिकताभित्र शारीरिक र मानसिक सम्बन्ध गास्न खोजिँदै छ ।

सामाजिक बनोटको आधारमा बनिसकेको संस्कृति र संस्कारलाई गलत मानसिकताको संज्ञा दिइ सामाजिक मूल्य र मान्यता तथा मर्यादालाई सीमित घेराभित्र राखी विदेशी मुलुकको सिको गरी अगाडि बढ्ने सोच बढाइँदैछ । धैर्य र संयमता नराखी खुलेआम सामाजिक आचरणलाई बिक्री गरिँदै छ ।

अमूल्य वस्तुलाई सीमित चिन्तनभित्रको दायराभित्र सौदा गरिँदै छ । आफू र आफ्नो मर्यादालाई कसरी उच्च र सम्मानित गराउनुपर्छ, त्यसतर्फ नलागी सामाजिक संस्कार र संस्कृतिलाई नै असर पुग्ने गरी हामी सभ्य समाजको कल्पनाभित्र आफूलाई विकृतिप्रति दौडाउँदै परम्परालाई खुम्च्याउने संस्कारतर्फ हामी नजाँदिँदो किसिमले धकेलिरहेका छौँ । आफूले आफैलाई दलदलभित्र फसाइरहेका छौँ ।

नाटकको पात्रले निभाउनु पर्ने न्यूनतम दायित्व समेत निर्वाह नगरी निर्लज्ज चरित्र प्रदर्शनतर्फ हाम्रो ध्यान बढिरहेको छ । व्यवहार, आचरण र सभ्यतालाई कुल्चदै मानवीय आचरणमा प्रतिकुल असर पर्ने सामाजिक परम्परातर्फ हाम्रो ध्यान केन्द्रित गर्दैछौँ । वास्तवमा यो दुःखद पक्ष नै हो ।

आचरण र सभ्यतालाई कुल्चँदै आफूले पालन गर्नु पर्ने आचरण र व्यवहार मा परिस्कृत गर्नुको सट्टा आयातित विचारलाई स्थापित गर्ने नाममा आफूले आफैलाई पुरस्कृत गर्दै, फाटेको कपडाको सुन्दरताको पहिचान दिन खोज्दै, नाङ्गो फाटेको कपडालाई नयाँ कपडा भनी आफूले आफैलाई नङ्ग्याउने कोसिस गरिरहेका छौँ । यसरी सामाजिक मान्यताभित्र पौराणिक सत्यको आधारशिला भत्काइ व्यवहार र कर्मलाई गति हिनतर्फ उल्झाउँदै कुन संस्कारको जन्म गराउँन हामी अगाडि बढेका छौँ ? यो गम्भीर विषय बनेको छ ।

केही समययता सामाजिक सञ्जाललगायत विभिन्न छापामा, श्रीमान्ले श्रीमति मारेको, आमाले बच्चा मारेको, श्रीमतीले श्रीमान् मारेको, बाबु छोरी, आमाछोरा, भाइबहिनीबिच गलत सम्बन्ध कायम भएको, हत्या हिंसालगायत, लागु पदार्थ ओसारपसार, बढ्दै गएको समाचार सम्प्रेषण भइरहेका छन् । पतिपत्नी बिचको सम्बन्धलाई शारिरीक सम्बन्धको क्षणिक आनन्दभित्र परिभाषित गरी, विवाह भएको थोरै समयभित्र छोडपत्र गर्ने जुन परम्परा बसालिँदै छ, वास्तवमा यसले सृष्टि चक्रको इतिहास भित्रको वैवाहिक पद्धतिलाई नै बङ्ग्याउने चेस्टा गरिँदै गरेको त होइन ? गम्भीर चिन्ताको विषय बनेको छ ।

विश्वासको आधार कमजोर भएको छ । रगतको नातामा समेत प्रश्न चिन्ह उठन थालेको छ । श्रीमतीश्रीमान् तथा छोराछोरीको चाहानालाई विदेशको मरभूमिमा पसिना बगाउन पुगेका स्त्री, पुरुषको मेहनत र पसिनाको अर्थ नबुझी क्षणिक आनन्दमा रमाउन खोज्ने हाम्रो प्रवृत्तिले अहिले पारिवारिक जीवनमा फाटो ल्याएको अवस्था छ ।

देखावटी र बनावटी भावको अर्थ नबुझ्ने गरी आफूले आफ्नो आचरण र व्यवहारलाई गलत मार्गतिर लैजाने र सामाजिक धरातललाई विकृति उन्मुख गराउने चेस्टा गरिँदै छ । यसले मानिसको विशिष्ट चरित्रलाई चुनौती दिएको अवस्था छ । चराचर जगतभित्र संरक्षित जीवजन्तु पशु र अन्य प्राणीभन्दा सर्वोत्कृष्ट रचना मानिएको मानव अस्तित्वले के यही परम्परा स्थापित गर्न पौराणिक मान्यतालाई पन्छाउन खोजेको हो त ? प्रश्न उठेको छ ।

हामी किन कलुसित भावनातर्फ आफ्नो सोचाइलाई बढाइरहेका छौँ ? यस्ता गलत सोचाइ र कार्य मानवीय कलङ्क होइन न र ? यस्ता कार्यले सामाजिक मर्यादामा खलल पुग्दैन होला र ? सोच्नु पर्ने भएको छ । शारीरिक सम्बन्धलाई बढवा दिई आत्मीय सम्बन्धलाई टुक्र्याउने मानसिकता के अहिलेको सामाजिक मान्यताले स्वीकार गर्न सक्छ ? यो समाजभित्र सुहाउने विषय हो ? यस्तो मानसिकता हाम्रो सामाजिक मान्यताभित्र पर्दछ ?

त्यसैले समाजलाई परिस्कृत गर्ने नाममा भित्रिएको र भित्रिँदै गरेको छाडापनलाई समयमै शुद्धिकरण नगर्ने हो भने यसले भविष्यलाई अँध्यारो गोरोटोमा लैजाने निश्चीत जस्तै छ । यो गम्भीर विषय अहिले देखा परिरहेको छ । तसर्थ वर्तमान समयमा छाडापनले देखाउन खोजेको अशान्ति र अस्लीलतालाई हटाउनेतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।

सामाजिक मर्यादाभित्र नरही विपरित कार्य गर्ने गराउने दुवै सामाजिक कलङ्क हुन् भनी यस्तो आचरण गर्न नदिन घर परिवार समाज र राज्य सबै गम्भीर रुपले जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ । तसर्थ यस्तो गलत कार्य नगर्न नगराउन सबै सचेत हुनै पर्दछ । राष्ट्रिय स्वाभिमान र आदर्शभित्र हुर्केको हाम्रो सामाजिक परम्परालाई बङ्ग्याउने कुनै पनि दुस्साहसलाई अपराधीरण गरी त्यस्तालाई सामाजिक बहिष्कृत गर्ने संस्कृति बसाल्नु पर्दछ ।

अन्यथा मानिस र पशुमा कुनै भिन्नता नभई सामाजिक संस्कार नै गलत बाटोमा लाग्न सक्दछ । त्यसैले सामाजिक अपराध र विकृतिलाई हटाई मानिस स्वयम्ले यसको जिम्मेवारीबोध लिनुपरेको छ । छाडा संस्कृति हाम्रो मर्यादा विपरित र संस्कार विपरितको चालचलन हो भन्ने बोध गरी हाम्रो संस्कृति हाम्रो संस्कार हाम्रो संस्कार हाम्रो आदर्शतालाई स्वीकार गर्दै हामीलाई हाम्रो ठाउँ, गाउँ, समाज तथा संस्कृति प्यारो छ ।

यो हाम्रो आदर्श हो भनी नेपाल र नेपालीको पहिचान दिन सबै एकै ठाउँमा उभिनु परेको छ । क्षणिक लोभ र परपञ्चमा नपरि वा विचारलाई रकममा सटही गर्ने प्रवृत्तिदेखि टाढा रही, असल संस्कार र संस्कारी हुनेतर्फ हामी सबैको सोच, बढ्नु परेको छ । भविष्य वर्तमानमा अडेको हुन्छ ।

त्यसैले वर्तमानलाई सामाजिक मर्यादा र असल आचरणको संस्कारतर्फ हामी सबैले आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ । वर्तमानले खोजेको सत्य पनि यही हो । यसैमा हाम्रो उज्ज्वल भविष्य समेत रहेको हुन्छ । हामी सबैले वर्तमानलाई प्रयोग गर्न सिकौँ, सबै एक भएर बाँच्ने आधार गराऔँ । अहिलेको वर्तमानले खोजिरहेको छ, अस्तु ।