सामाजिक सशक्तीकरणका लागि क्षमता विकास

प्रिया स्मृती गजमेर
देउखुरी, ९ असार । लमही नगरपालिका–६ का वडाध्यक्ष श्यामनारायण चौधरीले दलित महिलाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका लागि क्षमता विकास तालिम महत्वपूर्ण हुने बताएका छन् ।

दलित महिला संघका लागि वडा नं. ६ को आयोजनामा एकदिने उद्घोषण कला तालिमलाई सम्बोधन गर्दै वडाध्यक्ष चौधरीले महिलालाई सक्षम, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न सिपमूलक तथा क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताएका थिए ।

नेपाली समाजमा विभिन्न खालका सामाजिक विभेद, असमानता तथा पछौटे सोच अझै विद्यमान रहेको बताउँदै ती चुनौतीको सामना गर्न महिलाहरू शिक्षित, सचेत, आत्मविश्वासी र नेतृत्वदायी बन्न आवश्यक रहेको बताएका थिए । दलित समुदायका महिलाले विगतदेखि सामाजिक, आर्थिक र शैक्षिक रूपमा कठिनाइ तथा विभेदको सामना गर्दै आएको उल्लेख गर्दै अब उनीहरूलाई अवसर, शिक्षा, सिप र नेतृत्व विकासका माध्यमबाट समाजको मूलप्रवाहमा ल्याउनु आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा सदस्य मन्दरी रसाइलीले स्थानीय तहले महिला तथा दलित समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउन सिपमूलक तालिम, आयआर्जनका कार्यक्रम तथा नेतृत्व विकाससँग सम्बन्धित गतिविधिलाई निरन्तरता दिँदै आएको बताइन् ।

वडा सदस्य पार्वती रानाले तालिमले महिलालाई सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ बोल्न, कार्यक्रम सञ्चालन गर्न तथा आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी दलित महिलाले पनि तालिमबाट आफूहरूको बोल्ने कला, प्रस्तुतीकरण क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सहभागीले सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वास बढेको, कार्यक्रम सञ्चालनसम्बन्धी नयाँ ज्ञान प्राप्त भएको तथा सामाजिक गतिविधिमा सहभागिता जनाउन प्रेरणा मिलेको बताएका थिए ।

एकदिने उद्घोषण कला तालिममा उद्घोषण कला, कार्यक्रम सञ्चालनका विधि, सार्वजनिक बोलाइका सिप, मञ्च व्यवस्थापन तथा प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी विषयमा पत्रकार दुःखहरण यादवले प्रशिक्षण दिएका थिए । तालिमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए । कार्यक्रममा दलित महिला संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा दलित समुदायका ४५ जना महिलाको सहभागिता रहेको थियो ।