राजपुरका विद्यार्थीलाई मिडिया साक्षरता

टेकबहादुर पुन
देउखुरी, ९ असार । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर गाउँपालिका भित्रका विद्यार्थीलाई लक्षित गरी मिडिया साक्षरता तालिम सञ्चालन गरिएको छ ।

सूचना तथा सञ्चार माध्यमको सही प्रयोग, भ्रामक सूचनाको पहिचान तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष यादवले सूचना तथा प्रविधिको तीव्र विकाससँगै विद्यार्थीमा मिडिया साक्षरताको आवश्यकता बढ्दै गएको बताइन् ।

उनले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट आउने सूचनालाई सत्य र असत्य छुट्याउन सक्ने क्षमता विकास गर्न यस्ता खालका कार्यक्रम प्रभावकारी हुने बताउँदै भविष्यका जिम्मेवार नागरिक निर्माणका लागि मिडिया साक्षरता अपरिहार्य रहेको उल्लेख गरिन् । उनले गाउँपालिकाले शिक्षा र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैगरी पालिकाका शिक्षा शाखा प्रमुख बासुदेव खनालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै सूचना र सञ्चारसम्बन्धी व्यावहारिक ज्ञान पनि आवश्यक रहेको बताए । उनले डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै गलत सूचना र अफवाहबाट जोगिन मिडिया साक्षरता महत्वपूर्ण विषय बनेको बताए । विद्यालय तहदेखि नै विद्यार्थीमा आलोचनात्मक सोच र सही सूचना छनोट गर्ने क्षमता विकास गरिनु पर्नेमा जोड दिए ।

तालिममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र महासंघका पूर्वअध्यक्ष डा. सुदीप गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी र जिल्ला सदस्य टेकबहादुर पुनले गरेका थिए । राजपुर गाउँपालिका भित्रका तीन विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार साधारण उच्च नमुना माध्यमिक विद्यालय सालभौँरी र शङ्कर माध्यमिक विद्यालय खरदरियामा मिडिया साक्षरता तालिम सम्पन्न भइसकेको छ भने जनज्योति माध्यमिक विद्यालय बेलामा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।