घोराहीको दुई अर्ब ३७ करोड, तुलसीपुरको दुई अर्ब ४४ करोड बजेट

अमरराज आचार्य÷बालाराम खड्का

दाङ, ९ असार । आगामी आर्थिक वर्षका लागि दाङका दुई उपमहानगरपालिकाले बजेट ल्याएका छन् । जिल्लाका घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले नगर सभामा सोमवार बजेट प्रस्तुत गरेका हुन् ।

यसैबिच घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर सभाको १९औँ अधिवेशनमा उपप्रमुख हुमाकुमारी डिसीले बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटमध्ये एक अर्ब ३५ करोड ४५ लाख ४५ हजार रुपैयाँ अर्थात् ५६ दशमलव ९३ प्रतिशत चालु खर्चतर्फ र एक अर्ब दुई करोड ४९ लाख ७७ हजार रुपैयाँ अर्थात् ४३ दशमलव शून्य सात प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । बजेट कार्यान्वनका लागि आन्तरिक आय (घरजग्गा रजिस्ट्रेसनसमेत)बाट ७४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

सङ्घीय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड ५५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड ९६ लाख ३६ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट नौ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी सङ्घीय सशर्त अनुदानबाट ७६ करोड ७७ लाख २२ हजार, सङ्घीय विशेष अनुदानबाट ४५ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

प्रदेश सरकारतर्फ प्रदेश वित्तीय समानीकरण अनुदानबाट दुई करोड १६ लाख नौ हजार, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८९ लाख ३१ हजार, प्रदेश सशर्त अनुदानबाट एक करोड ९४ लाख ५० हजार तथा प्रदेश समपूरक अनुदानबाट एक करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यी सबै स्रोतबाट प्राप्त हुने रकम अपुग भएपछि बाँकी २० करोड १२ लाख ७४ हजार रुपैयाँ गत आर्थिक वर्षको बैंक मौज्दातबाट व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने ७७ करोड ५२ लाख २२ हजार रुपैयाँ सशर्त अनुदानमध्ये दुई करोड ३५ लाख रुपैयाँ (तीन दशमलव शून्य तीन प्रतिशत) पुँजीगत तथा ७५ करोड १७ लाख २२ हजार रुपैयाँ (९६ दहमलव ९७ प्रतिशत) चालु खर्चमा खर्च हुने भएको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने तीन करोड ६४ लाख ५० हजार रुपैयाँ सशर्त अनुदानमध्ये तीन करोड ३९ लाख रुपैयाँ (९३ प्रतिशत) पुँजीगत र २५ लाख ५० हजार रुपैयाँ (सात प्रतिशत) चालु खर्चमा विनियोजन गरिएको छ ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय (घरजग्गा रजिस्ट्रेसन शुल्क तथा बैंक मौज्दातसमेत)बाट विनियोजन गरिएको एक अर्ब ५६ करोड ७८ लाख ५० हजारमध्ये ६० करोड दुई लाख ७३ हजार रुपैयाँ (३८ दशमलव २९ प्रतिशत) चालु र ९६ करोड ७५ लाख ७७ हजार रुपैयाँ (६१ दशमलव ७१ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

उपप्रमुखले नगर सभामा प्रस्तुत गरेको बजेटमा उत्पादन वृद्धि, रोजगारी, आय अभिवृद्धि, सेवा प्रवाहको प्रभावकारिता, पूर्वाधार विकास तथा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रम प्राथमिकतामा राखिएको उपप्रमुख डिसीले बताइन् । दिगो पूर्वाधार निर्माण, आधुनिक तथा जैविक कृषि प्रणालीको विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, समावेशी सामाजिक विकास, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण, सहकारी सुदृढीकरण, उद्यमशीलता विकास, पर्यटन प्रवर्धन तथा विद्युतीय शासन विस्तार बजेटका प्राथमिकता रहेका छन् ।

आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रमका लागि तीन करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये आन्तरिक स्रोतबाट दुई करोड ९८ लाख, प्रदेश सरकारबाट १५ लाख र सङ्घीय सरकारबाट ४६ लाख रुपैयाँ प्राप्त हुने व्यवस्था गरिएको छ । सिँचाइ सुविधा विस्तारका लागि दुई करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ड्याम निर्माणका लागि ३५ लाख तथा विभिन्न ट्युबवेल तथा पाइप विस्तारका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ । ५० प्रतिशत अनुदानमा मसला बालीको बिउ वितरण, कृषि सामग्री सहयोग, भर्मी कम्पोस्ट उत्पादन, आइपिएम कृषक पाठशाला तथा प्लान्ट क्लिनीक सञ्चालनका कार्यक्रम समावेश गरिएको छ ।

पशुपन्छी विकासतर्फ ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । खोप खरिद, माछाका भुरा वितरण, बिमासम्बन्धी अभिमुखीकरण, पशु औषधी खरिद तथा व्यावसायिक जोखिम न्यूनीकरणका कार्यक्रम समेटिएका छन् । पर्यटन तथा संस्कृति प्रवर्धनका लागि २६ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

सहकारी क्षेत्र सुदृढीकरणका लागि १० लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ । सहकारी सचेतना, नियमित अनुगमन, सफ्टवेयरमा आधारित व्यवस्थापन तथा एकीकरण कार्यक्रम सञ्चालन गरिने छ । सुरक्षित वैदेशिक रोजगार तथा रोजगार प्रवर्धनका कार्यक्रमका लागि ५७ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको छ । उद्यमशीलता तथा सिप विकास कार्यक्रमका लागि २७ लाख रुपैयाँ छुट्याइएको छ ।

आर्थिक विकासतर्फ समग्रमा पाँच करोड ५३ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि सबैभन्दा बढी ७८ करोड ३१ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको छ । विद्यालय भवन निर्माण तथा अधुरा भवन सम्पन्न गर्न एक करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

स्वयम्सेवक शिक्षकको तलब भत्ताका लागि एक करोड ५५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । खेलकुद क्षेत्रका लागि ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जनस्वास्थ्य प्रवर्धन कार्यक्रमका लागि नौ करोड १७ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य पूर्वाधार निर्माणका लागि एक करोड ३७ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ भने निःशुल्क औषधी तथा उपकरण खरिदका लागि ३० लाख रुपैयाँ व्यवस्था गरिएको छ । स्वास्थ्य पूर्वाधारसहित नगरस्तरीय कार्यक्रमका लागि दुई करोड २२ लाख रुपैयाँ विनियोज गरिएको छ ।

सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, महिला तथा सामाजिक सुरक्षासहित समग्रमा ८८ करोड ६५ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ८५ करोड ९१ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । विगतदेखि सञ्चालनमा रहेका क्रमाङ्गत तथा बहुवर्षीय आयोजनाका लागि ५४ करोड १७ लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ ।

लागत साझेदारीमा सञ्चालन हुने आयोजना तथा टोल विकास संस्थाका योजनाका लागि २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । समपूरक आयोजनाका लागि दुई करोड ९५ लाख तथा विगतका अधुरा आयोजना सम्पन्न गर्न दुई करोड ३८ लाख रुपैयाँ छुट्याइएको छ । पिच सडक मर्मतका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमका लागि दुई करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ । सूचना प्रविधि तथा सञ्चार व्यवस्थापनका लागि ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

तुलसीपुरको बजेट दुई अर्ब ४४ करोड

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा, स्वास्थ्य सिँचाइ, पूर्वाधार र खेलकुदलाई प्राथमिकता राख्दै आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट ल्याएको छ । आगमी वर्षका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपैयाँको बजेट ल्याएको हो । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि उपप्रमुख स्यानी चौधरीले अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

सार्वजनिक गरिएको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट २४ करोड, स्थानीय राजस्व बाँडफाँडबाट चार करोड, विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

सङ्घीय सरकारको समानीकरण अनुदान २८ करोड ७७ लाख, सशर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, सङ्घीय विशेष अनुदान ८८ लाख र राजस्व बाँडफाँट संघतर्फ २४ करोड नौ लाख ५७ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख रहेको छ ।

विशेष अनुदान २० लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड ४१ लाख ८६ हजार, सडक बोर्डबाट एक करोड, नगर विकास कोषबाट दुई करोड १० लाख गरी कूल दुई अर्ब ४४ करोड ९५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । चालुतर्फ एक अर्ब ३९ करोड ६० लाख २१ हजार अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ एक अर्ब एक करोड ३८ लाख २८ हजार अर्थात् ४२ दशमलव ३५ प्रतिशत बजेट र वित्तीय अनुदानतर्फ चार करोड अर्थात् एक दशमलव ६५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा आगामी वर्षमा सञ्चालन हुने मुख्य आयोजना तथा कार्यक्रमतर्फ सडक, नाला निर्माण तथा स्तरोन्नतिका लागि पाँच करोड, भवन तथा अन्य पूर्वाधार मिर्नाण तथा स्तरोन्नतिका लागि तीन करोड, शिक्षा क्षेत्र पूर्वाधार निर्माण गर्न तीन करोड, भवन तथा पूर्वाधार खेतीयोग्य जमिन तथा बस्ती र संरचना संरक्षण गर्न तटबन्धन गर्ने योजनाका लागि दुई करोड, सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यको लागि दुई करोड रहेको छ ।

स्वास्थ्य पूर्वाधार निर्माणका लागि एक करोड, खानेपानी तथा सरसफाइका लागि एक करोड, पोखरी तथा ड्याम निर्माण संरक्षण गरी सिँचाइ विस्तारका लागि एक करोड ५० लाख, उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि एक करोड, आधुनिक शवदाह÷समाधिस्थल निर्माणका लागि एक करोड, अरनीको मैदान स्तरोन्नतिका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी निजी क्षेत्रको साझेदारीमा नगर बस सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड, वडा कार्यालय भवन मर्मत सम्भारका लागि एक करोड, स्वास्थ्यचौकी, बर्थिङ सेन्टरका लागि एक करोड, मेट्रो अस्पताल स्तरोन्नति तथा विशेषज्ञसहित सेवा विस्तारका लागि एक करोड, ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ अन्तर्गत युवा तथा खेलकुदका लागि एक करोड, आधुनिक दमकल खरिद, फोहरमैला व्यवस्थापनका लागि एक÷एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियु सेवा सञ्चालन तथा व्यवस्थापनका गर्न सहकार्य र समन्वयको लागि आवश्यक बजेटको व्यवस्थापन गर्न पहल गर्ने, सामाजिक विकासतर्फ मेयर स्वास्थ्य मुटु अभियान तथा नागरिक आरोग्य प्रवर्धन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनलगायत स्वास्थ्य तथा पोषणतर्फ चार कारोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी कृषि विकास सेवा अन्तर्गत कौसी खेती कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनलगायत कृषितर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत विपद् कोषमा जम्मा गर्न ५० लाख, अन्य विपद व्यवस्थापनका लागि एक करोड, युवा नवप्रवर्तन तथा स्मार्टअप प्रवर्धन कार्यक्रम अन्तर्गत ५० लाख, स्मार्ट छोरी कार्यक्रमका लागि ५० लाख, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख, तुलसीपुर–१६ मा औद्योगिक ग्राम पूर्वाधार निर्माणका लागि एक करोड, कृषि एम्बुलेन्सका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी वडास्तरीय बजेट तथा कार्यक्रम अन्तर्गत ११ वटा वडामा एक÷एक करोड रुपैयाँ विनियोजन गर्नुका साथै वडा नं. १ देखि १९ वडामा एक करोडका दरले १९ करोड बजेट विनियोजन गरिको उपप्रमुख चौधरीले सभामा प्रस्तुत गरेकी थिइन् । नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको १९र्औँ अधिवेशनको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा आर्थिक वर्ष २०८२÷०८३ को न्यायिक समितिको प्रतिवेदन उप्रमुख स्यानी चौधरीले, लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक घनश्याम ढकालले, विधायन समितिको प्रतिवेदन संयोजक भीमबहादुर कँवर योगी र सार्वजनिक सेवा तथा सुशासन समितिको प्रतिवेदन सुशासन समितिका संयोजक धर्मराज वलीले सभामा पेस गरेका थिए ।