लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

दाङ,८ असार । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले आईटीएफ तेक्वान्दो खेल शारीरिक तथा मानसिक स्वास्थ्य, आत्मसुरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताए । खेलाडीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउने लक्ष्यसहित अघि बढ्ेको भएपनि प्रयाप्त बजेट नभएको बताएका हुन ।

खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले थोरै भएपनि बजेट बिनियोजन गर्दै आएको र त्यहीबाट प्रदेशका विभिन्न जिल्लामा खेलकुदका गतिविधि भइरहेको भन्दै मन्त्री न्यौपानेले यसले खेलकुदका गतिविधिलाई चलाएमानसँगै खेलाडी क्षमता र आत्मविश्वास बढाउने काम गरेको बताइ । आईटीएफ तेक्वान्दोसँगै फुटबल, क्रिकेट, भलिबललगायत सबै खेलको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको भन्दै मन्त्री न्यौपानले भने,‘खेलकुदका गतिविधिसँगै पूर्वाधार विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर लगानी बढाउनुपर्छ ।’

कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले आईटीएफ तेक्वान्दो मार्सल आर्टको लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको भन्दै प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि, खेलको विकास तथा राष्ट्रियस्तरका दक्ष र उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताए । लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरले प्रदेशस्तरमा आईटीएफ तेक्वान्दोको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल गतिविधिलाई सशक्त बनाउन सहयोेग गर्ने बताएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा समावेश गरिएको छ । प्रतियोगिता महिलातर्फ ४०–४५, ४५–५०, ५०–५५, ५५–६० तथा ६० केजीमाथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ तथा ६५ केजीमाथिका तौल समूह निर्धारण गरिएको छ । साथै रेड बेल्ट, ब्लु बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण लीलाधर बस्नेतले गरेका थिए ।