विस्तार हुँदै हुलाकी सडक, पाँच सय बढी रुख काट्नु पर्ने

लीलाधर वली
दाङ, ८ असार । देउखुरीमा हुलाकी सडक विस्तार हुने भएको छ । कालाकाँटे गढवा–राजपुरसँगै अब गंगदीदेखि हाडबाससम्मको २२ किलोमिटर हुलाकी सडक विस्तार हुने भएको हो ।

हुलाकी सडक विस्तारका लागि तीन अर्ब रुपैयाँ बजेटको स्रोत व्यवस्थापन भएपछि सडक विस्तारको प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिएका छन् । आयोजना प्रमुख भण्डारीका अनुसार राजपुर गाउँपालिकाको गंगदीदेखि दाङ र बाँकेको सिमा क्षेत्र हाडबाससम्म सडक विस्तार गर्न ठेक्काको प्रक्रियासँगै सडक सिमा क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति लिने काम भइरहेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सडक विस्तार हुने २२ किलोमिटर क्षेत्र अन्तर्गत ५३० देखि ४० वटासम्म रुख कटान गर्नु पर्ने प्रारम्भिक सर्भेका क्रममा देखिएको छ । त्यही अनुसार लुम्बिनी प्रदेश वन मन्त्रालयबाट स्वीकृत लिएर डिभिजन वन कार्यालय देउखुरी हुँदै सव डिभिजन वन कार्यालय गंगदीबाट हुलाडी सडक खण्डमा पर्ने रुख कटानका लागि गणनासँगै टाँचा लगाउने काम सुरु गर्ने तयारी भएको छ ।

उक्त टोलीले पुनः सडकको ३० मिटर क्षेत्रमा पर्ने रुखको गणनासँगै कटान गर्नु पर्ने रुखमा चिन्ह लगाएर फाइल तयार गरेर डिभिजन वन कार्यालय देउखुरी, कार्यालयले प्रदेश वन मन्त्रालय र प्रदेश वन मन्त्रालयले संघीय वन मन्त्रालयलाई पत्र पठाएपछि रुख कटानका लागि अनुमति प्रदान गर्ने छ ।

उक्त २२ किलोमिटर क्षेत्रमा गंगदी सवडिभिजन वन कार्यालय अन्तर्गत आठ वटा सामुदायिक वन क्षेत्र पर्ने गरेका छन् । त्यसका लागि वन मन्त्रालय हुँदै लुम्बिनी प्रदेश वन मन्त्रालयबाट स्वीकृतिका लागि कागजत प्राप्त भइसकेको र डिभिजन वन कार्यालयले कटान गर्नु पर्ने रुखमा टाचा लगाए पनि रुख कटानको काम हुने सुरु हुने आयोजना प्रमुख बताउँछन् ।

सडक विस्तारका लागि असारको अन्तिमसम्म ठेक्का लागि टेण्डर आह्वान हुने गरी तयारी भइरहेको भन्दै आयोजना प्रमुख भण्डारी टेन्डर भएपछि आगामी आर्थिक वर्षको असोज महिनादेखि सडक विस्तारको काम सुरु हुने छ । उक्त सडक खण्डमा सडक विस्तारसँगै विभिन्न खोलामा १७ वटा पुल निर्माण गर्ने गरी स्टीमेन्ट तयार भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज बाँकले जनाएको छ ।

गंगदी हुँदै वनकट्टी, लैवरुवा, सिक्टा, राताकाँस गल्छी, करुवा खोला हुँदै हाडबास जोड्ने सडक अन्तर्गत आठ वटा वन क्षेत्र रहेको राजपुर गाउँपालिका–८ का वडा अध्यक्ष समेत रहेका हुलाकी सडक निर्माण सङ्घर्ष समितिका अध्यक्ष पुष्कर वली बताउँछन् । सडक निर्माण भएपछि कालाँकाटेबाट हुलाकी सडक भएर बाँकेको नेपालगन्ज जान सकिने छ ।

हुलाकी सडक अन्तर्गत गढवा–कालाकाटे र गढवा–राजपुर सडक खण्ड विस्तारसँगै कालोपत्रे गर्ने काम गरिए पनि गंगदी–हाडबास सडकखण्ड निर्माण ढिलाई भए पनि सङ्घर्ष समिति निर्माण गरेर दवाफ बढाउने काम गर्दै आएको अध्यक्ष वलीले जानकारी दिएका छन् ।

दाङमा हुलाकी सडक निर्माणको काम २०७६ सालदेखि सुरु भएको थियो । हुलाकी सडक अन्तर्गत गढवा–राजपुर सडक खण्ड कालोपत्रे भइसकेको छ भने गढवा–कालोपत्रे गर्ने काम भइरहेको छ । बाँकी गंगदीदेखि हाडबाससम्मको २२ किलोमिटर सडक ठेक्का लाग्न सकेको थिएन ।

उक्त सडकखण्डसँगै बाँकीतर्फको ३६ किलोमिटर सडक निर्माण भएपनि महेन्द्र राजमार्गको बैकल्पिक मार्गका रुपमा सञ्चालन हुने दाङको कालाँकाटेबाट गढवा–राजपुर हुँदै बाँकेको नेपालगन्ज हुँदै धनगढी पुग्न सकिने हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज बाँकेका प्रमुख भण्डारी बताउँछन् ।