प्रथम लुम्बिनी राष्ट्रिय शारीरिक सुगठनमा सुवेदी च्याम्पियन

गोरक्ष समाचारदाता
दाङ, ८ असार । प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ अन्तर्गत खुला राष्ट्रिय शारीरिक सुगठनमा दाङका माधव सुवेदी च्याम्पियन बनेका छन् ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा घोराहीमा भएको खुला राष्ट्रिय शारीरिक सुगठनमा सुवेदी च्याम्पियन बनेका हुन् ।

देउखुरी निवासी सुवेदीले प्रतियोगिता अन्तर्गत विभिन्न तौल समूहका विजेताहरूबिच भएको च्याम्पियनसिपमा उत्कृष्ट कला प्रदर्शन गर्दै ओभरलमा च्याम्पियन बन्न सफल भएका थिए । च्याम्पियन बन्न सफल सुवेदीले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कँडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय भएका थिए । यसैगरी ६० केजी तौल समूहमा नवलपरासीका रेशम राना प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय, ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुर्मे प्रथम, दाङका प्रतीक चौधरी द्वितीय र बाँकेका जगतराज महाउन तृतीय भएका थिए ।

प्रतियोगितामा ७० केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रुपन्देहीका नवीन श्रीस द्वितीय र मकवानपुर जिल्ला निवासी राहुलकुमार शाह तृतीय, ७५ केजी तौल समूहमा बाँकेमा दीपेन्द्रबहादुर खत्री प्रथम, रुपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुँका शिशिर थापा मगर तृतीय र ७५ केजीभन्दा माथिको तौल समूहमा रोल्पाका दीपकजङ्ग रोका प्रथम, रुपन्देहीका कुशलप्रसाद गुरुङ द्वितीय र बाग्लुङका सन्जोग बुढा मगर तृतीय बन्न सफल भएका थिए ।

प्रतियोगितामा विभिन्न तौल समूहमा प्रथम हुने खेलाडीलाई जनही १५ हजार, द्वितीय हुने खेलाडीलाई १० हजार र तृतीय हुने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तीरणदाज गौतमको अध्यक्ष तथा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले शारीरिक सुगठन खेलको विकासका लागि लगानी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

अन्य खेलको तुलनामा कम लगानी हुने शारीरिक सुगठनसम्बन्धी खेल स्वास्थ्यका लागि हरेक नागरिकका लागि आवश्यक रहेकाले सरकारले स्वस्थ नागरिक उत्पादनका लागि पनि लगानी गर्न आवश्यक रहेकामा जोड दिएका थिए । प्रतियोगितामा दाङसहित देशभरका ५१ जना पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।