कृषि सामग्री आपूर्ति र स्वास्थ्य सेवा अनुगमन गर्ने

गोरक्ष समाचारदाता
दाङ, ८ असार । नागरिक समाज दाङले संविधान संशोधनका सन्दर्भमा सरकारद्वारा जनसमक्ष ल्याइने बहसपत्रमा सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ । बरिष्ठ अधिवक्ता पद्मप्रसाद वैदिकको संयोजकत्वमा गठित समितिले तयार पारेको मस्यौदामाथि व्यापक छलफल गरी बहसपत्रमा समावेश गर्नु पर्ने सुझावसहित बैठकमा प्रस्तुत गरिएको हो ।

समितिमा अधिवक्ता हरिप्रसाद पाण्डेय र गोमा महरा सदस्य रहेका थिए । उक्त मस्यौदामाथि छलफलपछि नागरिक समाज दाङले आवश्यक सुझाव समेट्दै बहसपत्रमा औपचारिक रूपमा समावेश गर्ने निर्णय गरेको हो । बैठकले घोराही उपमहानगरपालिका–३ मा रहेको संजीवनी टिचिङ हस्पिटलले प्रदान गर्दै आएको स्वास्थ्य सेवा सुविधा सम्बन्धमा स्थलगत अवलोकन गर्ने र त्यसको यथार्थ अवस्था जनसमक्ष सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी धान खेतीको समय सुरु भएकाले कृषकको माग अनुसार रासायनिक मल, उन्नत बिउ, कृषि औजार तथा उत्पादनसँग सम्बन्धित सामग्री सहज र सरल रूपमा उपलब्ध गराउनु पर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायलाई यसबारे ध्यानाकर्षण गराइने बैठकले जनाएको छ । बैठकले दाङ जिल्लामा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्दै सामाजिक सेवामा क्रियाशील संघसंस्थाको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश तथा स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम र बजेटमा अनुदान तथा बजेट विनियोजन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसैबिच नागरिक समाज दाङको सदस्यताका लागि राप्ती गाउँपालिका–८ महलबारी निवासी पदमबहादुर पाण्डेय र दानबहादुर केसीले दिएको निवेदनमाथि छलफल गरी उनीहरूको सक्रिय सहभागिताको अपेक्षासहित सदस्यता प्रदान गर्ने निर्णय गरिएको नागरिक समाज दाङले जनाएको छ । बैठक नागरक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षतामा भएको थियो ।