गोरक्ष समाचारदाता
दाङ, ८ असार । महिलामा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान तथा उपचार पहुँच विस्तार गर्ने उद्देश्यले घोराहीमा एकदिने निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग, विकास नगर टोल विकास संस्था (घोराही–१५) को आयोजना तथा मेचिकाली स्कुलको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा दुई सय बढी महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको अस्पतालले जानकारी दिएको छ । विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यस्ता खालका कार्यक्रमको निरन्तरता हुनु पर्नेमा जोड दिए ।
प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले महिलाका स्वास्थ्य समस्या लक्षित शिविरले प्रारम्भिक पहिचान र उपचारमा सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष पत्रकार सन्तोष सुवेदीले संजीवनी टिचिङ हस्पिटलले पछिल्ला दिनमा निःशुल्क स्वास्थ्य शिविरमार्फत् समुदायमा सेवा विस्तार गरिरहेको बताए । अस्पतालका कार्यकारी प्रमुख दीपक रोकाले महिलामा देखिने विभिन्न रोगको प्रारम्भिक पहिचान र समयमै उपचार सुनिश्चितता गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।
प्रसूति तथा महिला रोग विशेषज्ञ डा. गोमा रिमालले पाठेघर खस्ने, महिनावारी गडबडी, पिसाबसम्बन्धी समस्या, पाठेघर तथा स्तन क्यान्सर, यौन रोग र नसर्ने रोगबारे परामर्श तथा सचेतना प्रदान गरेकी थिइन् । आमा समूहकी अध्यक्ष जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममाको सहजीकरण सचिव दीपक वलीले गरेका थिए ।