लमही–७ मा दिशा सूचक होर्डिङ बोर्ड

टेकबहादुर पुन
लमही, ८ असार । सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन लमही नगरपालिका–७ ले वडाभित्रका विभिन्न स्थानमा स्थान परिचय खुल्ने दिशासूचक होर्डिङबोर्ड स्थापना गरेको छ । वडा कार्यालयका अनुसार स्थानीय बस्ती तथा टोलको पहिचान स्पष्ट बनाउने उद्देश्यले स्थापना गरिएका बोर्डले यात्रु, सवारी चालक तथा बाहिरबाट आउने आगन्तुकलाई गन्तव्य पहिचान गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

विशेष गरी पूर्व–पश्चिम राजमार्गबाट भित्री बस्तीमा जाने सडक तथा बढी सवारी चाप हुने स्थानलाई प्राथमिकतामा राखेर बोर्ड जडान गरिएको हो । वडाध्यक्ष मोहन गिरीले वडाभित्र स्थानीय बस्तीको पहिचान संरक्षण गर्ने उद्देश्यले स्थान परिचय समेत खुल्ने बोर्ड स्थापना गरिएको बताए । उनका अनुसार बढी सवारी आवागमन हुने क्षेत्रलाई प्राथमिकतामा राखी बोर्ड जडान गरिएको छ ।

जसले यात्रु तथा सवारी चालकलाई गन्तव्य पहिचान गर्न सहज हुने र स्थानीय बस्तीको पहिचान थप सुदृढ हुने विश्वास लिइएको छ । वडा नं ७ अन्तर्गत हाइवेभन्दा भित्री क्षेत्रमा रहेका कमानपुर, बनगैँ, हस्नापुर, बनघुस्री, जनकपुर, फचकपुर र खलुवाटोललगायतका बस्तीको नाम तथा दिशासूचक जानकारी समेटिएका बोर्ड स्थापना गरिएको छ ।