शिक्षा, स्वास्थ्यदेखि योजना कार्यान्वयन सम्मका गुनासो

प्रिया स्मृति गजमेर
देउखुरी, ८ असार । राजपुर गाउँपालिकाले आर्थिक वर्षभरि सम्पादन गरेका कामकारबाही तथा सेवा प्रवाहबारे जानकारी दिन तथा नागरिकका गुनासा, सुझाव र जिज्ञासा संकलन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी स्थानीयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास, योजना कार्यान्वयन, अनुगमन तथा भुक्तानी प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न प्रश्न तथा गुनासा राखेका थिए । सहभागीले पालिकाबाट प्रदान गरिने सेवा अपेक्षा अनुसार छिटो, छरितो र प्रभावकारी हुन नसकेको बताएका थिए ।

शिक्षासम्बन्धी जिज्ञासाको जवाफ दिँदै शिक्षा अधिकृत बासुदेव खनालले गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनका अनुसार विद्यालयमा शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री वितरण, पूर्वाधार विकास तथा सिकाइ उपलब्धि अभिवृद्धिका लागि आवश्यक पहल भइरहेको छ । गाउँपालिकाका वडाहरूको तर्फबाट वडा नम्बर १ का अध्यक्ष सूर्यप्रसाद चौधरीले विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित गुनासाको जवाफ दिएका थिए ।

उनले सीमित स्रोतसाधन र बजेटका बाबजुद सबै वडामा सन्तुलित रूपमा विकासका कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताए । चौधरीले प्राविधिक समस्या, प्रतिकूल मौसम तथा बजेट निकासासम्बन्धी प्रक्रियागत कारणले केही योजनामा ढिलाइ भएको स्वीकार गर्दै आगामी दिनमा योजना छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म नागरिक र जनप्रतिनिधिबिच समन्वय बढाइने बताए । प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिकाले प्रचलित कानुन र विद्यमान ऐन–नियमको परिधिभित्र रहेर सेवा प्रवाह गरिरहेको बताए ।

रिजालले कर्मचारीको सीमित संख्या, सेवाग्राहीको बढ्दो चाप तथा प्रक्रियागत कारणले केही समस्या देखिए पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका प्रयास भइरहेको बताए । सार्वजनिक सुनुवाइमा स्थानीयले नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापनलाई समेत प्रमुख चासोका विषयका रूपमा उठाएका थिए । सहभागीले अवैध उत्खनन् नियन्त्रण प्रभावकारी हुन नसकेको र त्यसबाट वातावरणीय असर देखिन थालेको बताएका थिए ।

उपाध्यक्ष धनपतिदेवी यादवले नदीजन्य पदार्थको उत्खनन तथा व्यवस्थापन कानुनी प्रक्रिया अनुसार सञ्चालन गरिने बताउँदै अनियमित गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन् । वातावरणीय सन्तुलन कायम राख्दै राजस्व वृद्धि गर्ने नीति अनुसार काम भइरहेको उनको भनाइ थियो ।

योजना निर्माणमा मापदण्डविपरीत कमसल सामग्री प्रयोग हुने गरेको तथा प्रभावकारी अनुगमन नहुने गुनासाबारे गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइने बताए । उनले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायी वा उपभोक्ता समितिलाई आवश्यक कारबाही गरिने स्पष्ट पारे । अध्यक्ष बुढाथोकीले गाउँपालिकाले कानुनी प्रक्रिया अनुसार मात्रै कर्मचारी छनोट गर्ने गरेको बताए ।

कार्यक्रममा सहभागी स्थानीयले सार्वजनिक सुनुवाइलाई जनताका आवाज सुन्ने प्रभावकारी माध्यमका रूपमा लिँदै उठाइएका समस्याको व्यावहारिक समाधान हुनु पर्नेमा जोड दिएका थिए । गाउँपालिकाले नागरिकबाट प्राप्त सुझाव, गुनासा तथा जिज्ञासालाई आगामी नीति, कार्यक्रम तथा योजना निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण दुःखहरण यादव, पत्रकार प्रिया स्मृति गजमेर तथा निराजन यादवले गरेका थिए ।