दाङ,७ असार । लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा असार ८ र ९ गते घोराहीमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको परिषद्ले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा आयोजना हुने प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले गर्ने कार्यक्रम तय भएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिएका छन् । सदस्य सचिव गौतमका अनुसार प्रतियोगिताको उद्घाटन समारोह असार ८ गते बिहान ८ बजे हुनेछ ।
प्रतियोगिताका लागि मञ्च, खेलाडीले प्रतिस्पर्धा गर्ने रिङसँगै ट्रफी, मेडल र प्रमाणपत्र व्यवस्थापनलगायतको तयारी पूरा भएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा समावेश गरिएका छन् ।
महिलातर्फ ४०–४५, ४५–५०, ५०–५५, ५५–६० तथा ६० केजीमाथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ तथा ६५ केजीमाथिका तौल समूह निर्धारण गरिएको छ । यसका साथै रेड बेल्ट, ब्लु बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाडीबीच पनि प्रतिस्पर्धा गराइनेछ ।
प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताले आईटीएफ तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका लागि दक्ष र उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।