घोराही, ७ असार । घोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ अन्तर्गत खुला राष्ट्रिय शारीरिक सुगठनमा दाङका माधव सुवेदी च्याम्पियन बन्नुभएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरलमा सुवेदी च्याम्पियन बन्न सफल भएको हो ।
च्याम्पियन बन्न सफल सुवेदीले नगद एक लाख रुपियाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताअन्तर्गत विभिन्न तौल समूहका विजेताहरुका बिच भएको च्याम्पियनसिपमा सुवेदी बिजयी हुनुभएको थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय हुनुभएको थियो ।
त्यसैगरी ६० केजी तौल समूहमा नवलपरासीका रेशम राना प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय स्थान हासिल गर्न सफल हुनुभयो । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुर्मे प्रथम, दाङका प्रतिक चौधरी द्वितीय र बाँकेका जगतराज महाउन तृतीय हुनुभएको थियो । प्रतियोगितामा ७० केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रुपन्देहीका नवीन श्रीस द्वितीय र मकवानपुर जिल्ला निवासी राहुलकुमार शाह तृतीय, ७५ केजी तौल समूहमा बाँकेमा दिपेन्द्रबहादुर खत्री प्रथम, रुपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुँका शिशिर थापा मगर तृतीय स्थानमा लिन सफल हुनुभएको थियो ।
त्यसैगरी ७५ केजीभन्दा माथिको तौल समूहमा रोल्पाका दीपक जंग रोका प्रथम, रुपन्देहीका कुशलप्रसाद गुरुङ द्वितीय र बाग्लुङका सन्जोग बुढा मगर तृतीय बन्नुभएको थियो । प्रतियोगितामा विभिन्न तौल समूहमा प्रथम हुने खेलाडीलाई जनही १५ हजार, द्वितीय हुने खेलाडीलाई १० हजार र तृतीय हुने खेलाडीलाई ५ हजार रुपियाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला एथलेटिक फिजिक्सतर्फ भएको प्रतिस्पर्धामा रुपन्देहीकी रविन कुँवर विजेता बन्नुभएको छ । कुँवरले उपाधिसहित नगद ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
महिला एथलेटिक फिजिक्सतर्फ नवलपरासीकी चुनकुमारी पुन द्वितीय र दाङकी उर्बी बस्नेत तृतीय भए । द्वितीय हुने पुनले नगद २० हजार रुपियाँ तथा तृतीय हुने बस्नेतले नगद १० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बिजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमसहित प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।