लमही न्यायिक समितिमा २५ उजुरी, अधिकांश जग्गासँग सम्बन्धित

दाङ, ६ असार । लमही नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८२÷८३ को हालसम्म २५ वटा उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म ११ महिनाको अवधिमा विभिन्न प्रकृतिका २३ वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेका तीन वटा गरी २५ वटा उजुरी दर्ता भएका हुन् ।

न्यायिक समिति संयोजक लक्ष्मी योगीका अनुसार दर्ता भएका उजुरीमध्ये आठ वटाको फैसला भएका छन् । माना–चामल भराइ तथा जग्गा रोक्का गरिपाऊँ भन्ने प्रकृतिका सात वटा उजुरीमध्ये छ वटा टुङ्गो लागिसकेका छन् भने एउटा प्रक्रियामा रहेको छ । यसैगरी निकास खुलाइपाउँ भन्ने निवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ बाट जिम्मेवारी सरेर आएको एउटा उजुरीसमेत फैसला गरिएको लमही नगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक योगीले बताइन् ।

उनका अनुसार बाटो निकाससम्बन्धी दुई वटा, जग्गा विवाद निरूपणसम्बन्धी एउटा तथा जग्गाको साँध–सिमाना छुट्याई जग्गा यकिन गरिपाऊँ भन्ने एउटा उजुरीमा समितिमार्फत् सहमति हुन नसकेपछि दुवै पक्षको सहमतिमा अदालत पठाइएको छ । यसै अवधिमा सात वटा उजुरी खारेज भएका छन् । जग्गा खिचोला मिलाई समान रूपमा बाटो कायम गरिपाऊँ, कारबाही चलाई रकम असुल गरिपाउँ, जग्गा रोक्का, जग्गा मिचेको, ज्याला–मजदुरी रकम दिलाइपाउँ तथा अंशबन्डासम्बन्धी उजुरीमा उजुरीकर्ता नै सम्पर्कविहीन भएपछि ती उजुरी खारेज भएका हुन् ।

‘कतिपय मुद्दामा उजुरीकर्ता स्वयम् नै दोषी देखिने अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा उजुरीकर्ता नै सम्पर्कमा नआउने तथा बारम्बार बोलाउँदा पनि उपस्थित नहुने भएपछि कानुनी व्यवस्था अनुसार त्यस्ता उजुरी खारेज गर्नु पर्ने अवस्था आउँछ’, न्यायिक समिति संयोजक योगीले भनिन्, ‘केही उजुरी भने रिसको झोकमा दर्ता गरिए पनि पछि परिवारभित्रै सहमति भएपछि समाधान हुने गरेका छन् ।’
हाल बाँकी रहेका मुद्दाहरू अनुसन्धान तथा प्रक्रियाको चरणमा रहेको समितिले जनाएको छ। न्यायिक समितिले दर्ता भएका मुद्दालाई प्राथमिकताका साथ छलफल, संवाद र आपसी सहमतिमार्फत टुंग्याउने प्रयास गर्दै आएको संयोजक योगीले बताइन् ।

उनले भनिन्, ‘हामी दुवै पक्षलाई छलफलमा सहभागी गराएर दुवैलाई जितको अनुभूति हुने गरी सहमति कायम गराउने प्रयास गर्छौँ । छलफलका क्रममा सहमति हुन नसकेका मुद्धालाई भने अदालत पठाउने गरेका छौँ ।’

योगीका अनुसार लमही न्यायिक समितिमा अधिकांश उजुरी जग्गा तथा पारिवारिक विवादसँग सम्बन्धित हुने गरेका छन् । यस क्रममा करिब २२ वर्षदेखि चलिरहेको एउटा पुरानो विवादसमेत समितिले समाधान गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन् । कार्यक्रममा नगर प्रमुख जोखराज चौधरीले सहमतिका माध्यमबाट दुवै पक्षलाई न्यायको अनुभूति गराउँदै विवाद समाधान गर्ने न्यायिक समितिको कार्य उदाहरणीय रहेको बताए ।

उनले मेलमिलापकर्तामार्फत् वडा तहबाटै विवाद समाधान गर्ने प्रयास गरिएकाले पछिल्लो समय विवादको सङ्ख्या पनि घट्दै गएको र जिल्लामै लमही नमुना न्यायिक समितिका रूपमा परिचित भएको बताए ।

समितिका अनुसार अधिकांश मुद्दा मिलापत्र मार्फत् समाधान गरिएका छन् । केही मुद्दामा रकम फिर्ता गराउने, निकास खुलाउने तथा नापजाँच गरी साँध–सिमाना छुट्याउने निर्णय गरिएको छ । कार्यक्रमको सहजीकरण लमही नगरपालिका प्रेस संयोजक प्रियास्मृति गजमेरले गरेका थिए ।