तुलसीपुर, राप्ती र गढवाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

गोरक्ष समाचारदाता
तुलसीपुर, ५ असार । आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तयारीमा रहेका दाङका थप तीन स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । तुलसीपुर उसपमहानगपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले शुक्रवार ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थसँगै भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् । स्थानीय तहले नीति तथा कार्यक्रमका आधारमा बजेट तयार गर्ने गर्छन् । जिल्लामा यस अघि घोराही उपहानगरपालिकाले नीति तथा कार्यक्रम ल्याइसकेको छ भने अन्य स्थानीय तहहरू नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा जुटेका छन् ।

तुलसीपुरको नीति कार्यक्रम

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार उपमहानगरपालिकाको १९ औँ नगर अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता, समृद्ध तुलसीपुर’ भन्ने मूल नारासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । तुलसीपुर १२ हरिपौरास्थित मेट्रो कलेजको सभाहलमा आयोजित बैठकमा उनले ४२ पृष्ठ लामो नीति तथा कार्यक्रमका तीन सय ४९ वटा बुँदा सभा समक्ष प्रस्तुत गरेका थिए । नगर प्रमुख खड्काले समृद्ध तुलसीपुर निर्माणको लक्ष्यसहित स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

नगरवासीको चाहना, भावना र नतिजामुखी विकासलाई केन्द्रमा राखेर महत्वाकाङ्क्षी योजना अघि सारिएको उनको भनाइ छ । उनका अनुसार आगामी वर्ष सडक, विद्युत् र खानेपानीको पहुँच नपुगेका क्षेत्रमा विशेष प्राथमिकताका साथ विकास कार्यक्रम सञ्चालन गरिने छ । नीति तथा कार्यक्रममा नागरिकमैत्री, बालमैत्री, लैङ्गिकमैत्री र प्रविधिमैत्री नगर निर्माण गर्दै प्राविधिक शिक्षा तथा गुणस्तरीय सेवा प्रवाहलाई विशेष जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा तुलसीपुर क्षेत्रका गौरवका आयोजनाका रूपमा रहेका मेट्रो कलेज, तुलसीपुर भीमसेन मेट्रो कलेज, तुलसीपुर बहुउद्देश्यीय व्यापारिक भवन, औद्योगिक ग्राम तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको संरक्षण, व्यवस्थापन र सञ्चालनलाई समेटिएको छ ।

यसैगरी आवश्यकता अनुसार वडास्तरमै घुम्ती स्थानीय सरकार सेवा कार्यक्रम सञ्चालन गर्ने, ‘हेलो जनता’ कार्यक्रम लागु गर्ने तथा महिला, दलित, अपाङ्गता भएका व्यक्ति र द्वन्द्वपीडितले नयाँ व्यवसाय दर्ता गर्दा २५ प्रतिशत शुल्क छुट दिने व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी ‘जनताको कर, जनतालाई खबर’ अभियानमार्फत् कर प्रणालीलाई करदातामैत्री बनाउने, स्मार्ट छोरी कार्यक्रमलाई परिमार्जित कार्यविधिसहित निरन्तरता दिने, एक वडा एक गौरवको योजना कार्यान्वयन गर्ने तथा एकभन्दा बढी वडा समेट्ने योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

तुलसीपुर बजार क्षेत्र तथा संवेदनशील स्थानमा सिसीटिभी प्रणाली विस्तार गर्ने, सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराउने, छिमेकी पालिका र निजी क्षेत्रसँगको सहकार्यमा अन्तरपालिका चक्रपथ निर्माण तथा विद्युतीय नगरबस सञ्चालनको अवधारणालाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर प्रमुख खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ ।

नगर सभाको अर्को बैठक असार ८ गते सोमवार बस्ने छ । जसमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गरिने कार्यतालिका रहेको छ । असार १० गते बजेट तथा कार्यक्रम स्वीकृत गर्ने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
राप्ती गाउँपालिकाको नीति कार्यक्रम

राप्ती गाउँपालिकाको दोस्रो गाउँ सभाको नवौं अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विष्टले समृद्ध राप्ती निर्माणका लागि नागरिकको जीवन स्तर उकास्ने, स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रमहरू तय गरिएको बताए ।

उनले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई विकासको आधार स्तम्भका रूपमा अघि बढाइएको उल्लेख गरे । स्वास्थ्य क्षेत्रतर्फ ‘गाउँ गाउँमा विशेषज्ञ, घर घरमा स्वास्थ्य’ अभियान सञ्चालन गरिने, प्रत्येक नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल तयार गरिने तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई राप्ती आधारभूत अस्पतालबाट उपलब्ध हुने सेवा निःशुल्क प्रदान गरिने नीति लिइएको छ ।

विपन्न नागरिकको उपचारका लागि ‘विपन्नका लागि जीवन रक्षा कोष’ स्थापना गरिने, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गरिने तथा गर्भवती, प्रसूति, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिने जनाइएको छ । शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित सामुदायिक विद्यालयमा कक्षा १० सम्मको निःशुल्क शिक्षालाई निरन्तरता दिइने भएको छ ।

विद्यालयको कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने, प्राविधिक शिक्षामा छात्रवृत्ति प्रदान गर्ने तथा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको छ । विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार प्रणाली लागु गरिने उल्लेख गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधारका रूपमा अघि बढाउँदै उत्पादनमा आधारित अनुदान, कृषि उपज सङ्कलन केन्द्र विस्तार, कृषि तथा भेट एम्बुलेन्स सञ्चालन, अर्गानिक खेती प्रवर्धन तथा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषकलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनुका साथै कृषि उत्पादनको बजारीकरणमा विशेष जोड दिइएको छ ।

युवा तथा रोजगार क्षेत्रतर्फ सिपमूलक तालिम, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने भएका छन् । ‘सिप हातमा, रोजगारी साथमा’ अभियानमार्फत् युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिने नीति समावेश गरिएको छ । गाउँपालिकामा लगानी आकर्षित गर्न ‘इन्वेस्ट राप्ती’ अभियान सञ्चालन गरिने जनाइएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि देविकोट क्षेत्रमा प्याराग्लाइडिङ, राप्ती नदीमा बोटिङ तथा ¥याफ्टिङ सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने भएको छ । पूर्वाधार विकासतर्फ राप्ती चक्रपथ निर्माण, सडक स्तरोन्नति, सिँचाइ विस्तार, विद्युत् पहुँच वृद्धि तथा ‘उज्यालो राप्ती’ कार्यक्रमलाई निरन्तरता दिइने नीति ल्याइएको छ ।

सबै मौसममा सञ्चालन हुने सडक सञ्जाल निर्माण तथा खानेपानी र सरसफाइका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । सुशासन र सेवा प्रवाह सुधारलाई विशेष महत्व दिँदै कार्यसम्पादन करार प्रणाली लागु गर्ने, डिजिटल सेवा विस्तार गर्ने, नागरिक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने तथा कृत्रिम बौद्धिकता (एआई) र भौगोलिक सूचना प्रणाली
(जिआइएस)को प्रयोगमार्फत् सेवाप्रवाहलाई थप प्रभावकारी बनाइने भएको छ ।

गढवा गाउँपालिकाको नीति कार्यक्रम

गढवा गाउँपालिकाको गाउँ सभाको १९औँ अधिवेशन अन्तर्गत आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँ सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका हन् ।

नीति तथा कार्यक्रममा स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढवा निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ । गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड दिने नीति अवलम्बन गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले कृषि, पशुपालन तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव पुँजी विकास, स्वास्थ्य, पोषण तथा सामाजिक सुरक्षा, युवा विकास, खेलकुद तथा प्रतिभा प्रवर्धन, रोजगार, उद्यमशीलता तथा सिप विकास, उद्योग, व्यापार तथा सहकारी विकास, पर्यटन, कला, संस्कृति तथा सम्पदा संरक्षण, सुशासन, डिजिटल रूपान्तरण तथा सेवा प्रवाह सुधार, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक न्याय र राजस्व सुदृढीकरण तथा संस्थागत क्षमता विकासलाई प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ ।

गाउँपालिकाले कृषि उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण तथा बजार व्यवस्थापनमा जोड दिँदै कृषकको आयस्तर वृद्धि गर्ने योजना अघि सारेको छ । शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण सिकाइ तथा मानव पुँजी विकासमा लगानी बढाइने नीति लिइएको छ । यसैगरी स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति तथा विपन्नवर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

युवालाई सिपमूलक तालिम, स्वरोजगार तथा उद्यम विकासका कार्यक्रममार्फत् उत्पादनशील क्षेत्रमा आबद्ध गराउने, स्थानीय उद्योग, व्यापार र सहकारी क्षेत्रलाई प्रवर्धन गरी आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ । पर्यटन, कला तथा संस्कृतिको संरक्षण र प्रवर्धनमार्फत् स्थानीय पहिचान स्थापित गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ । सडक, पुल, भवन, खानेपानी तथा सरसफाइलगायतका पूर्वाधार निर्माणलाई निरन्तरता दिइने भएको छ । वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ । गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव कृष्णप्रसाद पौड्याल, बरिष्ठ लेखा अधिकृत खिमलाल वली, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, पत्रकार, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

गाउँसभाको अर्को बैठक असार ७ गते बस्ने तय भएको छ । आगामी बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट, योजना तथा कार्यक्रममाथि थप छलफल गरी आवश्यक निर्णय गरिने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले जानकारी दिए ।