मन शान्त गर्ने उपाय

एकराज शर्मा अधिकारी

मन चञ्चल छ, चञ्चल मनले जस्तो भावना गर्छ, त्यस्तै रुप देखिन्छ । जस्तो वायु सुगन्धसँग मिले सुगन्धी हुन्छ दुर्गन्धसँग मिले दुर्गन्धी नै हुन्छ । त्यस्तै मन जुन पदार्थसँग मिल्छ, त्यो त्यस्तै हुन्छ । मन नभइकन शरीरले मात्र केही काम गर्न सक्दैन ।

फूल र सुगन्ध अभिन्न हुन्, सुगन्धलाई फूलबाट अलग गराउन सकिँदैन । त्यस्तै मन जतातिर जान्छ, शरीर र इन्द्रीय त्यतैतिर जान्छन् । मन चलेको छ भने इन्द्रीय नचले पनि कार्य हुन्छ जस्तो स्वप्नमा शरीर चलेको हुँदैन । मनले काम गरिरहेको हुन्छ । मन चलेको छैन भने इन्द्रीय चलेर मात्र काम लाग्दैन ।

सबै कार्यको बिच मन हो । मनद्वारा सबै कार्य सम्पन्न हुन्छन् । मन धर्मतिर लाग्यो भने धर्म कार्य सिद्ध हुन्छ । मन धनतिर लाग्यो भने, धन कमाउन सकिन्छ । मन भोगतिर लाग्यो भने इच्छा पैदा हुन्छ । मन मोक्षतिर लाग्यो भने मोक्ष सिद्ध हुन्छ । जतातिर मनको दृढ भावना हुन्छ, त्यही काम सिद्ध हुन्छ ।

शास्त्रकारहरुले पनि आआफ्नो मनको इच्छा अनुसार मत बनाएका छन् । सिद्धान्त बनाएका छन्, एउटाको सिद्धान्त अर्कासँग मिल्दैन । पुराना आचार्य कपिल ऋषिले भन्नुभएको छ– प्रकृति दुईवटा बाटोबाट हिड्छ, एक अनुलोम, दोस्रो प्रतिलोम ।

अनुलोमको बाटोबाट मन अत्तरमुखी हुन्छ, मन आत्मातिर लाग्छ, शुद्ध आत्माको अनुभव हुन्छ । यो मोक्षको बाटो हो । प्रतिलोम विधिबाट मन संसारित लाग्छ । यो दुःखको बाटो हो । अनुलोम विधिमा मन शान्त गर्ने बाटो हो ।

वेदान्त वादीहरुको सिद्धान्त यस्तो छ– मन समदमाडी साधन सम्पन्न भएर अन्तरमुख भएपछि ब्रहम स्वरुपको ज्ञान हुन्छ भन्दछन् । ब्रहम ज्ञान नै मोक्षको साधना हो भन्दछन् । विज्ञान वैज्ञानिकको भनाई अनुसार अशुद्ध बुद्धि संसारतिर लाग्छ, शुद्ध बुद्धिमा स्वरुपको ज्ञान हुन्छ र मोक्ष प्राप्त हुन्छ भन्दछन् ।

यस्तै आस्तिक दर्शनकारहरुले, निमाम्सकहरुले, पतञ्जलीले, वैशेषिकहरुले, नैयायिकहरुले पनि आआफ्नो मतको मिश्रय अनुसार शास्त्रको रचना गरेका छन् । तर, वास्तवमा आत्मा स्वरुपमा न कुनै मत छ, न कुनै बाँध, न कुनै शास्त्र छ । मनमा निमग्न भएर विभिन्न मत खडा गरेका छन् । कसैलाई निम प्यारो लाग्छ, कसैलाई मह प्यारो लाग्छ ।

निम खाने किरोलाई मह तिरो हुन्छ । मह खाने किरालाई निम तितो हुन्छ । विरहिणी स्त्रीलाई चन्द्रमाको शीतलताले पनि पोल्छ । त्यस कारणले यो मन संसारको भावना मात्र हो । जसले जस्तो भावनाले हेर्छ त्यस्तै देख्छ । दृश्यको भावनाले हेरे संसार दुःखमय देखिन्छ । आत्माको भावनाले हेरे, द्रष्टाको भावनाले झै भ्रम हट्छ र मन आत्मा तदाकार हुन्छ र शान्ति प्राप्त हुन्छ ।

मनबाट संसारको भावना हटेपछि द्रष्टाको उदय भएपछि दृश्यको अभाव हुन्छ जस्तो भावना गरे त्यस्तै देखिन्छ । फलामलाई फलामले काटे झै भावनालाई भावनाले नै काट्नुपर्छ । परस्त्रीलाई काम बुद्धिले हेरे उसको स्पर्श आनन्ददायक हुन्छ । जब त्यही स्त्रीमा माटाको दृष्टिले हेरे काम भावना नष्ट हुन्छ । त्यस कारण जस्तो दृष्टिले हेरे त्यस्तै देख्छ ।

जगतलाई असथ हो भन्ने जानेर परिआएको व्यवहार गरे मन शान्त हुन्छ । बहिर दृष्टिबाट व्यवहार गरे पनि मनमा राग द्वेषले स्पर्श गर्न नसकोस् ? दृश्यलाई असत हो भन्ने जान्नुपर्छ । संसारसित आँखा चिम्लनुपर्छ । भोगमा अभोग र रसलाई मिरस सम्झे शुद्ध बुद्धिको उदय हुन्छ र मन शान्त हुन्छ ।

संसार रुपी जालमा जीरुपी पंक्षी फसेको छ । वैराग्य रुपीमा मुसो आएर जाल काटिदियो भने जीव बन्धन रहित हुन्छ । मानिस आशा र इच्छामा मुछिएका छन् । इन्द्रीयहरु महाकृत्वघ छन् । मनलाई जितेपछि सबै मित्र हुन्छन्, मनलाई जित्न नसके सबै शत्रु हुन्छन् । सांसारिक वासना मनमा रहेसम्म सुवर्णको महलमा बसे पनि आनन्द हुँदैन । हाम्रो मनलाई वासनारुपी डोरीले बाँधेको छ । हाम्रो द्धेहमाा अभिमान छ । अभिमानलाई हटाउन सके मन शान्त हुन्छ ।