प्रेरणाको विन्दु : उपहारको मूल्य

तुफानबाबु श्रेष्ठ

मानिसको महानता उसको धन–सम्पत्तिले होइन, उसको सोच, व्यवहार र हृदयमा रहेको श्रद्धा तथा समर्पणले मापन गरिन्छ । संसारमा धेरै मानिसहरू धनलाई नै सबैभन्दा ठूलो शक्ति ठान्छन्, तर वास्तविक जीवनमा धनभन्दा ठूलो कुरा प्रेम, निष्ठा, परिश्रम र विनम्रता हो ।

सच्चा दान वा उपहारको मूल्य त्यसको बाहिरी आकार वा मूल्यमा नभई त्यसमा समेटिएको भावना र त्यागमा निहित हुन्छ । प्रस्तुत कथा ‘उपहारको मूल्य’ ले यही गहिरो जीवन सत्यलाई उजागर गर्दै श्रद्धा, विनम्रता र निःस्वार्थ सेवाको महत्वलाई उजागर गर्दछ ।

प्राचिन समयमा एउटा घना र शान्त जङ्गलको बिचमा एक महान् महात्मा बस्दथे । उनको ज्ञान, तपस्या र आध्यात्मिक शक्तिका कारण टाढा–टाढाबाट मानिसहरू उनको दर्शन गर्न आउँथे । उनका धेरै शिष्यहरू थिए, तर तीमध्ये तीन जना शिष्य उनीप्रति विशेष रूपमा समर्पित थिए ।

ती तीन शिष्यहरूको आर्थिक अवस्था भने निकै फरक थियो । कीर्तिमान र कार्तिकेय अत्यन्त गरिब थिए । उनीहरू भिक्षा मागेर जीवन निर्वाह गर्थे । अर्कोतर्फ समस नामक तेस्रो शिष्य एक सम्पन्न नगरको प्रतिष्ठित र धनी व्यापारी थियो । ऊसँग अथाह धन–सम्पत्ति थियो र समाजमा उसको ठूलो मान–प्रतिष्ठा थियो ।

एक दिन महात्माले आफ्नो कुटीको मर्मत तथा आश्रममा आयोजना हुने भण्डाराका लागि केही सहयोग आवश्यक भएको कुरा शिष्यहरूलाई बताए । उनले तीनैजनालाई बोलाएर आफ्नो आवश्यकता सुनाए ।

गुरुको कुरा सुन्नासाथ धनी शिष्य समसले विलम्ब नगरी आफ्नो रेशमी थैली खोल्यो । उसले चम्किला स्वर्ण मुद्राहरू गुरुका चरणमा राख्दै गर्वका साथ भन्यो– ‘गुरुदेव, तपाईं कुनै चिन्ता नगर्नुहोस् । मसँग यति धेरै धन छ कि म एक्लैले यो आश्रमलाई राजमहल जत्तिकै भव्य बनाउन सक्छु ।’ महात्माले उसको कुरा शान्त भावले सुने । उनी मुस्कुराए, तर कुनै प्रतिक्रिया जनाएनन् ।

उता कीर्तिमान र कार्तिकेय भने चिन्तित भए । उनीहरूसँग न त सुन थियो, न बहुमूल्य वस्तु । गुरुलाई केही दिन नसक्ने पीडाले उनीहरूको मन भारी भयो । त्यो रात उनीहरूलाई निद्रा पनि लागेन । भोलिपल्ट बिहान उनीहरूले एउटा निर्णय गरे । ‘हामीसँग धन छैन, तर श्रम र श्रद्धा त छ,’ उनीहरूले सोचे ।

त्यसपछि कीर्तिमान दिनभर जङ्गलमा घुमेर आश्रमको भान्साका लागि दाउरा सङ्कलन गर्न लाग्यो । ऊ जङ्गलका कुनाकाप्चासम्म पुग्यो र धेरै मेहनत गरेर दाउराको भारी तयार ग¥यो ।

त्यसैगरी कार्तिकेय टाढाका पहाडी क्षेत्रसम्म पुग्यो । उसले स्वच्छ झरनाको पानी ल्यायो र जङ्गलमा पाइने ताजा फलहरू सङ्कलन ग¥यो । दिनभरको कठिन परिश्रमपछि उनीहरू साँझ आश्रम फर्किए । जब समसले उनीहरूको उपहार देख्यो, उसले व्यंग्य गर्दै भन्यो– ‘गुरुदेवलाई यस्ता साधारण दाउरा, पानी र फलको के आवश्यकता छ ? मैले त सुनका मोहरहरू अर्पण गरेको छु ।’

साँझपख महात्माले तीनै शिष्यलाई आफ्नो सामु बोलाए । उनले समसले ल्याएको स्वर्ण मुद्रालाई एकातिर राखे र कीर्तिमान तथा कार्तिकेयले ल्याएका दाउरा, फल र पानी अर्कोतिर राखे । त्यसपछि उनले गम्भीर स्वरमा भने– ‘आज म तिमीहरूका उपहारको वास्तविक मूल्य बताउँछु ।’

महात्माले समसतर्फ हेर्दै भने( ‘पुत्र, तिमीले धेरै धन दिएका छौँ, तर त्यससँगै तिम्रो अहंकार पनि आएको छ । तिमीले यो दान सेवा र श्रद्धाभन्दा पनि आफ्नो सम्पन्नता प्रदर्शन गर्ने भावनाले दिएका छौँ । दानमा विनम्रता हुनुपर्छ, प्रदर्शन होइन ।’

त्यसपछि उनले गरिब शिष्यहरूतर्फ सङ्केत गर्दै भने– ‘यी दुवैले आफ्नो क्षमताभन्दा धेरै ठूलो योगदान दिएका छन् । यिनका दाउरामा दिनभरको पसिना मिसिएको छ । यी फलहरूमा प्रेम छ, र यो पानीमा समर्पणको मिठास छ । यिनले धन होइन, आफ्नो श्रम, समय र हृदय अर्पण गरेका छन् ।’

गुरुको वचन सुनेपछि समसको टाउको लज्जाले झुक्यो । उसले पहिलो पटक महसुस ग¥यो कि उसका स्वर्ण मुद्राहरू चम्किए पनि तिनमा प्रेम र विनम्रताको अभाव थियो । उसलाई आफ्नै अहंकारप्रति पश्चात्ताप भयो । त्यस दिनदेखि समसको व्यवहार परिवर्तन भयो । उसले बुझ्यो कि सच्चा दान धनको होइन, मनको हुन्छ । श्रद्धा र समर्पणले भरिएको सानो उपहार पनि अहंकारले भरिएको ठूलो दानभन्दा धेरै मूल्यवान हुन्छ ।

उपहारको मूल्य’ कथाले हामीलाई जीवनको अत्यन्त महत्वपूर्ण शिक्षा दिन्छ । ईश्वर, गुरु वा समाजलाई प्रभावित गर्ने कुरा हाम्रो धन–सम्पत्ति होइन, हाम्रो भावना, श्रद्धा र निःस्वार्थ समर्पण हो । अहंकारले दानको महत्व समाप्त गरिदिन्छ भने विनम्रता र प्रेमले सामान्य वस्तुलाई पनि अमूल्य बनाइदिन्छ । त्यसैले जीवनमा ठूलो बन्न धनको होइन, ठूलो हृदयको आवश्यकता हुन्छ । सच्चा उपहार त्यो हो, जसमा स्वार्थ होइन, सेवा; प्रदर्शन होइन, प्रेम; र अहंकार होइन, विनम्रता लुकेको हुन्छ ।