दाङ, ५ असार । रोल्पाको थबाङमा संजीवनीद्वारा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित संजीवनी टिचिङ हस्पिटल घोराही र थवाङ गाउँपालिकाको संयुक्त आयोजनामा रोल्पाको थवाङ आधारभूत अस्पताल, झकेबाङमा दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर भएको हो ।
२०८३ साल असार ४ र ५ गते सञ्चालन भएको उक्त शिविरबाट सात सयभन्दा बढी सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति, शिशु तथा बालरोग, नाक–कान–घाँटी तथा रेडियोग्राफी सेवासहित विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।
शिविर अवधिभर बिरामीहरूलाई विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परीक्षण, भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको थियो। शिविरमा स्थानीय बासिन्दासँगै दुर्गम बस्तीबाट समेत ठूलो संख्यामा नागरिक सहभागी भएका थिए। शिविर उद्घाटन कार्यक्रममा बोल्दै थवाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले स्वास्थ्य संस्थाको पहुँच सीमित रहेका क्षेत्रमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।
उनले नागरिकले विशेषज्ञ सेवा, औषधि, भिडियो एक्स–रे तथा ल्याब परीक्षणसहित उपचार र परामर्श निःशुल्क पाउनु स्थानीयका लागि ठूलो राहत भएको
बताए । संजीवनी टिचिङ हस्पिटलका मेडिकल डाइरेक्टर डा बाचसपति सुवेदीले शिविर सञ्चालनका लागि सहकार्य गर्ने थवाङ गाउँपालिका, जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा सम्पूर्ण सहयोगी टोलीप्रति धन्यवाद व्यक्त गर्दै अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम तथा विपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यलाई प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा अस्पताल व्यवस्थापक तथा सहप्राध्यापक मदनप्रसाद पन्थीले शिविरको मुख्य उद्देश्य निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवामा पहुँच विस्तार तथा आवश्यक परेमा थप उपचारका लागि प्रेषण सेवा उपलब्ध गराउनु रहेको बताए ।
शिविर उद्घाटन सत्रको सञ्चालन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले गरेका थिए भने समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगर, स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुन र नेपाल मगर संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा रोल्पाली सेवा समाजका संरक्षक दर्जित रोका मगरले गरेका थिए ।