लुम्बिनी क्लासिक राष्ट्रिय शारीरिक सुगठन र महिला एथलेटिक फिजिक्स प्रतियोगिताको तयारी पूरा

दाङ,५ असार । दाङको घोराहीमा हुन थालेको लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ को तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा असार ६ गते शनिवार घोराही उपमहानगरपालिका–१४ स्थीत सभागृहमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा हुन थालेको प्रयोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जिल्लामै पहिलो पटक हुन थालेको शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगितामा ओभरल बिजेता हुने खेलाडीले एक लाख पुरसकार प्राप्त गर्ने छन् । पुरुष शारीरिक सुगठनतर्फ प्रथम हुने खेलाडीले १५ हजार रुपैयाँ, द्वितीय हुने खेलाडीले १० हजार रुपैयाँ र तृतीय हुने खेलाडीले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला एथलेटिक फिजिक्सतर्फ प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिएका छन् । सदस्य सचिव गौतमका अनुसार प्रतियोगितामा पुरुष तथा महिला खेलाडीले ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथि गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

शारीरिक सुगठन तथा फिटनेस खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव गौतमले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागीताका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरु घोराही आइसकेका छन् । प्रतियोगिता शनिवार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।