भुवनेश्वरी भगवती मन्दिरमा पूर्वाधार निर्माण

तुलसीपुर, ४ असार । भुवनेश्वरी भगवती मन्दिरको संरक्षणको काम सम्पन्न भएको छ ।

तुलसीपुर –४ रक्षाचौरमा रहेको भुवनेश्वरी भगवती मन्दिरमा करिव ९ लाख लागतमा पर्यटकिय पूर्वाधार निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुव गौतमले जानकारी दिएका छन् ।

लुम्विनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको ८ लाख ७६ हजार बजेटबाट मन्दिरको पूर्वाधार निर्माण गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

सो रकमबाट मन्दिरको मुख्य गेट निर्माण, तारवार र प्रतिक्षालय निर्माणको काम सम्पन्न भएको हो । २०२२ सालमा सल्यानको प्रसिद्ध खैरावाङ भगवती मन्दिरको शाखाको रुपमा तुलसीपुर–४ रक्षाचौरमा सो मन्दिर स्थापना गरिएको थियो । मन्दिरमा पर्यटकिय पूर्वाधार निर्माण बजेट आएसंगै मन्दिर परिसरमा तारवार गेट निर्माण संगै भक्तजनहरुलाई बस्नका लागि प्रतिक्षाय निर्माण भएकाले केहि सहज भएको अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

‘ प्राप्त बजेटबाट करिव एक सय बढी भक्तजनहरु अटने प्रतिक्षालयका साथै मन्दिरको जग्गा संरक्षणको गर्ने काम भएको छ –अध्यक्ष गौतमले भने ।’ उनका अनुसार सवैको आस्थाको केन्द्रको रुपमा रहेको मन्दिरमा सिडि निर्माणका साथै अन्य संरचनाहरु निर्माणका लागि बजेट आवश्यक भएको बताए ।

त्यस्तै मन्दिर व्यवस्थापन समितिले बजेट विनियोजन गरि सहयोग गर्ने लुम्विनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका साथै पर्यटकिय पूर्वाधार निर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । ‘अझै यस मन्दिरको विकास विस्तार र संरक्षणका लागि बजेट आवश्यक छ, सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छु, थप सहयोगका लागि सवैलाई आग्रह गर्न चाहान्छु – अध्यक्ष गौतमले भने ।’