दाङ ड्रिम प्रपर्टीद्वारा अपांग बालबालिकादेखि एकल महिलालाई सहयोग

दाङ, ४ असार । घोराहीमा रहेको दाङ ड्रिम प्रपर्टी प्रालिले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शारिरीक रुपमा अशक्त बालबालिकादेखि एक महिलालाई खाद्यान्नसँगै शैक्षिक सामाग्री सहयोग गरेको छ ।

कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बुधवार घोराही उपमहानगरपालिका–४ गोग्ली निवासी शारीरिक रूपमा अपांग युवराज विकलाई ह्वीलचेयर र खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी घोराही उपमहानगरपालिका–१४ स्थित बालमन्दिर विद्यालयमा अध्ययनरत ३५ जना शारीरिक रूपमा अपांग बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमै पुगेर प्रालीले सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

त्यसैगरी प्रालीले घोराही–१७ सिस्नेखोला निवासी एकल महिला हरिसरा बुढालाई पनि खाद्यान्न सहयोग प्रदान गरिएको छ । आर्थिक रुपमा विपन्न महिलालाई खाद्यान्नसँगै कपडा सहयोग गरेको दाङ ड्रिम प्रपर्टी प्रालिका सञ्चालक शेखर क्षेत्रीले जानकारी दिएका छन् । उनले व्यापार व्यवसायसँगै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । उक्त सामाग्री दाङ ड्रिम प्रपर्टी प्रालिका सञ्चालक शेखर क्षेत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतको उपस्थितिमा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

दाङ ड्रिम प्रपर्टी प्रालि दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको रियल इस्टेट तथा घर–जग्गा कारोबार गर्ने कम्पनी हो । कम्पनीले घोराहीसँगै तुलसीपुरमा शाखा कार्यालय सञ्चालन गर्दै व्यावसायिक भवन तथा आवासीय घर–जग्गाको खरिद–बिक्री सेवा प्रदान गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक क्षेत्रीसहित कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।