‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ पुस्तकको बिमोचन

गोरक्ष समाचारदाता

दाङ, ४ असार । पत्रकार नुमाकान्त पौडेलद्वारा लिखित ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ पुस्तकको विमोचन गरिएको छ । कोरोना महामारी पछिको अवस्थामा अनलाइन मिडियाले छापा सञ्चारमाध्यममा पारेको प्रभावबारे अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको पुस्तक बुधवार घोराहीमा विमोचन गरिएको हो ।

करिब २५ वर्षसम्म कान्तिपुर पब्लिकेसनको न्युजरूममा समाचारकर्मीका रूपमा कार्यरत पौडेलले सञ्चार क्षेत्रको बदलिँदो प्रवृत्ति र चुनौतीलाई केन्द्रमा राखेर पुस्तक तयार पारेका हुन् । पुस्तकको विमोचन गोरक्ष दैनिकका सल्लाहकार सम्पादक तथा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले संयुक्त रूपमा गरेका थिए ।

विमोचन कार्यक्रममा बोल्ने वक्ताले परम्परागत सञ्चारमाध्यम, विशेष गरी छापामाध्यम आर्थिक तथा प्रविधिगत सङ्कटबाट गुज्रिरहेका बेला पुस्तकले नेपाली प्रिन्ट मिडियाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले पुस्तकले सञ्चारमाध्यमका लगानीकर्ता, प्रकाशक, सम्पादक तथा सञ्चारकर्मीको भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको बताए ।

पुस्तकमा अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव, सञ्चारसम्बन्धी प्रकाशित पुस्तकको समीक्षा, पुस्तक तयारीका क्रममा गरिएको अनुसन्धानको विश्लेषण, नागरिक पत्रकारिताको विकास, प्रभाव तथा वर्तमान चुनौती, निष्कर्ष र सुझाव समेटिएको लेखक पौडेलले कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले आर्थिक सङ्कटका कारण कमजोर बन्दै गएको प्रिन्ट मिडियालाई पुनः सशक्त बनाउन पुस्तक उपयोगी हुने बताए ।

सल्लाहकार सम्पादक एवम् प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष डा. गौतमले नेपाली प्रिन्ट पत्रकारिताको वर्तमान अवस्था, भोगाइका समस्या तथा समाधानका उपायहरूको विश्लेषण गरेर पुस्तक तयार पारिएकाले पुस्तक पठनीय भएको बताए । उनले पत्रकारितामा संलग्न वर्तमान पुस्ताका साथै आगामी पुस्ताका लागि पनि पुस्तक सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने बताए ।

डा. गौतमले गोरक्ष दैनिकले हालसम्म पाँच वटा पुस्तक प्रकाशन गरिसकेको जानकारी दिँदै समाचार प्रकाशनसँगै अध्ययन, अनुसन्धानको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका थिए । कार्यक्रममा लेखक पौडेलले पुस्तक लेखनका क्रममा प्राप्त अनुभवहरू सुनाएका थिए ।