रैथाने खानाको संरक्षण र पुस्तान्तरण गर्न महोत्सवको आयोजना : अध्यक्ष बुढा[अन्तर्वार्ता]

दाङको घोराहीमा रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी–२०८३ आज सञ्चालन हुन थालेको छ । दाङ देउखुरी होटेल व्यवसायी समितिको ३२औँ स्थापना दिवसको अवसरमा आज असार ३ गते एक दिन रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी गर्न थालिएको हो । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने प्रदर्शनी आयोजना गरिने भएको हो । यस प्रकारको कार्यक्रमले स्थानीय खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन गर्न के कस्तो सहयोग पुग्ला भन्ने विषयमा दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढासँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सारसंक्षेप ।

— किन रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन महोत्सव आयोजना गर्नु भएको हो ?

रैथाने खाना संरक्षण, पुस्तान्तरण, स्थानीय उत्पादनको प्रचारप्रसार गर्न, पर्यटन प्रवर्धन गर्न तथा सांस्कृतिक प्रवर्धन, उद्यमशिलताको विकास, स्थानीय कला संस्कृतिको र परमपरागत जर्गेना कार्यक्रमको आयोजना गरिएको हो ।

— रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन महोत्सवमा के–के हुन्छ ?

रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्धन प्रदर्शनी कार्यक्रम आयोजना गरेर नयाँपन दिन थालेका हौँ । स्थापना दिवसको अवसर पारेर यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । दाङमा बसोबास गर्ने विभित्र जातजाति र उनीहरूको संस्कार संस्कृतिसँग जोडिएका थारू, मगर, नेवारी तथा मुस्लिम समुदायमा प्रचलित विभिन्न खानासँगै प्रदर्शन गरिने छ । यी समुदायले आआफ्नो समुदायका रैथाने खाना प्रदर्शन गर्ने छन् ।

महोत्सवमा राखिने र अवलोकनकर्तालाई त्यसको स्वाद चखाउने भएको छ भने बिक्री समेत गरिने छ । जसले महोत्सवसम्म आउनले किनेर खान समेत पाउने भएका छन् । यस प्रकारको कार्य नयाँपन दिन खोजिएको हो । त्यसैगरेर कार्यक्रममा स्थानीय कलाकारले आआफ्नो समुदायको कल्चर प्रस्तूति राख्नु हुनेछ । यसले स्थानीय कला संस्कृति संरक्षणमा सहयोग पुग्ने छ । जिल्लामा यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गर्न थालेका हौँ ।

— जिल्लामा रहेका ठुला होटेलको अवस्था कस्तो रहेको छ ?

जिल्लामा करिब २० जति ठुला होटेल रहेका छन् । अहिले कोभिड तथा आर्थिक सङ्कटको कारण हरेक क्षेत्रमा असर परेको छ । त्यसको प्रभाव ठुला होटेल क्षेत्रमा पनि देखिएको छ । यसबाट हामी पनि अछुतो छैनउ । अहिले जसोतसो चलेका छन् । कर्मचारीको खर्च तथा व्यवस्थापन गर्न उनीहरूलाई ठिक्क रहेको छ ।

— होटेल क्षेत्रलार्ई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएकोे छ ?

होटेल भनेपछि सबैलाई एउटै नजरले हेर्ने गरेको पाइन्छ । होटेल भनेको मानिसको आफ्नो घर पछिको दोस्रो घर हो । यसलाई पाहुना घरको रूपमा समेत लिइने गरिन्छ । पहिल्लो समय होटेललाई हेर्ने दृष्टिकोणमा समेत फरक आएको छ । नागरिकमा सचेतना तथा लगानी बढेसँगै हेर्ने दृष्टिकोणमा समेत सकारात्मक बन्दै गएको हो । केही समय अघिसम्म होटेल व्यवसायलार्ई हेर्ने दृष्टिकोण भने फरक रहेको थियो ।

यसका लागि व्यवसायीले समेत आफ्नो व्यवसायलार्ई सुधार लगेर लग्न जरुरी रहेको छ । आफ्नो क्षेत्रको सुधार गर्न आफै नै लाग्नु पर्दछ । आफू लागेमा मात्र होटेल क्षेत्रमा हुने विकृति रोक्न सकिन्छ । केही होटेल व्यवसायीहरूको कारणले सिङ्गो होटेल व्यवसाय नै बदनाम हुने गरेका छन् । यो राम्रो पक्ष होइन् । पारिवारिक वातावरण बस्ने वातावरण हुनुपर्दछ ।

— जिल्लामा व्यवसायको अवस्था कस्तो रहेको छ ?

पछिल्लो सयमा लगानी गर्नेहरूको सङ्ख्यामा बृद्धि भएको छ । खासगरी साना होटेलमा लगानी बढेको छ । रेस्टुरेण्टमा लगानी बढिरहेको छ । अहिले अधिकांश युवाहरू यस क्षेत्रमा प्रवेश गर्नुभएको छ । युवाहरूको सङ्ख्यामा वृद्धिसँगै यस क्षेत्रको सुधारमा समेत सहजता भएको छ । राज्यकोतर्फबाट व्यवसायीहरूले सहयोग पाउन सकेका छैनन् ।

अहिले पनि घडी हेरेर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था छ । साढे १० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाइने गरेको छ । यसका बारेमा पटक–पटक आवाज उठाए पनि सुनाइ हुनसकेको छैन । व्यवसायमा समयको सीमा लगाउने गरिएको छ । यसो गर्न नसक्दा होटेल व्यवासायीले समस्या भोग्दै आएका छन् । राज्यले अभिभावकीय जिम्मेवारी निर्वाह पूरा गर्न सकेको छैन । काम गर्ने दक्षजन शक्ति समेत पाउन समस्या रहेको छ । आफैले जनशक्ति उत्पादन गर्नु अवस्था रहेको छ ।

आफैले जनशक्ति उत्पादन गरेर काम गर्दा यसले केही मात्रामा भए पनि सहज भए पनि समस्याको समाधान भने हुन सकेको छैन । उत्पादन भएका दक्षजन शक्ति बाहिर जाने क्रम बढ्दै गएको छ । त्यसैले गर्दा जिल्लामा जनशक्तिको समयस्या हुने गरेको हो । देश बाहिर गएर काम गर्दा धेरै पैसा कमाइने तर जिल्लामा बाहिरभन्दा कम हुने भएकाले बाहिर जानेको सङ्ख्या बढेको हो । होटेल तथा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन ।

— राज्यको तर्फबाट होटेल व्यवसायीलार्ई के गरिदिन आवश्यक छ ?

होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतामा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्न वातावरणको सिर्जना गरिदिने, तालिमको व्यवस्था गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुन सकेको छैन । जसले गर्दा लगानी गरेकाको लगानी जोखिम रहेको छ भने नयाँ लगानी गर्न चाहने समेत पाउन छाडेका छन् । यस प्रकारको कार्य राम्रो होइन ।

होटेलको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ । कस्तो प्रकारको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्न सकेमा विकृति रोक्न समेत सहयोग पुग्ने छ । पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्दछ । यसका लागि पर्यटन क्षेत्रमा पूर्वाधारको विकास गर्न जरुरी रहेको छ । पर्यटक भित्र्याउन सकेमा होटेल व्यवसाय चलाउन सकिने छ ।

पर्यटक आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाइ सेवाको सुविधा हुनुपर्दछ तर दाङमा अहिले त्यस प्रकारको अवस्था देखिँदैन । नियमित हवाइ सेवा छैन । सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् । भारतबाट आउने पर्यटकले समेत विभिन्न नाममा सास्ती भोग्दै आएका छन् ।

पर्यटकले दुःख पाउँदा फेरि उनीहरू आउँदैनन् । जिल्लामा भारतीय पर्यटकहरू सहज रूपमा भित्र्याउन सकेमा यस क्षेत्रको विकासमा सहयोग पुग्ने गर्दछ । पर्यटक भित्र्याउनका लागि जिल्लामा धेरै धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरू रहेका छन् । यसको सदुपयोग हुन सकेको छैन् । पर्यटक सङ्ख्यामा वृद्धि भएमा होटेल क्षेत्र मात्र नभई सम्रग जिल्लाको आर्थिक चलायमान गराउन भूमिका खेल्दछ ।

— तपाइहरूले होटल व्यवसायमा के कस्ता काम गर्नुभएको छ ?

हामीले होटेल व्यवसायलाई व्यवस्थित गर्न विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएका छाँै । राज्यका निकायसँग सहकार्य गरेर सुधारको लागि काम गरिरहेका छाँै । व्यवसायीलाई सरसफाइ, व्यवहारमा सुधार ल्याउनका लागि प्रयास जारी रहेको छ । केही सुधार भएको अझै पनि सुधार गर्न बाँकी रहेको छ ।

— अन्त्यमा केही भन्नु छ ?

तपाई तथा गोरक्ष परिवारलाई धन्यवाद दिन चाहन्छु । होटेल व्यवसायी समिति तथा मेरो विचार राख्ने अवसर दिनुभएकोमा । होटेलमा पारिवारिक वातावरण बनाउनु पर्दछ । राज्यले व्यवासायलाई सहज रूपमा शुलभ रूपमा ऋण पाउने व्यवस्था मिलाइ दिनुपर्दछ ।

लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्दछ । जबसम्म लगानी गर्ने वातावरणको निर्माण हुँदैन तबसम्म कसैले पनि लगानी गर्दैनन् । लगानी गर्नेको लागि राज्यले निजी क्षेत्रलाई आकर्षक गर्ने योजना ल्याउनु जरुरी रहेको छ ।

पर्यटक भित्र्याउन सकेमा होटेल व्यवासाय चलाउन सकिने छ । व्यवसाय चलेमा मात्र देशमा रोजगारीको सिर्जना हुने तथा आर्थिक रूपमा देशलाई अगाडि बढाउन सकिन्छ । हामी राज्यसँग सहकार्य गरेर अगाडि बढ्नका लागि सधै तयार रहेका छाँै ।