शिवराज खनाल
क्रोयोसिया, २ असार । सानै उमेरदेखि भलिबल खेलप्रति रुचि राख्दै आएका संखुवासभाका दिपक राई अहिले युरोप पुगेको करिब चार वर्ष भइसकेको छ । उनी हाल क्रोयोसियाको एक कम्पनीमा काम गर्दै आएका छन् ।
विदेश जानु उनको रहरभन्दा पनि परिस्थितिको आवश्यकता बनेको उनी बताउँछन्। व्यस्त कामका बाबजुद हप्ताको पाँच दिन कामपछि समय निकालेर फेरि भलिबल कोर्टमै फर्किन्छन् । राईका लागि भलिबल केवल खेल मात्र होइन, बाल्यकालको सम्झना पनि हो । उनी सानो हुँदा गाउँघरबाट एक–दुई हप्ताका लागि टाढा प्रतियोगिता खेल्न चामल बोकेर साथीहरूसँग हिँडेको रमाइलो अनुभव अझै सम्झन्छन् ।
अहिले देश टाढा भए पनि त्यो खेलप्रतिको मोह भने उस्तै छ । त्यस्तै ताप्लेजुङका दिपक गुरुङ पनि करिब चार वर्षदेखि क्रोयोसियामै छन् । फुर्सद मिल्ना साथ उनी मैदानमा पुगेर भलिबल खेल्न रुचाउँछन् । उनका अनुसार खेलले कामको थकान बिर्साउन मात्र होइन, आफ्नै मान्छे भेटिएको अनुभूति पनि दिलाउँने बताउँछन ।यसै समूहमा रहेका तिलक पाइजा र कैलालीका प्रकाश गिरी पनि खेलप्रति उत्तिकै आकर्षित छन् । उनीहरूका अनुसार परदेशमा एउटै भाषा, संस्कृति र भावना बाँड्ने साथीहरू भेटिनु सजिलो हुँदैन, तर भलिबलले त्यो दूरी छोट्याइदिएको छ ।
तस्बिरमा देखिएझैं खुला आकाशमुनि, कामको चापबाट केही समय निकालेर खेलिरहेका यी नेपाली युवाहरूका लागि भलिबल केवल प्रतिस्पर्धा होइन—भावना साट्ने माध्यम बनेको छ । कहिलेकाहीँ सामान्य बाजी राखेर खेल्ने गरे पनि उनीहरूको मुख्य उद्देश्य रमाइलो, आत्मीयता र सम्बन्धलाई अझ बलियो बनाउनु हो । विदेशको व्यस्त जीवनबीच यस्ता खेल गतिविधिले नेपाली युवाहरूलाई एकअर्कासँग जोड्ने, नयाँ चिनजान बनाउने र आफ्नोपनको अनुभूति दिलाउने काम गरिरहेको छ । ‘खेलले सम्झाइरहेको छ—देश, टाढा भए पनि नेपालीपन र सम्बन्ध कहिल्यै टाढा हँुदैन रहेछ’,उनी भन्छन ।