मानपुरमा आधारभूत पत्रकारिता तालिम सुरु

नारायण नेपाल
दाङ, २ असार । तुलसीपुर उपमहानगरपालिका–१७ को मानपुरमा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन दाङ शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका–१७ वडा कार्यालयको सहयोगमा मंगलवारदेखि दुई दिने पत्रकारिता सम्वन्धी तालिम सुरु भएको हो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१७ का वडा अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यता भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकलाई सही, सन्तुलित र विश्वसनीय सूचना प्रवाह गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका–१७ का वडा अध्यक्ष पुरीले पत्रकारिता समाजको ऐना भएकाले आधारभूत पत्रकारिता सम्बन्धी ज्ञानले नागरिकलाई आफ्ना समुदायका गतिविधि र समस्याहरू उजागर गर्न सक्षम बनाउने विश्वास व्यक्त गरेका थिए । उनले स्थानीय तहको विकास, सुशासन र जनउत्तरदायित्व प्रवद्र्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने भएकाले सानो बजेट छुट्याएर पत्रकारिता तालिमको आयोजना गरेको बताएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतमले तालिमले पत्रकारिता सम्वन्धी ज्ञानसँगै वर्तमान डिजिटल युगमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र अफवाहबाट बच्न सत्यतथ्य समाचार पहिचान गर्ने सीप आवश्यक रहेको बताएका थिए । उनले तालिमले सहभागीलाई समाचारको स्रोत परीक्षण, तथ्य जाँच, समाचार लेखन तथा डिजिटल माध्यमको जिम्मेवार प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले पत्रकारिता सिक्न इच्छुकका लागि तालिम महत्वपूर्ण भएको भन्दै दुई दिने तालिमले समाचार संकलन, लेखन र प्रस्तुतीकरणमा सहयोग गर्ने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले पत्रकारिता केवल पेशा मात्र नभई समाजप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै सूचना प्रवाहमा सत्यता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

तालिमको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१७ का वडा सदस्यहरू शशीधर पौडेल, विजय लम्साल, गीता रानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीलाई तालिमबाट ज्ञान हासिल गर्दै पत्रकारिताका क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्कालगायतका रहेका छन् । कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।