लमहीमा जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिक

प्रिया स्मृती गजमेर
देउखुरी,३ असार । लमही नगरपालिकाको जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिकको काम सकिएको भएको छ । जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिक गर्ने जिम्मेवारी पाएको समृद्धि इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत तयार गरिएको अन्तिम प्रतिवेदन इञ्जिनियर समिर गौतमले नगर प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाल सरकारले भू–उपयोग ऐन तथा नियमावली कार्यान्वयन गर्दै जग्गा वर्गीकरण नगरेका स्थानीय तहमा कित्ताकाट प्रक्रिया रोक्दै आएको अवस्थामा लमहीले समयमै आवश्यक प्रक्रिया पूरा गरी जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिकको गरेको छ । यससँगै आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लमहीभित्र जग्गाको कित्ताकाट प्रक्रिया थप व्यवस्थित र निरन्तर सञ्चालन हुने भएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिक कार्य नगरको दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार भएको बताए । अनियन्त्रित शहरीकरण, अव्यवस्थित बसोबास तथा कृषि योग्य जमिनको संरक्षणका लागि वैज्ञानिक भू–उपयोग योजना आवश्यक रहेको बताएका हुन ।

‘अब नागरिकले आफ्नो जग्गा कुन प्रयोजनका लागि वर्गीकृत छ भन्ने स्पष्ट जानकारी प्राप्त गर्नेछन्’,नगर प्रमुख चौधरीले भने,‘यसले भविष्यमा विकास निर्माण, पूर्वाधार विस्तार र लगानी व्यवस्थापनमा सहज हुनेछ ।’ उपप्रमुख लक्ष्मी योगीले भू–उपयोग नक्सा अद्यावधिकले नगरपालिकाको समग्र विकास योजनालाई थप प्रभावकारी बनाउने बताइन । उनले अब कृषि, आवास, व्यापारिक तथा औद्योगिक क्षेत्रको स्पष्ट पहिचान भएपछि योजनाबद्ध विकासको आधार तयार भएको बताइन ।

‘स्थानीय तहको विकास सडक र भवन निर्माण मात्र होइन, जमिनको उचित व्यवस्थापन पनि हो’,उनले भनिन,‘यो कार्यले भावी पुस्ताका लागि सुरक्षित र व्यवस्थित शहर निर्माण गर्न मद्दत पु¥याउनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जग्गा वर्गीकरण सम्पन्न भएसँगै सेवाग्राहीले विभिन्न प्रशासनिक प्रक्रियामा सहजता अनुभव गर्ने बताए । भू–उपयोग सम्बन्धी अभिलेख व्यवस्थित भएपछि सेवा प्रवाह छिटो, प्रभावकारी र पारदर्शी हुने भन्दै भने,‘पहिले विभिन्न सिफारिस तथा कित्ताकाट प्रक्रियामा अन्योल देखिने गरेको थियो ।’

जग्गा वर्गीकरण तथा भू–उपयोग नक्सा अद्यावधिक कार्य सम्पन्न भएसँगै लमही नगरपालिकाका स्थानीय नागरिकले प्रत्यक्ष रूपमा विभिन्न लाभ प्राप्त गर्ने भएका छन् । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कित्ताकाट प्रक्रियामा सहजता आउने भएको बताए । यसअघि वर्गीकरण नहुँदा रोकिएका वा ढिला भएका धेरै काम अब सहज रूपमा अगाडि बढ्न सक्नेछन् । नागरिकले आफ्नो जग्गा कुन क्षेत्रमा पर्छ भन्ने स्पष्ट जानकारी पाउने भएकाले घर निर्माण, व्यवसाय सञ्चालन, उद्योग स्थापना वा कृषि उत्पादनका योजना बनाउन सहज हुनेछ ।

व्यवस्थित शहरीकरणमा टेवा

लमही नगरपालिका तीव्र रूपमा विस्तार भइरहेको नगर क्षेत्र हो । पछिल्ला वर्षहरूमा बढ्दो जनसंख्या, बसाइँसराइ तथा व्यवसायिक गतिविधिका कारण शहरीकरणको गति बढिरहेको छ । यस्तो अवस्थामा भू–उपयोग योजना बिना विकास गर्दा अव्यवस्थित बस्ती विस्तार, सडक तथा पूर्वाधार व्यवस्थापनमा समस्या आउने सम्भावना रहन्छ । नयाँ अद्यावधिक नक्साले आवासीय, कृषि, व्यापारिक, औद्योगिक, सार्वजनिक तथा संरक्षण क्षेत्रहरूको स्पष्ट सीमांकन गरेको छ । यसले भविष्यका विकास आयोजना सञ्चालन गर्दा उचित स्थान छनोट गर्न सहयोग पुग्नेछ ।

प्रतिवेदन हस्तान्तरणसँगै लमही नगरपालिकाले भू–उपयोग व्यवस्थापनको महत्वपूर्ण चरण पूरा गरेको छ । आगामी दिनमा यसले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र व्यवस्थित सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा लमही–१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का अध्यक्ष मनोजकुमार चौधरी, ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, ६ का अध्यक्ष श्यामनारायण चौधरी, ८ का अध्यक्ष उमेशकुमार खड्कालगायत कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।