लिलाधर वली
दाङ, ४ बैशाख । बाल्यकालदेखि नै टाउकोमा समस्या भएका प्रेम खत्री एक बर्षदेखि विस्तारामा छन् । एकोहोरो बोल्छन् तर हिँड्डुल गर्न सक्दैनन् । विस्तारमा पल्टिएका उनले आफै खाना खान सक्दैनन् । उनलाई आमाले चम्चाबाट खाना खुवाउँछिन् त कहिले बहिनीले खुवाउँछिन् । विस्तारमा पल्टिएका छोराले मान्छेलाई हेर्छन् तर चिन्दैनन् । उनले बेला–बेला आमा, बोइ, बहिनी भन्छन्, तर अरु केही बोल्न सक्दैनन् । छेउमै बसेका बुबा र आमाले छोराको बोली सुन्छन् तर बुबाआमाले के भयो छोरा भनेर सोध्दा प्रेमले जवाफ फर्काउन सक्दैनन् ।
यो व्यथा हो, घोराही उपमहानगरपालिका–४ निवासी २६ बर्षीय प्रेम खत्रीको । ‘जन्मदा टाउकोमा समस्या देखिएको थियो । उपचार गरेपछि राम्रो भएको थियो तर उपचार गरेको २० बर्षपछि छोरा फेरि बिरामी भयो’, आमा देवा खत्रीले भनिन् । सानोमा उपचार गरेपछि राम्रो भएको थियो तर पछिल्लो समय बिरामी भएपछि राम्रो नै भएन । ‘पहिले राम्रो थियो, बिरामी भएपछि के भयो भयो’, आमा देवाले भनिन्– ‘एकोहोरो बोल्छ, हामीले भनेको फर्काउन सक्दैन ।’
सानोमा बिरामी हँुदा टाउकोमा समस्या देखिएका प्रेमलाई उपचार गर्दा डाक्टरले टिभी देखाएका थिए । पाल्पामा रहेको मेसिन अस्पतालमा उपचार गरेपछि राम्रो भए । त्यसपछि उनी समस्या देखिएनन् । उमेर बढ्दै गयो । उनले पढ्दै गए । घरको कमजोर आर्थिक अवस्थाका कारण प्रेम करिब चार बर्ष पहिले भारतमा रोजगारीका लागि गएका थिए । तर उनले कमाउन सकेनन् । र, विरामी परे । कमाउन गएको छोरो बिरामी भएको खवर आएपछि घर बोलाएका हौं प्रेमका बुबा दिनबहादुर खत्रीले भने– ‘छोरो बिरामी भएपछि नेपाल आउन आग्रह गरे, तीन बर्ष पहिले इण्डियाबाट घर आएको हो ।’
घर आएपछि उपचारका लागि घोराहीमा रहेको तात्कालीन राप्ती उपक्षेत्रीय अस्पताल लगे । उपक्षेत्रीय अस्पतालले कोहलपुर लैजान आग्रह ग¥यो । त्यसपछि कोहलपुर लगे, त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर काठमाडौं या लखनउ लैजान आग्रह गरेपछि आफूहरुले लखनउ लगेको बुबा दिनबहादुरले बताए । ‘लखनउको अस्पतालमा बिरामी छोरोलाई १८ दिन राखेपछि डाक्टरले टाउकोमा समस्या छ भने त्यसको लागि अप्रेसन गर्नुपर्ने सल्लाह दिए’, बुबा दिनबहादुरले भने– ‘टाउकोमा समस्या रहेकाले दुई पटक अप्रेशन गर्नुपर्ने हुन्छ, त्यसका लागि २ लाख ५० हजार जम्मा गर्न भने ।’ अप्रेशन गरेपछि बिरामी राम्रो हुने डाक्टरले भनेका थिए तर त्यति धेरै पैसा आफूहरुसँग नहुँदा अप्रेशन गर्न नसकिएको उनले बताए । ‘अप्रेशनका लागि लाग्ने पैसा आफूसँग थिएन, त्यसैले औषधि लिएर फेरि आउँछौ भनेर फर्किएका हौ’, उनले भने– ‘पैसा जम्मा गरेर अप्रेशनका लागि आउँछौ भनेका हामी पुनः जान सकेका छैनौं ।’ छोरोको यो हत्ते हेर्नभन्दा एक पटक अप्रेशन गर्न मन भएको उनले बताए । तर पैसा नहुँदा अप्रेशनका लागि जान नसकेको समेत बताए ।
घर फर्किएपछि डाक्टरको सल्लाहअनुसार औषधि खुवाउँदै आए पनि पछिल्लो समय लकडाउनका कारण काम गर्न नपाउँदा समस्यामा परेको बताए । घरको कमजोर आर्थिक अवस्था भएका खत्रीको आयश्रोत भनेको गोग्लीमा एउटा खाजाघर छ । त्यहीबाट आएको पैसाले छोराको उपचार र दैनिक सरसफाईका लागि आवश्यक पर्ने सामान किन्ने गरेको बताए । ‘सम्पतिको नाममा बस्नलाई सानो एउटा घर र गरिखाने गोग्लीमा खाजाघर छ’, उनले भने– ‘त्यही पनि लकडाउन शुरु भएपछि दुई महिनादेखि बन्द छ । खाजाघर बन्द भएपछि २–४ पैसा आउने बाटो बन्द भयो ।’ उनका अनुसार छोरोका सरसफाई र औषधिका लागि दैनिक सात सयदेखि एक हजारसम्म खर्च हुने गरेको छ । तर लकडाउनका कारण दुई महिनादेखि खाजाघर बन्दा हुँदा छोराको उपचारका लागि औषधिसमेत किन्न तथा दैनिक खानका लागि समेत समस्या पर्न थालेको बताए । खानलाई समस्या पर्न थालेपछि वडा कार्यालयलगायतका विभिन्न संघसस्थाहरुले
खाद्यान्नलगायतका सामग्री समेत सहयोग गर्न शुरु गरेका छन् । तर खाद्यान्न भन्दा पनि उनलाई एकपटक छोराको अप्रेशन गर्न धोको छ । तर पैसा छैन । कसैले सहयोग गरे छोरोको उपचार गर्ने इच्छा भएको उनले बताएका छन् । उनले उपचारका लागि ग्लोबल आइएमई बैंक घोराही शाखामा रहेको बैंक एकाउन्ट ४१०७०१००१०८२६ मा पैसा जम्मा गरेर सहयोग गर्नसमेत सबैमा आग्रह गरेका छन् ।