क्वारेन्टाइनमा जन्मिएका जम्ल्याहा ‘डिस्चार्ज’

नारायणी रजौरे
तुलसीपुर, ४ जेठ । तुलसी बाल अस्पताल तुलसीपुरको आइसोलेसनमा रहेका तुलसीपुर उपमहानगरपालिका–१३ की ३५ वर्षीया अनिता यादव र उनका जम्ल्याहा शिशुलाई आइतवार अस्पतालले डिस्चार्ज गरेको छ । भारताबाट आएका भनिएका बुवासँगै गर्भवती आमालाई पनि तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै सुत्केरी व्यथा लागेपछि उनलाई प्रादेशिक अस्पताल ल्याइएको थियो ।

अस्पतालमा भर्ना भएकी गर्भवती महिला, उनका श्रीमान्, छोरी र कुरुवासमेतलाई कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. किशोर खत्रीले बताएका छन् । ‘विश्वव्यापी महामारी कोरोनाको संक्रमण भइरहेको अवस्थामा लक्षित समुदायलाई परीक्षण समेत गरी आमा–बच्चालाई डिस्चार्ज गरेका हौं’, अस्पतालका निर्देशक डा. खत्रीले बताए ।

विगत ८ दिनदेखि अस्पतालको नवजात शिशु अतिसघन कक्ष (एनआइसियु) मा उपचार भइरहेका जम्ल्याहा दिदीबहिनीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख बालरोग बिशेषज्ञ डा खत्रीले जानकारी दिएका छन् । गत शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यादवले कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्माएकी थिइन् ।

मनकारी व्यवस्थापक
यसैबीच डिस्चार्ज गर्नुअघि अस्पतालका व्यवस्थापक कमलाले डिस्चार्ज गरिएका आमा शिशुलाई खाली हात फर्काउन चाहिनन् । त्यसैले आमा–बच्चालाई पोशिलो खाना खुवाउनका लागि नगद ५ हजार रुपैयाँ समेत दिइन् । ‘हाम्रो सहयोगले सधै तपाईहरुलाई गुजारा हुने त होइन, तर पनि आमा बच्चाले पोशिलो खाना खानका लागि यो सानो सहयोग गरेकी हुँ’, बिरामीका आफन्तलाई पैसा दिँदै कमलाले भनिन् । आफूहरुको व्यवसायसँगै सामाजिक उत्तरदायित्वसमेत भएको भन्दै आफूहरुले सामाजिक उत्तरदायित्व बहन मात्र गरेको उनको अभिव्यक्ति थियो ।

शिशुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि तुलसी बाल अस्पतालमा सिफारिस गरी पठाइएको थियो । दाङ जिल्लामा नवजात शिशुहरुका लागि एनआइसियु कक्ष तुलसी अस्पतालमा मात्रै छ । शिशुले आमाको दूध चुस्न थालेपछि र उनीहरुको स्वास्थ्यमा सुधार आएकोले घरमा पठाइएको अस्पतालका डा. खत्रीले बताएका छन् । अस्पतालबाट जाने क्रममा अनिताले आफू र आफ्ना जुम्ल्याहा छोरीलाई उपचारमा सहयोग गर्ने तुलसी अस्पताल परिवार तथा सहयोग गर्ने अन्य सबैलाई धन्यवाद पनि दिएकी छिन् । उनीहरुलाई तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेको जिम्मा लगाइएको छ । अनिता उपमहानगरपालिकाको रक्षाचौर क्वारेनटाइनमा बस्दै आएकी थिइन् । यादव केही दिन अघि भारतको बलरामपुरबाट घरमा आएपछि उनलाइ क्वारेनटाइनमा राखिएको थियो ।