हिनताबोध छैन कोरोना ?
विपुल पोख्रेल
१० दिनकी सुत्केरी
एउटा उदाउँदो जीवन
नासो छाडेर
विदा भइन्
हाम्री चेली !
हाम्री सावित्री,
अनेक बहानामा टुक्रिन रमाउने
मेची महाकालीका
माइतीलाई
एकसाथ रुवाएर
उता,
निर्दयी कोरोना
जीतमा उन्मत्त भएर
उत्सव मनाउँदै होला
सगरमाथाको देशमा
पहिलो शिकार
गरेको धाग दिँदै होला ।
समाजलाई व्यक्ति–व्यक्तिमा टुकारेर
छुन समेत खबरदार ! भन्दै
सोले फिल्मको गब्बर सिंहझै
बस्ती तर्साउने पात्र,
उनको अन्त्येष्टिमा
रुँदा–रुँदा थाकेको टाउको ढल्काउन
लाशको छाती पनि नदिएर
बह पोख्दै अंगाल्नबाट समेत रोकेर
मायालुका प्राणविहीन आँखाहरु
काप्दै गरेका हातले बन्द गर्ने अबसरबाट रोकेर
क्रूर काल बनेर अगाडि उभिदियो ।
मानव जातिलाई सक्न आयो कि
सुधार्न आयो ?
त्यत्ति सूचना पनि नदिएर
जिजिविसाका ज्वारभाटाहरु
किनारामा पछारिएको
हेर्ने कत्रो रहर हो !
ए ! क्रूर कोरोना,
त्यो नवजातलाई के भनिदिऊँ ?
उसको आमाको के दोष देखाइदिऊँ ?
उसको अपराध नै के पो थियो र ?
मस्त दूध चुस्न पनि नदिएर
आफ्नो तागत देखाउन कत्रो हतार ?
एउटा चुस्दै
अर्को स्तनमा लात्ताले हान्दाको वात्सल्य
क्षितिजको चन्द्रमा जस्तै गराएर,
आफ्नो शिशुलाई छुन समेत नपाउने
अभागी आमाको सूचीमा
एक नम्बरमा साबित्रीलाई राख्दा
कत्ति पनि दया आएन कोरोना ?
क्रूर कालको भूमिकामा उभिँदा
कुनै हिनताबोध छैन कोरोना ?