लमहीमा खानेपानी पाइपलाइन विस्तार

टेकबहादुर पुन
दाङ, १ असार । तीव्र सहरीकरण, बढ्दो जनसङ्ख्या र खानेपानीको बढ्दो मागलाई दृष्टिगत गर्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३५ करोड ३५ लाख रुपैयाँको लागतमा बृहत् पाइपलाइन विस्तार आयोजना सुरु गरेको छ ।

नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत सहलगानीमा सञ्चालन हुने आयोजना अन्तर्गत करिब दुई सय १० किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिने भएको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य कुलमोहर क्षेत्रबाट सुरु भएको संस्थाले जनाएको छ । हाल विभिन्न स्थानमा नाला खन्ने तथा पाइप जडानको भइरहेको छ ।

संस्थाका अध्यक्ष सनमकुमार पौडेलका अनुसार आयोजना सञ्चालनमा आउँदा दुई हजार छ सय ७९ उपभोक्तालाई सेवा दिइएकोमा हाल उपभोक्ताको सङ्ख्या पाँच हजार छ सय नाघिसकेको छ । नगर विस्तार र नयाँ बस्ती विकाससँगै आगामी वर्षमा खानेपानीको माग थप बढ्ने अनुमानका आधारमा दीर्घकालीन सोचसहित पाइपलाइन विस्तार अघि बढाइएको उनले बताए ।

संस्थाका अनुसार आयोजनाको मुख्य उद्देश्य नगरवासीलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउनुका साथै आगामी दशकसम्मको सम्भावित मागलाई समेत सम्बोधन गर्नु हो । हाल सञ्चालनमा रहेका संरचना बढ्दो उपभोक्ता सङ्ख्या धान्न पर्याप्त नरहेको संस्थाको भनाइ छ ।

आयोजनाका इन्जिनियर रमेश शर्माका अनुसार चार इन्चदेखि माथिका विभिन्न क्षमताका पाइप आवश्यकता अनुसार विस्तार गरिने छ । सडक ट्रयाक खुलेका तथा आवश्यक ठानिएका स्थानमा दोहोरो लाइनमार्फत् पाइप बिछ्याउने व्यवस्था मिलाइएको छ । भविष्यमा थप उपभोक्ता जोडिँदासमेत समस्या नआउने गरी आयोजनाको डिजाइन तयार गरिएको उनले बताए ।

आयोजना अनुगमन समितिका संयोजक तथा सचिव वसन्त आचार्यले निर्माण कार्यको नियमित अनुगमन गरिने तथा समयसीमा र गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । उपभोक्ताको लगानीसमेत जोडिएको आयोजनामा पारदर्शिता र गुणस्तरलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

कार्यसमिति सदस्य बबिता खत्रीले खानेपानीको पहुँच न्यून रहेका तथा कम दबाबमा पानी आपूर्ति भइरहेका बस्तीलाई प्राथमिकतामा राखेर विस्तार कार्य अघि बढाइएको बताइन् । आयोजना अन्तर्गत लमही नगरपालिका–२, ३, ४, ५, ६ र ७ का विभिन्न बस्तीमा पाइपलाइन विस्तार गरिनेछ ।

देउपुर, खैरी, मध्यनगर, ढिकपुर, कसियापुर, लङ्गडी, आदर्श टोल, कोलही, वसन्तनगर, प्रगतिटोल, चैलाही, उत्तर बनगाउँ, नारायणपुरका केही क्षेत्र, छुट्की महरुवा, बड्का महरुवा, गोरक्ष टोल, लमही गल्ली, अर्नहवा, सुनखोली, शान्तिनगर, आर्मी क्याम्प, सशस्त्र प्रहरी क्याम्पलगायतका क्षेत्रसम्म नयाँ पाइपलाइन विस्तार गरिने छ । संस्थाका अनुसार आयोजनाबाट प्रत्यक्ष रूपमा करिब ११ हजार जनसङ्ख्या लाभान्वित हुने छन् । हाल खानेपानीको पहुँच कम भएका तथा जनसङ्ख्या वृद्धि भएका क्षेत्रमा सेवा विस्तार हुने भएकाले खानेपानी अभाव, न्यून दबाब तथा वितरण असमानताका समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षमा लमहीमा बस्ती विस्तार, बसाइँ सराई तथा व्यापारिक र प्रशासनिक गतिविधि बढ्दै जाँदा खानेपानीको माग निरन्तर बढिरहेको छ । भविष्यमा थपिने जनसङ्ख्या र विस्तार हुने बस्तीलाई समेत सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको आयोजना लमही नगरको पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।