सरकार बदल्नभन्दा संस्कार बदल्न रहेछ सकस

केपी सुवेदी

राजनीतिमा सामान्य ज्ञानसम्म नभएका मानिसहरु सरकारको जिम्मवार तहमा पुगेर काम गर्दा निर्णयविहीन भएर अलमलिएको देखेपछि सरकारको लोकप्रियता स्खलन हुन थालेको महसुस गर्न सकिन्छ ।

स्खलन मात्रै हुनुले अहिल्यै सङ्कटको भूमरिमै परिसक्यो भन्ने होइन तर करिब ३५ वर्षमा १० वर्ष पनि स्थिर सरकार बन्न नसकेर अस्थिरताको पट्यार लाग्दो चक्रव्युहमा रुमलिरहँदा संसदीय व्यवस्था बदनाम हुनपुग्यो । व्यवस्था स्वयम् नराम्रो हुने नभई त्यसका सञ्चालकहरु स्वार्थी, पदीय मर्यादानुकुल आचरण नभएका राज्यको कोषमा हात लम्क्याउन पल्केका हुनाले राज्यको ढुकुटीबाट जथाभावी खर्च भएको देखाउँदा बेरुजु बढेको छ ।

कागजमा काम देखाएर खानेहरुले भ्रष्टाचार गरे भनिरहेका छौँ । भ्रष्टाचारमा ठूलो धनराशी खर्च भएर त्यो बरोबरको काम गर्न नसकेको कारणले मुलुकनै कालो सूचीमा परेको छ । अहिले भर्खर महालेखाको लेखा परीक्षण प्रतिवेदन अनुसार १३ खर्ब झण्डै एक वर्षको बजेट बेरुजु छ भने वित्तीय अनुशासन कायम कसरी गर्ने ठूलो चुनौती छ ।

यो चुनौती वर्तमान दुई तिहाई नजिक पुगेको सरकारले सामना गर्ला ? प्रश्नको घेरामा बालेन नेतृत्वको सरकार नपरेर छुट पाउने कुरै आउँदैन । नबोलेर काम गरिरहेको बालेन सरकारलाई प्रश्नको सामना गर्न आउँदो रहेनछ भन्ने कुरा सदनमा एकदिन बोलेको दुर्लभ तर विवादास्पद बोलीले देखाइसकेको छ ।

पुरानालाई सरापेर ३५ वर्षे शासनकालको विरुद्धमा भाष्य बनाउँदैमा कोही पनि क्षमतावान भइहाल्दैन । किनभने यो जागिर होइन । जागिरदार बन्नुभन्दा धेरै गुणा समाज विज्ञानको ज्ञान, त्याग र समाज परिवर्तनको नियमहरुको अध्यायन गरेको हुनुपर्छ । सार्वजनिक पदाधिकारी भन्दा सरकारको मन्त्रालय सम्हाल्ने व्यक्ति समाजको बहुआयामी चरित्र बुझ्नेवाला हुनुपर्छ ।

बहुदलको आगमनसँगै लोकतान्त्रिक आचारण निर्माण र राजनीतिक संस्कारको जगबसाउन योगदान पुगोस भनेर लेखक एवम् साहित्यकार सीके प्रसाईले लेखेको एउटा किताव ‘आजको सरल राजनीति’ एक पटक पढ्नै पर्ने देखिन्छ । काठमाडौँ जस्तो सहरी मतदाताको रोजाईमा परेकी एकजना सांसदले आफूहरु संसदीय अभ्यासमा अपरिपक्व भएको स्वीकार गर्दै परिपक्वताको लागि प्रशिक्षण आवश्यक रहेको र त्यसको लागि बजेटको व्यवस्था गर्न अर्थमन्त्रीलाई अनुरोध गरेको सुनेको हुनुपर्छ ।

वर्षौँसम्म विवेकशील साझा पार्टीको जिम्मेवार पद सम्हालेको भनिएकाहरुको त्यस्तो अवस्था रहेछ । मन्त्री भएका व्यक्तिले आफ्नो गल्ती दोह¥याइरहेको देखिन्छ । अर्थमन्त्रीले आफ्नो अपरिपक्वताको दोष कर्मचारीमाथि फालेर उम्किने कोसिस गरेको सबैले देख्यौँ तर भाषामा राजनीतिक संस्कार देखिन्न ।

अर्थमन्त्री तुलनात्मक रुपमा राजनीतिक हुनु पर्ने हो किनकि उहाँ राजनीतिक नियुक्ति पाएर मुलुकको योजना सम्पादन गर्ने र त्यसलाई कार्यान्वयनमा लैजान कार्यकारीलाई सुझाव दिने जिम्मेवारी सम्हालेको व्यक्ति हो । भन्न त उहाँलाई विदेशस्थित वित्तव्यवस्थापन इकाईमा काम गरेको अनुभव छ भनेर बढाइचढाइ गरिन्थ्यो तर शङ्काको घेरामा उहाँको योग्यता र चरित्र दुवै परेका छन् ।

वाहवाही मै पुराना दलविरुद्ध आन्दोलन भड्कियो, भड्काइयो कलिला बालकहरुलाई भूमरिमा हेलेर तत्कालीन सरकारलाई हत्याराको टीका लगाउन भ्याईयो । केही नेताहरु स्वार्थी, भ्रष्टाचारी, कमिसन खोरी भएका कारण जनताको नजरमा नालायक ठहरेका थिए । कतिलाई कानुनले दण्डित गरेको थियो । कोहीलाई सत्ताको आडमा गल्ती गरेका प्रमाणसहित फेला पर्दा पनि बचाइएको थियो तर दलभित्र सबैलाई एउटै तराजुमा हालेर तौलनु आफ्नै तौल घटाउनु हो भनेर नबुझ्नु मुर्खता बाहेक केही होइन ।

किनभने कोही एक यसका लागि लायक छ भन्न केही दृष्टान्त पस्किनै पर्छ । अहिले नै हतार गर्ने समय नभए पनि बिहानले दिनको सङकेत गर्छ भनेझै १०० दिन बित्दा उपलब्धि पनि दिन दोब्बर हुनलाई कहिलेदेखि गन्ति गर्ने भन्ने प्रश्न उठेको छ । पुराना दलको पद चिह्न पछ्याउन सुरु गरेको रवि, बालेन सरकारको नियोजित सुशासन सुदन गुरुङको गृहमन्त्रीमा पुनरागमनले घाम जस्तै छर्लङ्ग भयो ।

अब विकासमा छलाङ्ग मार्ने कुरा हेर्न बाँकीछ, तर निर्णय कति काँचा कति अनाडी हुँदा रहेछन् भन्ने सुकुम्बासीको तथ्याङ्कबिना गरिएको उठिबासले सम्झाउँछ । पहिले नागरिकले जीवन गुमाउँन नपरोस् भन्ने बारेमा सचेत रहेर अवस्था बदल्न लाग्नु पर्ने होइन र ? बालेन शाह प्रधानमन्त्री नहुँदै काठमाडौँलाई स्मार्ट सिटी बनाउने कुरा गर्नु हुन्थ्यो ।

तीन वर्षको शासनको अवधिमा बनाएको एउटा राम्रो शौचालयसम्म देखिएन । काठमाडौँ बनाइसकेर देश बदल्न आएका हाम्रा प्रधानमन्त्री बालेन शाहले एक पटक संसदलाई सम्बोधन गर्दा राष्ट्रघाती अभिव्यक्ति दिँदा विवादमा परेका छन् । धेरै जानेर हो कि अनाडी भएर हो सबै अलमलमै भएजस्तो लाग्छ ।

मुलुकले पुराना नेताको विकृत सत्ताबाट छुटकारा खोजेकै थियो र अरु कयन देश भक्त सक्षम युवाहरु नेताहरुको एकाधिकार तोडेर आउन अलि कति ढिलो भएको हो तर कुन शक्तिले हो, रहस्यमयी परिवर्तनले पात्रहरु पनि रहस्यमय चुनेको छ । जनताको अपार समर्थन किन प्राप्त भयो र जनताप्रतिको जवाफदेहिता निश्चित मन्चमा देखिनपर्छ भन्न नरुचाउने, अज्ञानतावश या घमण्डले ?

जतिसुकै सक्षम भए पनि त्यहाँ पु¥याउन जसको भूमिका छ त्यसप्रति अनुगृहित हुनु मानवीय धर्म हो । यतिसम्म निर्वाह हुन नसक्नु सामाजिक सांस्कृतिक संस्कारको कमी हो । त्यति मात्र भए पनि पुराना दलबाट सिक्नु पर्ने हो । पुराना दलको विरुद्ध भाष्य बनाउन छोडि सत्ता पक्षमा हुनु पर्ने संस्कार र सभ्य भाषामा अरुको विचारको प्रतिवाद गर्नसक्ने हुनुपर्छ, सिक्नुपर्छ ।

सधै भ्रमजालमा रुमलेर जनतालाई मुर्ख बनाउन सकिँदैन । एक पटक जनता झुक्किएका छन् तर सधै झुक्याउन सम्भव छैन । ३५ वर्षे भाषामा अगाडि देखिनेहरु पुराना दलमा लुटेर नअघाएर नयाँसँग साइनो जोड्न पुगेका हुन् । तिनीहरु पुरानालाई सराप्दै छन् । केही न खत लागेका व्यक्ति अगाडि छन् चेतना भया । संस्कार बसाल्न पुराना नेता सत्ताका पारखीहरु सामन्ति चिन्तनबाट ग्रसित देखिन्छन् । उनीहरु कि बदलिनुपर्छ कि किनारा लाग्नु पर्ने समयको चुनौतीलाई स्वीकार्नुपर्छ ।