माइक, क्यामेरा र भ्रमको पत्रकारिता

भुवन केसी

नेपालको पत्रकारिता आज गम्भीर संक्रमणको चरणमा छ । पत्रकार र कन्टेन्ट क्रिएटरबीचको सीमारेखा धमिलिँदै जाँदा समाजले पत्रकार चिन्न छोडेको छ र पत्रकारिताले पनि आफ्नो वास्तविक परिचय स्पष्ट रूपमा स्थापित गर्न सकेको छैन ।

परिणामस्वरूप, एउटा माइक, एउटा क्यामेरा र एउटा युट्युब च्यानल बोकेर जोसुकैले आफूलाई “पत्रकार” घोषणा गर्न सक्ने अवस्था बनेको छ । अझ चिन्ताजनक कुरा के छ भने समाजले पनि त्यही व्यक्तिलाई पत्रकार ठान्न थालेको छ, जसले सबैभन्दा चर्को स्वरमा बोल्छ, सबैभन्दा विवादास्पद सामग्री उत्पादन गर्छ र सबैभन्दा धेरै भ्यूज बटुल्छ ।

हालै प्रेस काउन्सिल नेपालले सरकारी कार्यालयहरूमा बिना अनुमति प्रवेश गर्ने, कर्मचारीमाथि क्यामेरा तेस्र्याएर दबाब सिर्जना गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने तथा मोनेटाइजेशन केन्द्रित सामग्री उत्पादन गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यी घटनाहरूले पत्रकारिताको वर्तमान अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् ।

आज समाजमा एउटा ठूलो अन्योल छ—असली पत्रकार को हो ? के पत्रकार महासंघको सदस्यता भएकै व्यक्ति पत्रकार हो ? यदि त्यसो हो भने पत्रकारितासँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरू पनि विभिन्न पहुँच र प्रभावका आधारमा सदस्यता प्राप्त गरिरहेका किन देखिन्छन् ?

अनि यदि सामाजिक सञ्जालमा लाखौं फलोअर्स भएको, चर्को स्वरमा बोल्ने र विवाद सिर्जना गर्ने व्यक्ति नै पत्रकार हो भने पत्रकारिता अध्ययन, तथ्यको खोजी, सम्पादन, भाषा, जिम्मेवारी र आचारसंहिताको अर्थ के रहन्छ ?

नेपाली पत्रकारिता आज दुई चरम अवस्थाबीच अल्झिएको छ। एकातिर तथ्य, अनुसन्धान, सन्तुलन र सार्वजनिक उत्तरदायित्वमा आधारित वास्तविक पत्रकारिता कमजोर बन्दै गएको छ। अर्कोतिर भ्यूज, ट्रेन्ड र सनसनी बेच्ने प्रवृत्ति तीव्र गतिमा विस्तार भइरहेको छ। निजी घरको भान्सादेखि कार्यालयसम्म क्यामेरा बोकेर छिर्ने, मृतकका शवसमेतलाई भिडियो सामग्री बनाउने, अधुरा तथ्यलाई ‘ब्रेकिङ’ समाचारका रूपमा प्रस्तुत गर्ने, व्यक्तिगत विवादलाई सार्वजनिक तमासा बनाउने तथा उत्तेजनालाई पत्रकारिता ठान्ने प्रवृत्ति बढ्दो छ।

यसले समाजमा गम्भीर असर पारेको छ । पहिलो, जनतामा भ्रम फैलिएको छ। तथ्य र अफवाहबीचको दूरी घट्दै गएको छ। जसले सबैभन्दा चर्को स्वरमा बोल्छ, उसैले सत्य बोलेको छ भन्ने गलत मानसिकता विकसित हुँदै गएको छ । दोस्रो, वास्तविक पत्रकारहरूको विश्वसनीयता कमजोर भएको छ। वर्षौं अध्ययन, संघर्ष र पेशागत मर्यादामा टिकेका पत्रकारहरू पनि यही भीडभित्र मिसिएका छन्। परिणामतः समाजले सबैलाई एउटै दृष्टिले हेर्न थालेको छ।

तेस्रो, पत्रकारिताप्रतिको जनविश्वास खस्किँदै गएको छ। जब समाचारभन्दा नाटक धेरै देखिन्छ, तथ्यभन्दा उत्तेजना धेरै बेचिन्छ, तब नागरिकले मिडियालाई सूचना दिने माध्यमभन्दा पनि मनोरञ्जन र भ्रम बेच्ने उद्योगका रूपमा हेर्न थाल्छन्। चौथो, यसले लोकतान्त्रिक प्रणालीलाई समेत असर पु¥याइरहेको छ। स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो। यदि त्यो स्तम्भ कमजोर भयो भने समाज अफवाह, ध्रुवीकरण र भीड मानसिकताको प्रभावमा झन् बढी पर्न सक्छ।

यद्यपि डिजिटल माध्यमका सकारात्मक पक्षहरू पनि छन्। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूले धेरै लुकेका विषय सार्वजनिक गरेका छन्। ग्रामीण क्षेत्रका आवाजलाई राष्ट्रिय बहसमा ल्याएका छन्। परम्परागत मिडियाले नसमेटेका विषयहरू उजागर भएका छन्। जनताले छिटो सूचना पाउने अवसर पनि बढेको छ। तर समस्या सूचना प्रवाहमा होइन, त्यसको विश्वसनीयता र जिम्मेवारीमा हो।

सबैभन्दा ठूलो कमजोरी नियमनकारी तथा पेशागत संस्थाहरूको भूमिकामा देखिन्छ। प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ तथा अन्य सञ्चारसम्बन्धी निकायहरूले पत्रकारिताको बदलिँदो स्वरूपलाई समयानुकूल व्यवस्थित गर्न सकेका छैनन्। राजनीतिक भागबण्डा, पहुँचका आधारमा सदस्यता वितरण, स्पष्ट मापदण्डको अभाव र निष्क्रिय संरचनाले समस्या झन् गहिरो बनाएको छ। धेरैजसो संस्थाहरू पत्रकारिता सुदृढीकरणभन्दा पनि आन्तरिक शक्ति संघर्ष र गुटगत राजनीतिमा अल्झिएका देखिन्छन्।
अब प्रश्न उठ्छ—समाधान के ?

पहिलो, पत्रकारिताको स्पष्ट परिभाषा र मापदण्ड आवश्यक छ। केवल माइक, क्यामेरा वा युट्युब च्यानल भएकै आधारमा पत्रकारिता मान्न सकिन्छ कि सकिँदैन भन्ने विषय स्पष्ट हुनुपर्छ। पत्रकारितामा न्यूनतम पेशागत योग्यता, आचारसंहिता, उत्तरदायित्व र तथ्यप्रतिको प्रतिबद्धता अनिवार्य हुनुपर्छ।

दोस्रो, पत्रकार महासंघ र प्रेस काउन्सिलजस्ता संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरी वास्तविक पेशागत संस्थाका रूपमा विकास गर्नुपर्छ। सदस्यता वितरणमा पारदर्शिता, नियमित मूल्यांकन र आचारसंहिता उल्लंघनमा स्पष्ट कारबाहीको व्यवस्था आवश्यक छ।

तेस्रो, डिजिटल पत्रकारितालाई व्यवस्थित गर्नुपर्छ। युट्युब वा सामाजिक सञ्जाल आफैं समस्या होइनन्। समस्या तिनको गैरजिम्मेवार प्रयोगमा छ। यदि “भ्यूज” लाई पत्रकारिताको मापन बनाइयो भने सत्य सधैं कमजोर हुनेछ। चौथो, समाज स्वयं पनि सचेत हुन आवश्यक छ। चर्को स्वरमा बोलेको व्यक्ति सधैं सत्यको पक्षमा हुन्छ भन्ने छैन। पत्रकारिता उत्तेजना फैलाउने माध्यम होइन; सत्य खोज्ने, तथ्य पुष्टि गर्ने र समाजलाई सही सूचना दिने जिम्मेवारी हो।

आज नेपाली पत्रकारितालाई सबैभन्दा बढी आवश्यक परेको कुरा नयाँ प्रविधि होइन, नयाँ नैतिकता हो। पत्रकारिता माइक र क्यामेराले होइन, सत्यप्रतिको प्रतिबद्धता, पेशागत मर्यादा र सार्वजनिक उत्तरदायित्वले परिभाषित हुन्छ। माइक र क्यामेरा सजिलै किन्न सकिन्छ, तर पत्रकारिता गर्न अध्ययन, विवेक, सत्यप्रतिको प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्व चाहिन्छ।

यदि पत्रकारिता केवल भ्यूज, ट्रेन्ड र मोनेटाइजेशनको खेलमा सीमित भयो भने भोलिको समाजले पत्रकारलाई सूचना दिने व्यक्ति होइन, भ्रम बेच्ने पात्रका रूपमा सम्झिनेछ । र, त्यो दिन पत्रकारिता मात्र होइन, समाज पनि हार्नेछ ।

लेखक केसी हाल जापानमा रहेका छन् ।