प्रदेश सरकारसँग बंगलाचुलीको विकासका लागि बजेट माग 

गोरक्ष समाचारदाता
दाङ २६ जेठ । बंगलाचुली गाउँपालिकाले पालिकाको विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट सुनिश्चितताको माग गरेको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्तबहादुर जिसीले लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालय पुगेर बजेट सुनिश्चितताको माग गरेका हुन् ।
गाउँपालिकाको ८ वटै वडाका प्राथमिकतायुक्त योजना जस्तै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन तथा कला–संस्कृति क्षेत्रलाई समेट्दै प्रदेश सरकारका विकासे मन्त्रालयमा पुगेर बजेट सुनिश्चित गर्न औपचारिक माग गरिएको हो । गाउँपालिकाले स्थानीय तहको समग्र विकासलाई दिगो र परिणाममुखी बनाउन योजनाको कार्यान्वयन अत्यावश्यक रहेको भन्दै आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
विशेषगरी दुर्गम भौगोलिक संरचना रहेको बंगलाचुली क्षेत्रमा सडक सञ्जाल विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच, सुरक्षित खानेपानी आपूर्ति, कृषि उत्पादन वृद्धि, पर्यटन पूर्वाधार विकास तथा स्थानीय कला–संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर योजना प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताए । यस क्रममा प्रदेशसभा सदस्य राजु खनाललाई समेत भेट गरी बंगलाचुलीका विकास योजना कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्न विशेष पहल गर्न आग्रह गरिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले बंगलाचुलीको विकासका लागि बजेट व्यवस्थापनका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र मन्त्रालयस्तरमा प्रभावकारी समन्वय गर्ने बताए । सांसद खनालले भने ‘बंगलाचुलीको भूगोल र त्यहाँका नागरिकका आवश्यकताप्रति म पूर्ण सजग छु, गाउँपालिकाले अघि सारेका सडक, खानेपानी र स्वास्थ्य लगायतका समग्र गौरवका योजना सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गराउन म प्रदेश सरकार र सम्बन्धित विकासे मन्त्रालयमा बलियो पहलकदमी लिनेछु ।’
भेटघाटका क्रममा अध्यक्ष पुन र उपाध्यक्ष जिसीले बंगलाचुलीका नागरिकको जीवनस्तर उकास्न दीर्घकालीन र बहुआयामिक विकास रणनीति आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारसँग समन्वयकारी भूमिका अपेक्षा गरिएको बताए । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीका अनुसार वडा तहबाट छनोट गरिएका योजनामा स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरिएको छ, जसअनुसार सडक सुधार तथा नयाँ ट्याक खोल्ने, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, स्वास्थ्यचौकीको सेवा विस्तार, खानेपानी आयोजनाको दिगो व्यवस्थापन, कृषि उत्पादनलाई व्यावसायीकरण गर्ने कार्यक्रम तथा पर्यटकीय सम्भावनाको पहिचान र प्रवर्धन जस्ता योजना समेटिएका छन् ।
यसैगरी, स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमार्फत् सामाजिक पहिचान बलियो बनाउने लक्ष्य पनि समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रदेश सरकारसँगको सहकार्य बिना पालिकाको योजना पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन हुने भन्दै बजेट अभावले विकासको गति प्रभावित नहोस् भन्ने उद्देश्यले अग्रिम पहल गरिएको बताए । प्रदेश मन्त्रालयमा गरिएको भेटघाटमा सकारात्मक प्रतिक्रिया आएको र आगामी बजेट प्रक्रियामा बंगलाचुलीका योजनालाई प्राथमिकतामा राख्ने आश्वासन प्राप्त भएको गाउँपालिका अध्यक्ष पुनले बताए ।
यस पहलले स्थानीय विकासलाई गति दिने मात्र नभई ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि सङ्घीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै नागरिकको आवश्यकता केन्द्रित विकास कार्यक्रम अघि बढाउने उपाध्यक्ष भक्तबहादुर जिसीले बताए ।
प्रदेश सरकारले बजेटको तयारी गरिहँदा अहिले प्रदेश सरकारसँग बजेट माग गर्नेहरूको भिडभाड रहेको छ ।