दाङ, २६ जेठ । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आउने असार ८ र ९ गते घोराहीमा प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।
परिषद्ले सोमवार जिल्ला खेलकुद विकास समितिहरूलाई पत्राचार गर्दै प्रतियोगिताका लागि खेलाडी छनोट गरी सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीको दर्ता असार ५ गते दिउँसो १२ बजेसम्म गरिसक्नुपर्नेछ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ तथा प्याटर्न विधामा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत महिलातर्फ ४०–४५, ४५–५०, ५०–५५, ५५–६० तथा ६० केजीमाथि तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ तथा ६५ केजीमाथि तौल समूह निर्धारण गरिएको छ । यसका साथै रेड बेल्ट, ब्लु बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाडीहरूबीच पनि प्रतिस्पर्धा हुनेछ ।
प्रदेशस्तरको प्रतियोगिताले आईटीएफ तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि परिषद्का प्रशासन प्रमुख अमृत केसी तथा सुरेन्द्र चौधरीसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।