विद्यार्थीलाई व्यक्तिगत घटनादर्तासम्बन्धी अभिमुखीकरण

गोरक्ष समाचारदाता
गढवा, २६ जेठ । गढवा गाउँपालिकाको आयोजनामा विद्यालय तहमा व्यक्तिगत घटनादर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमवार गढवा गाउँपालिका वडा नं. ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीलाई जन्म, मृत्यु, विवाह, बसाइँसराइँ तथा सम्बन्ध विच्छेदलगायत व्यक्तिगत घटना दर्ताको महत्व, प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो । अभिमुखीकरण कार्यक्रममा वडा नं. ५ का सचिव रामनरेश यादवले प्रशिक्षकको भूमिका निर्वाह गर्दै व्यक्तिगत घटनादर्तासम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए ।

उनले व्यक्तिगत घटनादर्ता नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले प्रत्येक नागरिकले समयमै घटनादर्ता गराउनु पर्नेमा जोड दिए । विद्यालय तहबाटै विद्यार्थीलाई घटनादर्ताको महत्वबारे जानकारी गराउँदा समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले अभिमुखीकरण कार्यक्रमबाट व्यक्तिगत घटनादर्ताको आवश्यकता, महत्व र प्रक्रिया सम्बन्धी उपयोगी जानकारी प्राप्त भएको बताएका थिए । गढवा गाउँपालिकाले नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयमा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।