प्रमोद आचार्य
दंगीशरण, २६ जेठ । दंगीशरण गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यान्त्रिकरण सामग्री वितरण गरिएको छ । गाउँपालिकामा रहेका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानलाई २६ लाख २२ हजार दुई सय १४ रुपैयाँ मूल्य बराबरको आधुनिक कृषि यान्त्रिकरण वितरण गरिएको हो ।
किसानलाई कृषि सामाग्री वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानलाई कृषि सामाग्रीको सही रुपमा सदुपयोग गर्दै कृषि उत्पादन बढाउन लाग्नु पर्ने बताए । गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि यान्त्रिकरण सहयोग गरिएको बताएका थिए । अध्यक्ष गिरीले दंगीशरणमा आधुनिक खेती प्रणालीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने भनाई थियो ।
किसानलाई २० वटा मिनी टिलर, पाँच वटा रिपर, ११ वटा चाप कटर, ११ वटा दुई इन्च मोटर डुबाउने पम्प तथा सातवटा तीन इन्च पानी बाहिर निकाल्ने मोटर प्रदान गरिएको थियो । किसानलाई कृषि सामग्री वितरणका लागि सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको र परेका आवेदनका आधारमा छनोट गरिएको कृषि शाखा प्रमुख सरु भुसालले जानकारी गराएकी थिइन् ।
सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, साझेदारी परियोजना महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, संस्थापक अध्यक्ष विमला योगी, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोख्रेल, हेफर परियोजनाका गाउँपालिका संयोजक गोमा भट्टराईलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण गाउँपालिकाका कृषि सहायक अधिकृत मानबहादुर डाँगीले गरेका थिए । कृषि सामग्री वितरणका लागि चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि शाखाबाट ६ लाख रुपैयाँ र हेफर परियोजनाबाट १० लाख गरी १६ लाख र कृषिको १६ लाख गरी ३२ लाख रुपैयाँ बिनियोजन भएकोमा टेन्डर प्रक्रियाबाट २६ लाख २२ हजार दुई सय १४ रुपैयाको सामग्री खरिद गरिएको थियो ।