रोल्पाका स्थानीय तहमा १० करोड १८ लाख बेरुजु

भरत विश्वकर्मा
रोल्पा, २५ जेठ । रोल्पाका स्थानीय तहमा १० करोड १८ लाख सात हजार रुपैयाँ बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औ्ँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ११ अर्ब ८८ करोड ६३ लाख १७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो ।

गत वर्षको तुलनामा यस वर्ष बेरुजु घटेको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १० अर्ब २५ करोड ३० लाख ३० हजार रुपैयाँको लेखापरीक्षण हुँदा १८ करोड ४० लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । प्रतिवेदन अनुसार रोल्पा नगरपालिकामा एक अर्ब ६० करोड २५ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४८ लाख ४६ हजार अर्थात् शून्य दशमलव तीन प्रतिशत बेरुजु देखिएको छ ।

त्रिवेणी गाउँपालिकामा एब अर्ब ३८ करोड ५८ लाख ८३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा दुइ करोड ३२ लाख अर्थात् एक दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । थबाङ गाउँपालिकामा ८३ करोड ३९ लाख ५५ हजार रुपैयाँको लेखापरीक्षण हुँदा एक करोड एक लाख १६ हजार अर्थात् एक दशमलव २१ प्रतिशत बेरुजु देखिएको छ । परिवर्तन गाउँपालिकामा एक अर्ब १९ करोड ६६ लाख २४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ८० लाख ७७ हजार अर्थात् शून्य दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ ।

यसैगरी माडी गाउँपालिकामा एक अर्ब चार करोड २४ लाख १० हजार रुपैयाँको लेखापरीक्षण गर्दा एक करोड ७३ लाख ८४ हजार अर्थात् एक दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । रुन्टीगढी गाउँपालिकामा एक अर्ब २२ करोड ८८ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण हुँदा ५६ लाख ४२ हजार अर्थात् शून्य दशमलव ४६ प्रतिशत बेरुजु देखिएको छ । लुंग्री गाउँपालिकामा एक अर्ब २० करोड ४० लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६८ लाख २९ हजार अर्थात् शून्य दशमलव ५७ प्रतिशत बेरुजु देखिएको छ ।

गंगादेव गाउँपालिकामा एक अर्ब एक करोड ४१ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा एक करोड १३ लाख ५५ हजार अर्थात् एक दशमलव १२ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी सुनछहरी गाउँपालिकामा एक अर्ब पाँच करोड १७ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६५ लाख ३६ हजार अर्थात् शून्य दशमलव ६२ प्रतिशत बेरुजु देखिएको छ भने सुनिलस्मृति गाउँपालिकामा एक अर्ब ३२ करोड ६० लाख ७० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ७८ लाख २२ हजार अर्थात् शून्य दशमलव ५९ प्रतिशत बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा गंगादेव गाउँपालिकामा तीन करोड ५३ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको थियो भने माडी गाउँपालिकामा तीन करोड १० लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको थियो । यसैगरी लुंग्री गाउँपालिकामा तीन करोड २६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले हिनामिना, अनियमित खर्च, प्रमाण कागजातको अभाव, पेस्की फस्र्योट नगर्नु, जिम्मेवारी नसार्नु तथा असुल गर्नु पर्ने रकम असुल नगर्नुलाई बेरुजुमा समावेश गर्ने गरेको छ । रोल्पाका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम घट्दो क्रममा देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनमा २८ करोड एक लाख १३ हजार रुपैयाँ बेरुजु रहेकोमा ६२ औँ प्रतिवेदनमा १८ करोड ४० लाख ४३ हजार रुपैयाँ पुगेको थियो । अहिले सार्वजनिक ६३ औँ प्रतिवेदनमा बेरुजु घटेर १० करोड १८ लाख सात हजार रुपैयाँमा झरेको छ ।