लुम्बिनी कप कराँते प्रतियोगिता हुने

तुलसीपुर, २५ जेठ । तुलसीपुरमा प्रथम अन्तर्राष्ट्रिय स्कुलस्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता २०८३ हुने भएको छ । नेपाल कराँते महासंघ लुम्बिनीले तुलसीपुरमा पत्रकार समेलन गरी जेठ २८ देखि ३१ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष पदमबहादुर बस्नेतले नेपाल तथा विदेशका गरी छ सय खेलाडी तथा प्रशिक्षक तुलसीपुर आउने उनले जानकारी दिए । तुलसीपुर–६ स्थित बहुउद्देश्यी कभर्डहलमा प्रतियोगिता आयोजना हुने र त्यसमा नेपाल र विदेशका गरी झन्डै ८० विद्यालयका खेलाडी सहभागी हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा भाग लिनका लागि हालसम्म भारत, बङ्गलादेश र भुटानका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् । सबैभन्दा धेरै झन्डै ८० का हाराहारीमा भारतका खेलाडी, त्यसपछि बङ्गलादेश र भुटानका खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेको अध्यक्ष बस्नेतले बताएका थिए ।

महिला, पुरुष दुवैका लागि २५ केजी तौल समूहदेखि ८४ केजी तौल समूहका खेलाडीले खुल्ला प्रतिस्र्धा गर्न पाउने छन् । कराँतेतर्फ नयाँ पुस्ताको ध्यानाकर्षण गराउन, विभिन्न देशबिच भाइचारा कायम राख्न तथा खेल पर्यटनका माध्यमबाट दाङसहित नेपालको विकासमा टेवा पु¥याउने उद्देश्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशको दाङमा प्रथम अन्तर्राष्ट्रिय स्कुल स्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, पाकिस्तान तथा श्रीलङ्काका खेलाडीको सहभागिता रहने जनाइएको छ । विद्यालयस्तरका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउने, कराँते खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका बिजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता आयोजना गर्न करिब ४४ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । यो रकममध्य करिब पाँच लाख लुम्बिनी प्रदेश खेलकुद मन्त्रालय, नेपाल कराँते महासंघ लुम्बिनीलगायतको सहयोगमा जोहो गरिने भएको छ । प्रतियोगिताका लागि व्यावसायिक घराना र विज्ञापनदाताको खोजी गर्नेबारे छलफल भइरहेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले जानकारी दिए ।