परीक्षा केन्द्रित शिक्षाबाट निरन्तर मूल्याङ्कनतर्फ

यादव गिरी

प्रारम्भ

नेपालमा विद्यालय शिक्षामा विद्यार्थीको सिकाइ र क्षमताको मूल्याङ्कन लामो समयदेखि परीक्षामुखी प्रणालीमा आधारित रहँदै आएको छ । वार्षिक, अर्धवार्षिक वा त्रैमासिक परीक्षाले विद्यार्थीको उपलब्धि मापन गर्ने परम्पराले सिकाइ प्रक्रियाभन्दा अङ्कलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसले शिक्षाको मूल उद्देश्य ज्ञान, सीप, व्यवहार र जीवनोपयोगी दक्षताको विकासभन्दा प्रतिस्पर्धा र उच्च अङ्क प्राप्तिमा केन्द्रित प्रवृत्ति बढाएको छ ।

आधुनिक शैक्षिक दृष्टिकोणले भने मूल्याङ्कनलाई एकपटकको परीक्षामा सीमित नगरी निरन्तर अवलोकन, सहभागिता, व्यवहार, सिर्जनशीलता र दैनिक सिकाइ प्रक्रियामा आधारित हुनुपर्ने आवश्यकता औँल्याउँछ । यही अवधारणाअनुसार विकास भएको निरन्तर मूल्याङ्कन प्रणालीले विद्यार्थीको वौद्धिक, सामाजिक, भावनात्मक र व्यवहारिक पक्षलाई समग्र रुपमा मूल्याङ्कन गर्ने लक्ष्य राख्छ । यसमा शिक्षकले कक्षागत गतिविधि, परियोजना कार्य, प्रस्तुतीकरण र कार्यसम्पादनका आधारमा निरन्तर प्रगति अभिलेखीकरण गर्छन् ।

नेपालमा पनि प्रारम्भिक तहमा, विशेषगरी कक्षा ५ सम्म, परीक्षा रहित निरन्तर मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ, जसको उद्देश्य बालमैत्री, तनावमुक्त र सिकाइमुखी वातावरण निर्माण गर्नु हो तर व्यवहारमा अझै पनि परीक्षा नै सिकाइको प्रमुख मापन हो भन्ने धारणा बलियो रुपमा विद्यमान छ । यसले निरन्तर मूल्याङ्कनको वास्तविक उद्देश्य र प्रभावकारिताबारे स्पष्ट बुझाइ विकास हुन नसकेको संकेत गर्छ । त्यसैले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि थप सचेतना र व्यावहारिक सुदृढीकरण आवश्यक छ ।

शिक्षाको उद्देश्य : अङ्क कि जीवन ?

आधुनिक शैक्षिक दृष्टिकोणले शिक्षालाई केवल ज्ञान वा सूचना हस्तान्तरणको माध्यम होइन, व्यक्तिको समग्र विकास गर्ने प्रक्रिया मान्छ । शिक्षाको मुख्य उद्देश्य विद्यार्थीमा वौद्धिक, सामाजिक, भावनात्मक, नैतिक र व्यवहारिक क्षमताको विकास गर्दै उनीहरुलाई जीवनका विविध चुनौतीसँग जुझ्न सक्षम बनाउनु हो ।

परम्परागत रुपमा शिक्षालाई परीक्षा र अङ्कसँग जोड्ने प्रवृत्ति बलियो भए पनि आज शिक्षाविद्हरुले अङ्कलाई शिक्षाको अन्तिम लक्ष्य होइन, सीमित सूचक मात्र मान्नु पर्ने बताउँछन् । ड्युईले शिक्षालाई ‘जीवनकै अनुभव’ भनेका छन् भने पियाजेले बालबालिकाले अनुभव र अभ्यासबाट ज्ञान निर्माण गर्छन् भन्ने निर्माणवादी दृष्टिकोण अघि सारेका छन् ।

यसले सिकाइ सक्रिय र व्यवहारिक प्रक्रिया हो भन्ने स्पष्ट गर्छ । यदि शिक्षा केवल अङ्कमा सीमित भयो भने स्मरणशक्ति मात्र बलियो हुन्छ, तर सिर्जनशीलता, आलोचनात्मक सोच, समस्या समाधान क्षमता र व्यवहारिक दक्षता कमजोर हुनसक्छ । जीवनका वास्तविक समस्या बहुआयामिक हुने भएकाले तिनका समाधानका लागि यस्ता सिप अत्यावश्यक हुन्छन् ।

त्यसैले आजको आवश्यकता यस्तो शिक्षा हो जसले विद्यार्थीलाई केवल परीक्षामा सफल होइन, जीवनमा सक्षम बनाओस् । मूल्याङ्कन पनि त्यहीअनुसार ज्ञानको प्रयोग, व्यवहार, सहकार्य, अनुकूलन क्षमता र सामाजिक जिम्मेवारीमा आधारित हुनुपर्छ । वास्तविक शिक्षा त्यही हो, जसले व्यक्तिलाई जिम्मेवार, सिर्जनशील र समाजप्रति उत्तरदायी नागरिकका रुपमा तयार गर्छ ।

परीक्षा र मूल्याङ्कन : दुई फरक शैक्षिक अवधारणा

नेपालको विद्यालय शिक्षामा लामो समयसम्म परीक्षा र मूल्याङ्कनलाई समानार्थी अवधारणाका रुपमा बुझ्ने प्रवृत्ति रहिआएको छ । तर शैक्षिक दृष्टिकोणबाट हेर्दा यी दुई पूर्णतः फरक अर्थ र उद्देश्य भएका प्रक्रियाहरु हुन् । परीक्षा मूल्याङ्कनको एउटा उपकरण वा माध्यम मात्र हो, सम्पूर्ण मूल्याङ्कन प्रक्रिया होइन ।

सामान्यतः परीक्षा निश्चित समय, निश्चित प्रश्नपत्र तथा पूर्वनिर्धारित विषयवस्तुको आधारमा विद्यार्थीको उपलब्धि परीक्षण गर्ने औपचारिक प्रक्रिया हो । यसले मुख्यतः विद्यार्थीले कुनै निश्चित अवधिमा कति ज्ञान आर्जन गरेको छ भन्ने पक्षको मापन गर्दछ। परीक्षा प्रायः सीमित समयभित्र प्राप्त हुने उत्तरहरुमा आधारित हुने भएकाले यसले विद्यार्थीको सिकाइको एउटा पक्ष मात्र प्रतिबिम्बित गर्न सक्छ ।

त्यसैले परीक्षा आवश्यक भए पनि यसलाई विद्यार्थीको समग्र क्षमता र सिकाइको अन्तिम मापकका रुपमा लिनु उपयुक्त हुँदैन । यसको विपरीत, मूल्याङ्कन विद्यार्थीको सम्पूर्ण सिकाइ प्रक्रिया, उपलब्धि, व्यवहार, सिप, अभिव्यक्ति तथा प्रगतिबारे निरन्तर अध्ययन, विश्लेषण र निर्णय गर्ने व्यापक तथा बहुआयामिक प्रक्रिया हो ।

उदाहरणका रुपमा विज्ञान विषयमा ‘प्रकाश संश्लेषण’ सम्बन्धी परिभाषा सही रुपमा लेख्न सक्नु ज्ञानात्मक उपलब्धिको सूचक हुनसक्छ, तर त्यससँग सम्बन्धित प्रयोगात्मक गतिविधिमा सहभागिता जनाउनु, बिरुवाको वृद्धि तथा विकासको नियमित अवलोकन गर्नु, प्राप्त तथ्यहरुको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गर्नु, समूहगत छलफलमा सक्रिय भूमिका निर्वाह गर्नु तथा सिकाइलाई दैनिक जीवनका अनुभवहरुसँग जोड्न सक्नु अझ गहिरो र अर्थपूर्ण सिकाइका सङ्केत मानिन्छन् ।

यस्ता पक्षहरुलाई केवल लिखित परीक्षाबाट प्रभावकारी रुपमा मापन गर्न कठिन हुन्छ । त्यसैले आधुनिक शैक्षिक अभ्यासले परीक्षा र मूल्याङ्कनबिच स्पष्ट भिन्नता स्वीकार गर्दै मूल्याङ्कनलाई विद्यार्थीको ज्ञान, सीप, दृष्टिकोण, व्यवहार, सिर्जनशीलता तथा व्यवहारिक प्रयोग क्षमतासमेत समेट्ने समग्र प्रक्रियाका रुपमा परिभाषित गरेको छ । निरन्तर मूल्याङ्कनको मूल मर्म पनि यही हो, जसले विद्यार्थीको वास्तविक सिकाइलाई बहुआयामिक रुपमा पहिचान र अभिलेखीकरण गर्न सहयोग पु¥याउँछ ।

निरन्तर मूल्याङ्कनको सैद्धान्तिक आधार

निरन्तर मूल्याङ्कनको अवधारणा आधुनिक शैक्षिक मनोविज्ञान र विशेषगरी निर्माणवादी शिक्षण सिद्धान्तसँग गहिरो रुपमा सम्बन्धित छ । निर्माणवादी सिद्धान्तका अनुसार ज्ञान कुनै स्थिर वस्तु होइन, जुन शिक्षकबाट विद्यार्थीमा सिधै हस्तान्तरण गरिन्छ; बरु विद्यार्थी स्वयं आफ्नो अनुभव, अवलोकन, प्रयोग, समस्या समाधान तथा सामाजिक अन्तरक्रियामार्फत् ज्ञानको निर्माण गर्ने सक्रिय सिकाइकर्ता हो ।

यस दृष्टिकोणले सिकाइलाई एक गतिशील र निरन्तर चलिरहने प्रक्रिया रुपमा हेर्छ, जहाँ विद्यार्थीले आफ्नै अनुभवका आधारमा अर्थ निर्माण गर्दछ । त्यसैले शिक्षण र मूल्याङ्कन दुवै प्रक्रिया विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने मान्यता यस सिद्धान्तले अघि सार्छ । यस सन्दर्भमा मूल्याङ्कन केवल अन्तिम परिणाम मापन गर्ने साधन नभई सिकाइ प्रक्रियालाई सहजीकरण गर्ने महत्वपूर्ण शैक्षिक उपकरणका रुपमा विकसित भएको छ ।

निर्माणवादी आधारमा विकसित निरन्तर मूल्याङ्कनले केही प्रमुख शैक्षिक मान्यतालाई स्वीकार गर्दछ । पहिलो, प्रत्येक विद्यार्थीको सिकाइ गति, क्षमता, रुचि र बुझाइ फरक–फरक हुन्छ, त्यसैले सबैका लागि एउटै मापदण्ड पर्याप्त हुन सक्दैन । दोस्रो, सिकाइ एक पटकमा सम्पन्न हुने घटना होइन, बरु निरन्तर अभ्यास, अनुभव र पुनःसुधारमार्फत् अघि बढ्ने प्रक्रिया हो ।

तेस्रो, सिकाइ प्रक्रियामा हुने त्रुटि वा गल्ती असफलता होइन, बरु सुधार र गहिरो बुझाइका लागि महत्वपूर्ण अवसर हो । चौथो, प्रभावकारी पृष्ठपोषणले विद्यार्थीको सिकाइ सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ । पाँचौँ, मूल्याङ्कनको मुख्य उद्देश्य केवल सिकाइको मापन गर्नु मात्र नभई सिकाइलाई अझ प्रभावकारी बनाउनु पनि हो । यिनै आधारले आधुनिक मूल्याङ्कन प्रणालीलाई परम्परागताबाट Assessment for Learning हुँदै Assessment as Learning तर्फ रुपान्तरण गरेका छन्, जसले मूल्याङ्कनलाई सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रुपमा स्थापित गरेको छ ।

प्रारम्भिक बालशिक्षामा परीक्षा किन अनुपयुक्त हुन्छ

बाल मनोविज्ञानका अध्ययनले प्रारम्भिक उमेरका बालबालिकाको सिकाइ शैली वयस्कहरुको भन्दा पूर्ण रुपमा फरक हुने स्पष्ट गरेको छ । यस उमेरका बालबालिका मुख्यतः खेल, प्रत्यक्ष अनुभव, अनुकरण तथा सक्रिय सहभागितामार्फत् सिक्ने स्वाभाविक प्रवृत्तिका हुन्छन् ।

विशेषगरी ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा जिज्ञासा अत्यधिक हुने, नयाँ कुरा खोजी गर्ने र प्रयोग गर्ने प्रवृत्ति प्रबल रहने, कल्पनाशक्ति अत्यन्त सक्रिय रहने तथा सामाजिक अन्तरक्रियामार्फत् सिकाइलाई अर्थपूर्ण बनाउने क्षमता विकसित भइरहेको हुन्छ ।

यस अवस्थामा सिकाइलाई औपचारिक परीक्षा प्रणालीसँग मात्र सीमित गर्नु उनीहरुको प्राकृतिक सिकाइ प्रक्रियासँग मेल नखाने देखिन्छ । बालबालिका अझै अवधारणात्मक रुपमा पूर्ण परिपक्व नभइसकेका हुँदा उनीहरुलाई कण्ठस्थ उत्तर वा निश्चित समयसीमामा आधारित परीक्षण प्रणालीले पूर्ण रुपमा प्रतिनिधित्व गर्न सक्दैन ।

यदि प्रारम्भिक तहको सिकाइलाई अत्यधिक रुपमा परीक्षा र अङ्कसँग जोडियो भने त्यसले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्ने सम्भावना रहन्छ । यसले उनीहरुमा डर, तनाव, असुरक्षा तथा आत्मविश्वासको कमी जस्ता भावनात्मक समस्या सिर्जना गर्न सक्छ ।

साथै, निरन्तर असफलताको अनुभवले सिकाइप्रति नकारात्मक दृष्टिकोण विकास गराउन सक्छ, जसले दीर्घकालीन रुपमा शिक्षाप्रतिको रुचि कमजोर बनाउने जोखिम रहन्छ । यही कारणले धेरै विकसित मुलुकले प्रारम्भिक बालशिक्षामा औपचारिक परीक्षा प्रणालीलाई न्यून वा पूर्ण रुपमा हटाउँदै निरन्तर अवलोकन, गतिविधि आधारित सिकाइ तथा खेलमूलक मूल्याङ्कनलाई प्राथमिकता दिएका छन् ।

यसले बालबालिकाको प्राकृतिक विकास, सिर्जनशीलता र आत्मविश्वासलाई संरक्षण गर्दै सिकाइलाई रमाइलो, सुरक्षित र अर्थपूर्ण अनुभवका रुपमा विकास गर्न सहयोग पु¥याउँछ । निरन्तर मूल्याङ्कनको सैद्धान्तिक आधार र प्रारम्भिक तहमा परीक्षा उपयुक्तता निरन्तर मूल्याङ्कन आधुनिक शैक्षिक मनोविज्ञान र निर्माणवादी शिक्षण सिद्धान्तमा आधारित छ । यस दृष्टिकोणअनुसार ज्ञान शिक्षकबाट सिधै हस्तान्तरण हुने होइन, बरु विद्यार्थीले आफ्ना अनुभव, अवलोकन, अभ्यास र सामाजिक अन्तरक्रियामार्फत आफैं निर्माण गर्ने प्रक्रिया हो ।

त्यसैले सिकाइ र मूल्याङ्कन दुवै विद्यार्थीकेन्द्रित र प्रक्रियामुखी हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । यस आधारमा निरन्तर मूल्याङ्कनले केही प्रमुख सिद्धान्त स्वीकार गर्छः प्रत्येक विद्यार्थीको सिकाइ गति र क्षमता फरक हुन्छ; सिकाइ निरन्तर अभ्यास र सुधारको प्रक्रिया हो; गल्ती सिकाइको हिस्सा हो, असफलता होइन; प्रभावकारी पृष्ठपोषणले सिकाइ सुधार गर्छ; र मूल्याङ्कनको उद्देश्य केवल मापन होइन, सिकाइ सुधार पनि हो । यही कारणले मूल्याङ्कन ‘सिकाइको अन्त्य’ होइन, ‘सिकाइको हिस्सा’ बन्दै गएको छ ।

बालबालिकाको प्रारम्भिक तहमा परीक्षा प्रणाली उपयुक्त मानिँदैन, किनकि उनीहरु खेल, अनुभव, अनुकरण र सहभागितामार्फत् सिक्ने स्वाभाविक प्रवृत्तिका हुन्छन् ।यस उमेरमा उनीहरुको कल्पनाशक्ति र जिज्ञासा अत्यधिक सक्रिय हुने भएकाले औपचारिक परीक्षा र अङ्कले उनीहरुको वास्तविक क्षमता पूर्ण रुपमा देखाउन सक्दैन । यस्तो अवस्थामा परीक्षा केन्द्रित मूल्याङ्कनले बालबालिकामा डर, तनाव र आत्मविश्वासको कमी जस्ता नकारात्मक असर पार्न सक्छ, जसले सिकाइप्रतिको रुचि घटाउन सक्छ । त्यसैले प्रारम्भिक तहमा निरन्तर अवलोकन, गतिविधि आधारित सिकाइ र खेलमूलक मूल्याङ्कन बढी उपयुक्त मानिन्छ, जसले बालबालिकाको प्राकृतिक विकास, सिर्जनशीलता र आत्मविश्वासलाई सुरक्षित राख्छ ।

निरन्तर मूल्याङ्कनको वास्तविक प्रक्रिया

निरन्तर मूल्याङ्कनलाई धेरैले केवल परम्परागत परीक्षा प्रणाली हटाउने विकल्पका रुपमा बुझ्ने गरेको पाइन्छ तर वास्तविकतामा यो अवधारणा त्यसभन्दा निकै व्यापक, व्यवस्थित र जिम्मेवारीपूर्ण शैक्षिक प्रक्रिया हो । निरन्तर मूल्याङ्कनले विद्यार्थीको सिकाइलाई केवल अन्तिम परिणाममा सीमित नगरी सम्पूर्ण सिकाइ यात्रालाई समेट्ने प्रयास गर्दछ ।

यसमा विद्यार्थीको ज्ञान, सिप, व्यवहार, सहभागिता र प्रगतिलाई निरन्तर रुपमा अवलोकन, विश्लेषण र अभिलेखीकरण गरिन्छ । त्यसैले यो प्रक्रिया साधारण परीक्षा सञ्चालनभन्दा बढी सूक्ष्म, दीर्घकालीन र शिक्षकको व्यावसायिक क्षमतासँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । निरन्तर मूल्याङ्कनको पहिलो चरण प्रारम्भिक निदान (diagnostic assessment) हो ।

यस चरणमा शिक्षकले विद्यार्थीको पूर्वज्ञान, सिकाइ स्तर, रुचि, सिकाइ शैली तथा आवश्यकताको पहिचान गर्छ । यसले शिक्षकलाई कक्षाकोठामा उपयुक्त शिक्षण रणनीति अपनाउन सहयोग पु¥याउँछ । प्रत्येक विद्यार्थी एउटै पृष्ठभूमिबाट नआउने भएकाले प्रारम्भिक मूल्याङ्कनले शिक्षणलाई विद्यार्थीकेन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यस चरणले सिकाइ प्रक्रियाको आधार तयार गर्दछ, जसमा आगामी शिक्षण र मूल्याङ्कनका गतिविधिहरु निर्माण गरिन्छ ।

दोस्रो चरण दैनिक अवलोकन हो, जुन निरन्तर मूल्याङ्कनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ । यसमा शिक्षकले विद्यार्थीको कक्षाकोठाभित्रको व्यवहार, सिकाइप्रति देखाएको चासो, प्रश्न सोध्ने प्रवृत्ति, समूहगत कार्यमा सहभागिता तथा साथीसँगको अन्तरक्रियालाई निरन्तर रुपमा अवलोकन गर्छ । यो अवलोकन औपचारिक परीक्षा जस्तो सीमित समयको नभई सम्पूर्ण सिकाइ अवधिभर चलिरहने प्रक्रिया हो । यसले विद्यार्थीको वास्तविक सिकाइ व्यवहार बुझ्न शिक्षकलाई सहयोग गर्छ ।

तेस्रो चरण सिकाइ प्रमाण सङ्कलन हो, जसमा विद्यार्थीका विभिन्न कार्यलाई आधार बनाइन्छ । कक्षाकार्य, गृहकार्य, परियोजना कार्य, सिर्जनात्मक सामग्री, मौखिक तथा लिखित प्रस्तुतीकरण, तथा प्रयोगात्मक गतिविधि यसका प्रमुख उदाहरण हुन् । यस्ता प्रमाणले विद्यार्थीको ज्ञान मात्र होइन, उसको सिप, सिर्जनशीलता र व्यवहारिक बुझाइलाई पनि उजागर गर्छन् । यस चरणले सिकाइलाई कागजी परीक्षणभन्दा व्यवहारिक र अनुभवमूलक बनाउँछ ।

चौथो चरण अभिलेखीकरण हो, जसमा प्रत्येक विद्यार्थीको प्रगति व्यवस्थित रुपमा सुरक्षित राखिन्छ । शिक्षकले विद्यार्थीको सिकाइ सम्बन्धी तथ्य, उपलब्धि, कमजोरी र सुधारको विवरण नियमित रुपमा अभिलेख गर्दछ । यसले समयक्रममा विद्यार्थीको विकास यात्रा स्पष्ट रुपमा देखाउन सहयोग गर्छ र अभिभावक तथा अन्य सरोकारवालासँग जानकारी आदानप्रदान गर्न आधार प्रदान गर्छ ।

पाँचौँ चरण विश्लेषण हो । यस चरणमा शिक्षकले सङ्कलित तथ्य र प्रमाणको आधारमा विद्यार्थीका सबल र कमजोर पक्ष पहिचान गर्छ । कुन क्षेत्रमा विद्यार्थीले राम्रो प्रदर्शन गरेको छ र कुन क्षेत्रमा सुधार आवश्यक छ भन्ने कुरा स्पष्ट रुपमा विश्लेषण गरिन्छ । यसले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन मार्गदर्शन गर्दछ ।

छैटौँ चरण पृष्ठपोषण (feedback) हो, जुन निरन्तर मूल्याङ्कनको सुधारात्मक पक्ष हो । यसमा शिक्षकले विद्यार्थी र आवश्यक परेमा अभिभावकलाई पनि सिकाइ सुधारका लागि सुझाव प्रदान गर्छ । पृष्ठपोषणले विद्यार्थीलाई आफ्ना कमजोरी सुधार गर्न र सबल पक्षलाई अझ सुदृढ बनाउन प्रेरित गर्छ। यो प्रक्रिया सकारात्मक र सहयोगात्मक हुनु आवश्यक हुन्छ, जसले विद्यार्थीको आत्मविश्वास बढाउँछ ।

सातौँ चरण पुनःसहयोग हो, जसअन्तर्गत कमजोर सिकाइ भएका विद्यार्थीलाई अतिरिक्त सहायता प्रदान गरिन्छ । यो सहयोग व्यक्तिगत वा समूहगत रुपमा हुन सक्छ र यसको उद्देश्य सबै विद्यार्थीलाई अपेक्षित सिकाइ स्तरमा पु¥याउनु हो । यसले सिकाइमा समावेशीता सुनिश्चित गर्छ र कुनै पनि विद्यार्थी पछाडि नपरोस् भन्ने सुनिश्चितता प्रदान गर्छ ।

यसरी निरन्तर मूल्याङ्कन केवल अन्तिम निर्णय दिने प्रक्रिया होइन, बरु सिकाइ सुधार गर्ने, विद्यार्थीलाई मार्गदर्शन गर्ने र समग्र शैक्षिक विकास सुनिश्चित गर्ने निरन्तर प्रक्रिया हो । यसले मूल्याङ्कनलाई ‘अन्त्यको निर्णय’ बाट ‘सिकाइको सहयात्रा’ मा रुपान्तरण गर्दछ, जसले आधुनिक शिक्षाको वास्तविक उद्देश्यलाई प्रतिबिम्बित गर्दछ ।

शिक्षक र अभिभावकको भूमिका

निरन्तर मूल्याङ्कनको प्रभावकारिता मुख्यतः शिक्षकको दक्षता र सक्रियतामा निर्भर हुन्छ । शिक्षकले विद्यार्थीको सिकाइलाई निरन्तर अवलोकन गर्न, सिकाइका प्रमाण सङ्कलन गर्न, व्यवस्थित अभिलेख राख्न र नियमित पृष्ठपोषण दिन आवश्यक हुन्छ । साथै, प्रत्येक विद्यार्थीको व्यक्तिगत भिन्नता बुझ्दै उनीहरुलाई उचित मार्गदर्शन गर्नु पनि उनको महत्वपूर्ण जिम्मेवारी हो । यस प्रणालीमा शिक्षक केवल अध्यापक नभई मार्गदर्शक, अवलोकनकर्ता र मूल्याङ्कनकर्ताको भूमिकामा रहन्छन् ।

अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । उनीहरुले बालबालिकाको सिकाइमा चासो राख्ने, विद्यालयसँग निरन्तर सम्पर्कमा रहने, घरमा सिकाइमैत्री वातावरण बनाउने र अङ्कभन्दा सिकाइ प्रक्रियालाई महत्व दिने गर्नुपर्छ । साथै, बालबालिकाको आत्मविश्वास बढाउन सहयोग गर्नु अभिभावकको मुख्य दायित्व हो । विद्यालय र घरबीचको सहकार्य मजबुत भए मात्र निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्छ ।

अन्त्यमा,

कक्षा ५ सम्मको परीक्षा रहित निरन्तर मूल्याङ्कन केवल प्रशासनिक परिवर्तन होइन, यो शिक्षाको सोच, उद्देश्य र अभ्यासमा आएको आधारभूत रुपान्तरण हो । यसको मूल उद्देश्य विद्यार्थीलाई अङ्कको प्रतिस्पर्धाबाट बाहिर निकाल्दै वास्तविक सिकाइ, सिप विकास, व्यवहार सुधार र समग्र व्यक्तित्व निर्माणतर्फ उन्मुख गर्नु हो ।

शिक्षाको सफलता यदि केवल ग्रेड र प्रतिशतमा सीमित रह्यो भने निरन्तर मूल्याङ्कनको सार हराउँछ । वास्तविक शिक्षा उत्तरपुस्तिकामा होइन, विद्यार्थीको सोच, व्यवहार, अभिव्यक्ति, सिर्जनशीलता, सहकार्य र जीवन जिउने क्षमतामा देखिन्छ ।

त्यसैले यस प्रणालीलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक, विद्यालय, स्थानीय तह र राज्य सबैको समान समझदारी र प्रतिबद्धता आवश्यक हुन्छ । जब मूल्याङ्कन सिकाइ सुधारको साधन बन्छ, तब मात्र शिक्षा गुणस्तरीय, बालमैत्री, समावेशी र जीवनोपयोगी बन्न सक्छ । यही नै आधुनिक शिक्षाको वास्तविक लक्ष्य हो ।