प्लास्टिक प्रयोग नियन्त्रणसँगै पानीको स्रोत संरक्षणमा जोड

विश्व वातावरण दिवस

गोरक्ष समाचारदाता

दाङ, २३ जेठ । वातावरण संरक्षणका लागि प्लास्टिक प्रयोग नियन्त्रणसँगै पानीको स्रोत संरक्षणका लागि सचेतनामूलक कार्यक्रमसँगै विद्यमान नीति तथा कानुन कडाइका साथ कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसरमा मानवकल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले शुक्रवार घोराहीमा आयोजना गरेको ‘दाङ जिल्लाको पर्यावरण’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले दाङको वातावरणीय चुनौती न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन् ।

‘समृद्ध भविष्यको आधार, जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बढ्दो प्लास्टिक तथा सिसाजन्य सामग्रीको प्रयोगले वातावरणमा गम्भीर असर पु¥याइरहेको भन्दै न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म सचेतना आवश्यक रहेको बताए । उनले वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै प्रदूषण बढाउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि शर्माले पानीका स्रोत संरक्षणका लागि कृत्रिम जलाशय निर्माण, वृक्षारोपण, प्लास्टिक झोलाको प्रयोग नियन्त्रण तथा राप्ती नदीमा करेन्ट र विष प्रयोग रोक्ने अभियान सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रभावकारी बनाउनु पर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख मदन वलीले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाइएको भए पनि पूर्ण कार्यान्वयन हुन बाँकी रहेको बताए । उनले प्लास्टिक तथा सिसाजन्य सामग्रीको बढ्दो प्रयोग नियन्त्रण गर्न पुनः प्रयोग गर्न सकिने सामग्रीलाई घरमै प्रयोग गर्ने वातावरण बताउन नागरिकलाई आग्रह गरेका थिए । उनले पर्यटकीय स्थलमा रक्सीका बोतललगायतको प्लास्टिकका सामग्री प्रयोग निरुतसाहित गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीले वातावरण संरक्षणसम्बन्धी नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्न आवश्यक रहेको र अटेर गर्नेमाथि कानुनी कारबाही हुनु पर्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले सरसफाइ, हरियाली प्रवर्धन तथा वातावरणीय अभियानलाई प्रभावकारी बनाउन टोल विकास संस्थालाई सक्रिय बनाउनु पर्ने बताएका थिए । बस्तीबिच सञ्चालनमा रहेका सिमेन्ट उद्योगबाट धुवाँ, धुलो तथा ध्वनि प्रदूषण बढिरहेको भन्दै यस्ता उद्योगको उचित व्यवस्थापन तथा स्थानान्तरणका लागि सम्बन्धित निकायले पहल गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

विकास निर्माणका कार्यमा वातावरणमैत्री संरचनालाई प्राथमिकता दिनु पर्नेमा समेत जोड दिएका थिए । वृक्षारोपण, पानीका स्रोतको संरक्षण, फोहोरको जथाभावी व्यवस्थापन नियन्त्रण तथा प्राकृतिक उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने सहभागीको भनाइ थियो ।

मानवकल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी, मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका पूर्वअध्यक्ष श्रीमन न्यौपाने, निर्मला गौतम रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, त्रिभुवननगर जेसीजका अध्यक्ष मिनाराज भाट, किरणकुमार रेग्मी, सुवोध रेग्मी, भोला अधिकारी, उमाकान्त भण्डारी, शुष्मा रेग्मीलगायतले वातावरण संरक्षणका लागि नागरिक स्तरबाटै सचेतना अभिवृद्धि गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक प्रदीप मजगैयाँले वातावरण संरक्षण क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराएका थिए । केन्द्रकी कोषाध्यक्ष रिमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मायाकुमारी पोख्रेलले गरेकी थिइन् ।