सत्य के हो, असत्य के हो ?

एकराज शर्मा अधिकारी

मानिस भन्दछन् देखिएको वस्तु सत्य हो । नदेखिएको वस्तु असत्य हो तर वेदले भन्छ– देखेको वस्तु सत्य होइन । यो सबै मायाको खेल हो । संसार एउटा रंगमञ्च हो । जस्तो रंगमञ्चमा कलाकारहरुले अभिनय गर्ने समय पूर्व निर्धारित हुन्छ, त्यस्तै जन्म र मृत्यु पनि पूर्व निर्धारित समयमा हुन्छ, यो सत्य हो । एकक्षण पनि कसैले तलमाथि गर्न सक्दैन ।

सत्य परिवर्तन हुँदैन । जसले सत्यलाई परिर्वतन गर्न खोज्छ, त्यो खाल्टोमा पर्छ । सत्यलाई लुकाउन धेरै असत्य कर्म गर्नुपर्छ । सत्यको हार कहिल्यै पनि हुँदैन । महाभारतको युद्धमा सत्यको नै जित भएको थियो । पाण्डवहरु सत्यको पक्षमा थिए, कौरवहरु असत्यको पक्षमा थिए । महाभारतको युद्ध सत्य र असत्यको युद्ध हो । आत्मविश्वास नभएको मानिसले सत्यलाई असत्य देख्छ, असत्यलाई सत्य देख्छ । यो संसार असत्य हो ।

शरीर असत्य हो तर मानिसले सत्य ठान्दछन् । संसार कसरी असत्य हो भने जागृत अवस्थामा संसार देखिन्छ । त्यस्तै शरीर पनि सुशिप्त अवस्थामा हराउँछ । त्यसैले दुवै असत्य हुन् । जो सधैभरी देखिन्छ त्यो सत्य हो । संसारमा एउटा चिज सत्य छ, त्यो हो आत्मा । आत्मा कहिले कुनै अवस्थामा पनि हराउँदैन । आकाशमा सूर्य कहिले पनि हराउँदैनन्, बादलले मात्र ढाक्न सक्छ तर सूर्य रहिरहन्छन् । आत्मविश्वास भएन भने मानिस सत्यलाई पनि असत्य देख्छ । यहाँ एउटा सामान्य उदाहरण हेरौँ ।

एउटा गाउँमा एकजना सोझा ब्राहमण थिए । उनले एकदिन एउटा बोका किनेर ल्याएछन् । उनले त्यो बोका घर लैजान लागेको देखेर त्यो बोका कसरी हात पार्ने भनेर चारजना ठगहरु जम्मा भएर योजना बनाएछन् । ती ब्राहमणको घर जाने बाटोमा चारवटा ठगहरु बसेछन् । अलि पर गएपछि एकजना ठगले भने– ब्राहमण जी तपाईले यो कुकुर कति राम्रो े रहेछ । कहाँबाट ल्याउनुभएको हो ? ठगले सोधे । ब्राहमणले भने– यो कुकुर होइन बोका हो ।

पचास रुपैयाँमा ल्याएको हुँ भने । ब्राहमणले मनमा सोच्दै अगाडि बढे अलि पर पुगेपछि अर्को एकजना ठगसँग भेट भयो । उसले पनि भन्यो– ब्राहमण बाजे तपाईले यो कुकुर किनेर ल्याउनुभएको कि भेटाएर ल्याउनु भएको हो । ब्राहमणले भने– यो कुकुर होइन बोका हो । पचास रुपैयाँमा किनेर ल्याएको भनेपछि त्यो आफ्नो बाटो लाग्यो । अलि पर जाँदा अर्को ठगले भन्यो– कति कुकुर राम्रो हो । मलाई पनि यस्तै कुकुर पाल्न मन लागेको थियो भनेपछि ब्राहमणलाई शंका लाग्यो ।

के यो साच्चै भन्दा बोका होइन छ ? घर लगेपछि गाउँघरले के भन्लान् भन्ने विचार भयो । तिमीलाई मन लाग्छ भने यो कुकुर लैजाउ दिएर पठाए । यसै कारणले कुनै पनि कुरालाई वारम्बार शंकाको दृष्टिले हेर्न थाल्यो भने सत्य पनि असत्य हुन जान्छ । असत्यपछि सत्य हुनजान्छ । यस्तै किसिमले यस संसारमा कयौँ स्वार्थहरुले विभिन्न मत, सप्रदाय, परम्परा र रुढीवादलाई सत्य हो भनेर प्रचार गरेर निर्वाेद सोझा साझा जनतालाई झुक्काएर आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् ।

यस्ता दल र सप्रदायसँग सतर्क हुनुपर्दछ । मुखमा एउटा कुरा व्यवहारमा अर्को कुरा गर्नेसँग होसियार हुनुपर्ने बेला आएको छ । व्यवहारबाट सत्य कुरा बुझेर अगाडि बढ्नुपर्छ, लहईलईमा लाग्नु हुँदैन । सत्य ठुलो सानो हुँदैन अखण्ड छ । सत्य एक छ, धर्म एक छ, भगवान् एक छ । सत्य भन्नु धर्म भन्नु एउटंै कुरा हो । यी पर्यावाची शब्द हुन् । आफ्नो मतलब पूरा गर्न केही टाठाबाठा मानिसले मानिसलाई अल्झाएर अर्को सप्रदाय र दल खोलेका छन् । कोही भन्छन्– उपचार गरे काललाई पनि जित्न सकिन्छ ।

विज्ञानको चमत्कारले शरीरमा हर अंग फेर्नसम्म सकिने भइसक्यो । कृतिम अंगहरु बनिसके । मानिसको उमेर घटाउने र बढाउने विज्ञान सक्षम भइसक्यो । जस्तोसुकै भए पनि जन्म मृत्युलाई कसैले रोक्न सक्दैन, यो सत्य कुरा हो । जीव ईश्वरको प्रतिविम्ब हो, सत्य होइन । प्रतिविम्बलाई हटाएपछि विम्ब फेला पर्छ, विम्व हो ईश्वर । सत्यलाई खोज्न टाढा जानु पर्दैन, दुःख गर्नुपर्दैन, खर्च गर्नु पर्दैन, पढ्नु पर्दैन, सत्य आफैभित्र छ ।

सत्य बोल्न परिश्रम गर्नु पर्दैन । जुन काम गर्दा भित्रबाट आनन्द हुन्छ, त्यो सत्य हो । मृत्युदेखि डराउनु हुँदैन । हर व्यक्तिले तीनै रोग साथै लिएर आएको हुन्छ । उपकारको भावना भए स्वर्ग प्राप्ती हुन्छ । स्वार्थको भावनालाई संसार प्राप्ती हुन्छ । राम्रो भावना लिने मानिस देवता बनेर स्वर्गमा बस्छ । संसारको शुभ भोगको लागि मानिस मत्र्य लोकमा बस्छ । षडयन्त्र र अर्कालाई दुःख दिने मानिस दानव बनेर पातालमा बस्छ । अज्ञान नहटाएसम्म लाख उपाय गरे पनि संसारलाई बुझ्न सकिँदैन ।

सत्यलाई अज्ञानले ढाकेको छ । अज्ञान भनेको आवरण हो, ज्ञान भए आवरण हट्छ, अर्थात् माया हट्छ । ज्ञानरुपी ज्योतिको प्रकाशले सत्य स्वरुपको अनुभव हुन्छ । सत्यको व्याख्या गर्न कसैले सक्दैन । यो अनुभव गर्ने वस्तु हो । जिव्रोले पाएको स्वादको अनुभव त वर्णन गर्न सकिँदैन भने ज्ञानको अनुभव कसरी वर्णन गर्न सकिएला ? सत्य भनेको सदासर्वहा एकै भएर रहने वस्तु हो । ज्ञानीको दृष्टिमा यो सृष्टिमा असत्य केही छैन । जो शासत्व छ, सनातन छ, अखण्ड छ । जो सदासर्वदा एक रुपले रहन्छ सर्वत्र व्याप्त छ, त्यो सत्य हो ।

त्यसैको अंश हामी हौँ । त्यस्तो सत्य शिवं सुन्दरं भन्ने आफ्नो स्वरुपलाई बिर्सिएर असत्यलाई समात्ने प्रयास गरेकोले हामीलाई माया जालले छोपिराखेको छ । जीवन एक पाठशाला हो भन्ने कुरा ज्ञानीले बुझेको हुन्छ र ईश्वरले पाठशालामा सिक्ने र सिकाइने वस्तु सत्य हो । व्यक्ति जति हामी असत्यको पछि लाग्छां,ै त्यति असुरक्षित हुन्छौँ । ज्ञानीको लागि सत्य नै सुरक्षा कवज हो । मानिसको मन बडो चञ्चल छ, सत्यमा रहन सक्दैन ।

अनेकौँ बहाना गरेर असत्यतिर लागिहाल्छ । कसरी सुखी हुने ? मानिसले संसारिक सुख भोगबाट नै तृप्ती पाएला भन्दा भन्दै अतृप्त दुःखी भएर, पीडित भएर नै जन्म जन्मान्तर दोहरिरहन्छ । मानिस जन्मदा न केही लिएर आएको हुन्छ, न त केही लिएर जान्छ । अधिकांश मानिस जन्म मृत्युको छोटो समयमा यति भए त पुग्थ्यो भन्दा भन्दै शरीर त्याग गरेर संसारबाट विदा हुन्छन् । सम्पत्ति त विपत्ति हो, सुख होइन, दुःख हो, धन र मनको पछि लाग्नु हुँदैन । परम धन हो सत्य, सत्यको पछि विवेकशील मानिस सत्य पछि लाग्नुपर्छ ।