तुलसीपुरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी, करिब चार सय क्षय रोगका बिरामी

बालाराम खड्का
तुलसीपुर, २३ जेठ । तुलसीपुर उपमहानगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी गरेको छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियना हाम्रो योगदान’ भन्ने नाराका साथ क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी अभियान सफल बनाउनतर्फ लाग्न आग्रह गरेको छ ।

कार्यक्रममा जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले क्षयरोग मुक्त पालिका अभियानअन्तर्गत गाउँगाउँमा सूक्ष्म निगरानीसहित विभिन्न कार्यक्रम सुरु गरेको बताए । उनले यो गौरवको राष्ट्रिय अभियान भएकाले यसलाई सफल पार्ने सबैको दायित्व भएको बताए ।

न्यौपानेले विश्वमा अनुमानित एक करोड सात लाख मानिसहरू क्षयरोगबाट बिरामी परेका र जसमध्ये ५८ लाख पुरुष, ३७ लाख महिला र १२ लाख बालबालिका तथा किशोरकिशोरी रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । क्षयरोगका कारण अनुमानित १२ लाख ३० हजार मानिसको मृत्यु विश्वमा भएको उनले बताए । लुम्बिनी प्रदेश, दाङ जिल्ला र तुलसीपुर उपमहानगरपालिकामा क्षयरोगको भारको अवस्था २०८१÷०८२ अनुसार अनुमानित क्षयरोगी सङ्ख्या लुम्बिनी प्रदेशमा ११ हजार आठ सय ३५, दाङमा एक हजार छ सय छ र तुलसीपुर उपमहानगरपालिकामा चार सय ४९ रहेको छ ।

जसमा कूल नयाँ क्षय रोगका बिरामी तुलसीपुर उपमहानगरपालिकाभित्र तीन सय ९९ रहेको छ भने क्षय रोगका बिरामी मृत्यु दुई दशमलव १८ प्रतिशतको रहेको छ । जसमा क्षयरोग महामारीका मुख्य कारकतत्वहरू कुपोषण, मधुमेह, धुम्रपान, एचआइभि सङ्क्रमण र मध्यपान रहेका छन् ।

‘क्षयरोग मुक्त नेपाल अभियान’ क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याबाट हटाएर सन् २०५० सम्ममा यसको पूर्ण उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यका साथ सञ्चालन गरिएको बताए । दिगो विकास लक्ष्य ९एससडिजी० हासिल गर्न दिगो विकास लक्ष्य र विश्व स्वास्थ्य सङ्गठनको रणनीतिक योजना अनुसार सन् २०३५ सम्ममा क्षयरोगको महामारीको अन्त्य गर्ने, लुकेका बिरामी पत्ता लगाउन अनुमानित क्षयरोग बिरामीमध्ये आधाभन्दा कम मात्र उपचारको दायरामा आएको न्यौपानेले बताए ।

क्षयरोगका कारण नागरिकको उपचारमा हुने आर्थिक क्षति र राज्यको स्वास्थ्य बजेटमा पर्ने भारलाई शून्यमा झार्न र नयाँ सङ्क्रमण रोक्न, केन्द्र सरकारको मात्र भर नपरी स्थानीय तहलाई नै रोग पहिचान, निदान, उपचार र रोकथामको जिम्मा दिएर प्रभावकारी बनाउन क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताएको छ । उनले नियमित रूपमा औषधी सेवन गरेको खण्डमा समयमै निको हुने र अरुलाई पनि नसर्ने भएकाले रोग नलुकाउन रोग लुकाएर होइन समयमै रोगको पहिचान गरेर औषधी उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ जोड दिनु पर्ने बताए । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकृत शिवप्रसाद तिवारीले कार्यक्रमको उद्देश्य, राष्ट्रिय क्षयरोग कार्यक्रमको विकासक्रम, क्षय रोगको परिचय र क्षयरोग सर्ने माध्यम, क्षयरोगका प्रकार र क्षयरोग नियन्त्रण तथा रोकथामका विषयमा जानकारी दिएको थिए ।

यसैगरी तुलसीपुरमा २०८३ जेठ १८ गतेसम्म खकारमा किटाणु देखिएको फोक्सोको क्षयरोगको सङ्ख्या एक सय ८४, खकारमा किटाणु नदेखिएको फोक्सोको क्षयरोग ६६ र फोक्सोको क्षयरोगको सङ्ख्या एक सय पाँच गरी तीन सय ५५ जना रहेको बताए । जसमा नयाँ र पुनः बल्झिएका १५ वर्षमुनिका बच्चा ३४ र १५ वर्ष माथिका तीन सय २१ क्षय रोगका बिरामी तुलसीपुरमा रहेका छन् । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख टीकाराम खड्काले अभियानलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे । क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गरेकाले सरोकारवालाको साथ, सहयोग लिएर पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने नगर प्रमुख खड्काले बताए ।

सो अवसरमा जनस्वाथ्य अधिकृत बिमल केसीले क्षयरोग मुक्त पालिका कार्यक्रमको उद्देश्यको विषयमा जानकारी गराएका थिए । यसैगरी पत्रकारले क्षयरोगका कारण, लक्षण, सर्ने तरिका र उपचार सरल र बुझिने भाषामा समाचार र सामग्री प्रकाशन र प्रशारण गर्ने, भ्रम र अन्धविश्वास हटाउने ९किटाणुले लाग्ने रोग हो र उपचार गरे निको हुन्छ भन्ने बुझाउने, निःशुल्क उपचार र सेवाको प्रचार०, बिरामीले समाजमा भोग्नु पर्ने भेदभाव विरुद्ध लेख्ने र समाजमा स्थापित गराउने र जोखिममा रहेका समूहको पहिचान गरी समाचार प्रशारण प्रकाशन गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा क्षयरोग मुक्त पालिका घोषणाका लागि सरोकारवालाले लक्षणका आधारमा परिवारमा सम्भावित क्षयरोगका बिरामी भए स्वास्थ्य संस्था जानका लागि परामर्श दिने, क्षयरोग निदान भएका बिरामीलाई नियमित औषधी सेवन गरेको सुनिश्चितता गर्ने, स्क्रिनिङबाट पहिचान भएका सम्भावित क्षयरोगका बिरामीलाई नजिकको रोग निदान केन्द्रमा प्रेषण गर्ने, समुदायमा क्षयरोगबारे हुने भेदभाव तथा रोगको उपचारबारे जनचेतना जगाउन सहयोग गर्नुका साथै समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन गर्न तथा जनचेतना अभियानमा सहयोग गर्न आग्रहसमेत गरिएको थियो ।

कार्यक्रममा सेन्टर स्कुलमा प्रधानाध्यापक भागवत पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्मालगायतले अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।