तुफानबाबु श्रेष्ठ
मानव जीवन एउटा निरन्तर बगिरहने नदीजस्तै हो । हामी जन्मेदेखि नै विभिन्न परिस्थिति, चुनौती, सफलता, असफलता, सुख र दुःखकाबिच यात्रा गरिरहेका हुन्छौँ तर जीवनका सबै घटनाहरू हाम्रो नियन्त्रणमा हुँदैनन् । धेरै पटक मानिस आफ्नो इच्छा अनुसार संसारलाई चलाउन खोज्छ, परिस्थितिलाई रोक्न खोज्छ र नियतिलाई चुनौती दिन खोज्छ । जब चाहनाअनुसार कुरा हुँदैन, तब तनाव, निराशा र पीडाले मन भरिन्छ । अर्कोतर्फ, केही मानिसहरू जीवनका उतारचढावलाई सहज रूपमा स्वीकार गर्दै अगाडि बढ्छन् । उनीहरू संघर्षबाट भाग्दैनन्, तर अनावश्यक प्रतिरोध पनि गर्दैनन् । यही जीवनदर्शनलाई अत्यन्त सरल तर गहिरो रूपमा बुझाउने एउटा प्रेरणादायी कथा हो– ‘दुई पात र जीवनको सत्य ।’
धेरै वर्षअघि गंगा नदीको किनारमा एउटा विशाल, बुढो पीपलको रुख उभिएको थियो । वर्षौँदेखि उसले गंगाको प्रवाह, वर्षा र ऋतुको परिवर्तन देख्दै आएको थियो । एकदिन हावाको हल्का तर तीव्र झोक्काले रुख हल्लियो र उसका दुई पात छुट्टिएर गंगाको छालमा खसे । एउटा सिधा प¥यो, अर्को आडो । यहीँबाट सुरु भयो दुई पातहरूको कथा– संघर्ष र समर्पणको, अहं र प्रेमको, पीडा र शान्तिको कथा ।
आडो परेको पातले नदी छोएसँगै गर्व र प्रतिरोधको स्वर निकाल्यो– ‘आज म यो नदीलाई यहीँ रोक्छु । चाहे मेरो प्राण नै किन न जाओस्, म गंगालाई अघि बढ्न दिने छैन !’ ऊ आफ्नो अस्तित्व प्रमाणित गर्न चाहन्थ्यो, आफ्नो शक्ति देखाउन चाहन्थ्यो । नदीको वेगसँग उसले जुध्ने कोसिस ग¥यो, पानीको प्रवाह रोक्ने प्रयत्न ग¥यो तर गंगा कहाँ सुन्थि र ?
ऊ आफ्नै लय, आफ्नै तालमा सागरको दिशामा बगिरहेकी थिई । गंगालाई थाहा पनि थिएन कि कुनै सानो पात उसको बाटो रोक्ने संघर्षमा तड्पिरहेको छ । आडो पात हरेक छालसँग लड्दा–लड्दै थाक्यो, तर हार मान्न सकेन । उसको जीवनको हरेक क्षण पीडा, संताप र निराशाले भरियो । अन्ततः ऊ पनि संघर्षको थकाइ र हृदयभरिको असन्तोषका साथ बग्दै गयो ।
उता, सिधा परेको पातले भने शान्त स्वरमा मुस्कुराउँदै गंगासँगै बग्न सुरु ग¥यो । उसले भन्यो– ‘जाउ गंगा, म तिमीलाई तिम्रो गन्तव्यसम्म पु¥याउँछु । म तिम्रो बाटोमा कुनै अवरोध आउन दिनेछैन ।’ ऊ गंगाको प्रवाहसँग खेल्दै रमायो, लहरसँगै उफ्रियो, छालसँगै हाँस्यो । उसलाई पनि थाहा थिएन कि गंगा त उसको सहयोग बिना पनि बगिरहेकी छ, तर ऊ त्यस भ्रममा आनन्दित थियो । उसको हृदयमा कुनै चिन्ता थिएन, कुनै भय थिएन, केवल प्रवाहसँगको एकत्वको अनुभव मात्र थियो ।
यी दुई पातहरूले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछन्– जीवन पनि गंगाजस्तै निरन्तर बगिरहेको छ । न हामीले त्यसको दिशा रोक्न सक्छौँ, न हामीले त्यसलाई आफ्नै शक्ति ठानी अघि बढाउन सक्छौँ । हामीसँग मात्र एउटा सानो स्वतन्त्रता छ– संघर्ष गर्ने कि समर्पण गर्ने ? लड्ने हो भने जीवन थकाइ र चिन्ताले भरिन्छ, किनभने ब्रह्मको प्रवाह रोक्न सकिँदैन तर यदि हामी समर्पण गर्न सक्छौँ भने त्यो प्रवाहसँगै बग्दै, आनन्द र शान्तिको रसास्वादन गर्न सकिन्छ ।
जीवनका हरेक क्षणमा हामी यी दुई पातहरूमध्ये एकजना बन्ने निर्णय गरिरहेका हुन्छौँ । कहिले काहीँ अहंकारले हामीलाई आडो पात बनाउँछ, जो संसारसँग लड्छ, परिस्थिति रोक्न खोज्छ र अन्ततः पीडित हुन्छ । अनि कहिले काहीँ विश्वास, प्रेम र स्वीकृतिले हामीलाई सिधा पात बनाउँछ, जो परिस्थितिसँग बग्छ, समर्पण गर्छ र आनन्द पाउँछ ।
जीवन गंगाजस्तै अविरल बगिरहेको छ । हाम्रो नियन्त्रण केवल यति मात्रै हो कि हामी त्यस प्रवाहसँग लड्ने कि त्यससँगै बग्ने । लडाइँले थकाइ दिन्छ, समर्पणले शान्ति दिन्छ । त्यसैले जीवनलाई नियन्त्रण गर्ने होइन, स्वीकार गर्ने प्रयास गरौँ । जब हामी प्रवाहसँगै बग्न सिक्छौँ, तब जीवन पीडाबाट मुक्त भएर सुन्दर यात्रामा रूपान्तरण हुन्छ । प्रश्न यहीँ छ– हामी कुन पात बन्न चाहन्छौँ ः संघर्षको आडो पात वा समर्पणको सिधा पात ?