गोरक्ष समाचारदाता
काठमाडौं, २२ जेठ । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा विहीवार भएको अवार्ड वितरण समारोहमा पत्रकार पौडेल सम्मानित भएका हुन ।
समारोहमा चलचित्र चयन समितिको निर्णायक मण्डल सदस्यसँगै लेखनीका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याउने पत्रकार नुमाकान्त पौडेललाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मान पत्र प्रदान गरेका थिए । पत्रकार पौडेलसँगै कार्यक्रममा चलचित्र निर्देशक अमर ओलीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा चलचित्रकर्मी रजत सम्मानबाट निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भएका थिए भने रेखा फिल्म–छायाँछवि चलचित्र पुरस्कारबाट सचित खड्का पुरस्कृत भएका थिए । अवार्डअन्तर्गत उत्कृष्ट चलचित्रको उपाधि ‘अञ्जीला’ले प्राप्त गरेको छ । उत्कृष्ट निर्देशकमा मिलन चाम्स, उत्कृष्ट अभिनेतामा विजय बराल तथा उत्कृष्ट अभिनेत्रीमा स्वास्तिमा खड्का, सहअभिनेतामा जीतु नेपाल, सहअभिनेत्रीमा ऋचा घिमिरे, चरित्र अभिनेतामा राजबल्लभ कोइराला तथा उत्कृष्ट नवनिर्देशकमा चन्द्र पन्त पुरस्कृत भएका छन् ।
लेखनतर्फ लक्ष्मण सुवेदी, छायाङ्कनतर्फ पुरुषोत्तम प्रधान, सम्पादनतर्फ बन्देप्रसाद, सङ्गीततर्फ अर्जुन पोख्रेल, गायन÷गायिकातर्फ सविन सुवेदी र बेनिशा पौडेल, गीतकारतर्फ सुरेन्द्र राना, द्वन्द्व निर्देशनतर्फ अष्ट महर्जन तथा नृत्य निर्देशनतर्फ रामजी लामिछाने सम्मानित भएका छन भने जुरी अवार्डबाट कृषा चौलागाईं तथा डायस्पोरा अवार्डबाट शंकर घिमिरे सम्मानित भएका थिए । समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगको विकासमा यस्ता अवार्डले सकारात्मक योगदान पु¥याउने बताएका थिए ।
आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले डी सिने अवार्डको १७ वर्षे यात्राका उपलब्धि र चुनौतीबारे प्रकाश पारेका थिए । समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारी, कलाकार, चलचित्रकर्मी तथा चलचित्र पत्रकारको सहभागीता रहेको थियो ।